नेपाल घुम्न आउने पर्यटकको उद्धारका नाममा भएको बिमा ठगीमा थप एक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पानोराम माउन्टेन ट्रेकका सञ्चालक पासाङ शेर्पालाई मंगलबार पक्राउ गरेको छ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका घर भएका उनको कम्पनीको पनि मिलेमतो देखिएपछि पक्राउ गरिएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए।
यस प्रकरणमा सिआइबीले यसअघि माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलिया, श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना, विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडे एडभेन्चरका सञ्चालक सन्दीप तिवारीलाई पक्राउ गरिसकेको छ। उनीहरुमाथि ठगीका साथै राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।