बुधबार १० बजेसम्मका प्रमुख १० समाचार

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

पाँच वर्ष कैद सजाय तोकिएका मनाङे कसरी चार वर्षमै छुटे ?

ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्षे कैद सजाय तोकिएका गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) कैद भुक्तान गरेर छुटेका छन्। उनी बुधबार डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। 

पाँच वर्ष कैद सजाय भए पनि एक वर्ष सजाय छुट पाएर मनाङे जेलमुक्त भएका हुन्। फैसला भएको ६० दिनभित्रै फैसला कार्यान्वयन भएको भन्दै जिल्ला अदालत, काठमाडौंले उनलाई २० प्रतिशत कैद छुट दिएकाले उनी छिट्टै जेलमुक्त भएका हुन्। 

गत वर्ष कात्तिकमा पक्राउ परेपछि मनाङले सो सुविधा पाउन माग गर्दै जिल्ला अदालत, काठमाडौंमा निवेदन दिएका थिए। न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सुविधा दिने फैसला गरेको थियो। सोही आधारमा उनको एक वर्ष कैद छुट भएको हो। फैसला कार्यान्वयनलाई सघाउनेलाई प्रोत्साहन गर्न यस्तो कानुनी व्यवस्था गरिएको छ। यद्यपि, सर्वाेच्चको फैसलापछि भूमिगत भएको अवस्थामा उनलाई सिआइबीको टोलीले पक्राउ गरेको थियो। 

 गत २० कात्तिकमा सर्वाेच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय हुने उच्च अदालतको फैसला सदर गरेको थियो। फैसलालगत्तै फरार भएका उनलाई गत २७ कात्तिकमा  केन्द्रीय अनुसन्धान ब्युरोले स्वयम्भूबाट पक्राउ गरेको थियो ।  सो मुद्दामा पटक–पटक गरी उनी पछिल्लो पटक पक्राउ पर्नुभन्दा अघि दुई वर्ष आठ महिना कैद बसिसकेकाले पक्राउ परेको १६ महिनामा जेलमुक्त भएका हुन्।

२८९० उम्मेदवारको जमानत जफत 

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ दुई हजार ८९० उम्मेदवारको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत मत नपाउने उम्मेदवारहरूको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जमानत जफत भएकामध्ये ३५० उम्मेदवारको मत शून्य दखिएको छ। जमानत जफत भएकामध्ये  ३५० उम्मेदवारले कुनै पनि मत पाएनन्।

‘जमानत राखिएका उम्मेदवारहरूमध्ये जसले सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुहुन्छ उहाँहरूको जमानत फिर्ता हुन्छ। तर, सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको जमानत जफत हुन्छ,’ उनले भने।

राष्ट्रिय दलको मान्यता पाउने दलमध्ये एक मात्र नयाँ

गत २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको मतगणना सम्पन्न भएको छ । बुधबार देशैभरिबाट सम्पन्न मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेपाली कम्युनिस्ट पार्टी चौथो, श्रम संस्कृति पार्टी पाँचाैँ र राष्ट्रिय प्रजातन्त्र पार्टीले छैटौँ स्थान हाँसिल गरेका छन् । 

यसपटकको निर्वाचनमा श्रम संस्कृति पार्टीबाहेक राष्ट्रिय दलको मान्यता पाउने पाँचवटा पुराना पार्टी हुन् । राष्ट्रिय दलको मान्यता पाउन तीन प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने प्रावधानअनुसार अन्य कुनै पनि नयाँ पार्टीले नकटाएका कारण श्रम संस्कृति पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएको हो । 

समानुपातिकतर्फको मतगणना सकियो

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। बुधबार सम्पन्न मतगणनाअनुसार ११ बजेसम्मको समानुपातिक निर्वाचनतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । गणना भएकोमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार २३५ मत ल्याएको छ ।

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी मुद्दा पूर्ण सुनुवाइमा लैजाने आदेश  

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी मुद्दा पूर्ण सुनुवाईमा लैजान आदेश भएको छ। सर्वाेच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले प्रारम्भिक सुनुवाइपछि पेशी स्थगित नगर्ने गरी १ चैतदेखि पूर्ण सुनुवाईमा लैजान भनेको हो। 

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग संशोधन गर्ने निर्णय दुई महिनाअघि महान्यायाधिवक्ता कार्यालयले गरेको थियो। जसअनुसार विभिन्न जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले अभियोग संशोधनका लागि अदालतमा निवेदन दिइसकेको छ। तर, सर्वाेच्चबाट सुनुवाइ नहुँदा रोकिँदै आएको छ। 

अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयउपर अधिवक्ताहरूले दिएको रिटमा अब अर्काे साता फैसला हुने सम्भावना छ । पेशी स्थगित नहुने गरी चैत १ देखि पूर्ण सुनुवाईका लागि पेशी तोक्न आदेश दिइएको छ।  

फेक रेस्क्यु प्रकरण : पानोराम हिमालय ट्रेकका अध्यक्ष पासाङ शेर्पा पक्राउ

नेपाल घुम्न आउने पर्यटकको उद्धारका नाममा भएको बिमा ठगीमा थप एक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पानोराम माउन्टेन ट्रेकका सञ्चालक पासाङ शेर्पालाई मंगलबार पक्राउ गरेको छ। 

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका घर भएका उनको कम्पनीको पनि मिलेमतो देखिएपछि पक्राउ गरिएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए। 

कास्कीमा मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसँग १० लाख धरौटी माग

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको मुद्दामा कास्की मालपोतका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीसँग वपशेष अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको छ । उनी समेतको मिलेमतोमा ३ रोपनी ३ आना जग्गा गैरसुकुम्बासी भीमबहादुर विकको नाममा दर्ता गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। एक करोड ४० लाख २५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको थियो। 

अपुष्ट सूचनाको पछि नलाग्न र संवेदनशील स्थानको फोटो-भिडियो नखिच्न साउदीमा रहेका नेपालीलाई आग्रह

रियादस्थित नेपाली राजदूतावासले साउदी अरेबियामा रहेका नेपालीहरूलाई त्यहाँको आधिकारिक निकायबाट जारी हुने सूचनाबमोजिम सजग रहन आग्रह गर्दै हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

दूतावासले बुधबार एक सूचना जारी गर्दै पुष्टि नभएका फोटो, भिडियो तथा सूचनालगायत कुनै प्रकारका सामग्री सामाजिक संजालमा पोस्ट तथा सेयर नगर्न आग्रह गरेको छ।

पश्चिम एसिया द्वन्द्व : युएईमा हालसम्म १५ नेपाली घाइते

पश्चिम एसियामा जारी द्वन्द्वमा इरानको आक्रमणमा परेर संयुक्त अरब इमिरेट्स (युएई)मा १५ नेपाली घाइते भएका छन्।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्र मन्त्रालयले सो जानकारी दिएको हो। मन्त्रालयका अनुसार युएईमा १५ नेपाली घाइते हुँदा एकजनाले ज्यान गुमाएका छन्।

घाइतेमध्ये १४ जना उपचारपछि आफ्नो गन्तव्यमा पुगिसकेको जनाउँदै मन्त्रालयले उपचाररत एक घाइतेको पनि अवस्था सामान्य रहेको बताएको छ।

पाथीभरा सडक निर्माण सुस्त, चार वर्षमा ४० प्रतिशत मात्रै काम

पूर्वी नेपालको प्रसिद्ध धार्मिक गन्तव्य पाथीभरा जाने मुख्य सडक निर्माणमा ढिलासुस्ती देखिएको छ। चार वर्षअघि सुरु गरिएको सुकेटार–काफ्लेपाटी सडक कालोपत्रे योजना अझै पूरा भएको छैन। हालसम्म करिब ४० प्रतिशत मात्रै काम सम्पन्न हुँदा बर्सेनि लाखौँ तीर्थयात्री आवतजावत गर्ने मुख्य मार्ग हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे छ।

पाथीभरा सडकअन्तर्गत सुकेटारदेखि काफ्लेपाटीसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्ने कामको ठेक्का चार वर्षअघि नै लागेको हो। सडक निर्माणको गति अत्यन्त सुस्त हुँदा अहिलेसम्म करिब ४० प्रतिशत मात्र काम सकिएको छ। 

सुझावित समाचार