भारतीय सीमावर्ती गाउँको पोखरीमा महिलाको शव फेला

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– ५, औरही गाउँको दक्षिणतर्फ नेपाल–भारत सीमानजिकै रहेको पोखरीमा महिलाको शव फेला परेको छ।

औरहीस्थित पूर्व-पश्चिम हुलाकी सडकदेखि करिब पाँच सय मिटर दक्षिण पर्ने पोखरीमा बुधबार अपराह्न करिब ४ बजेतिर महिलाको शव पोखरीमा घोप्टो परेर तैरिरहेको देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।

खबरलगत्तै घटनास्थल पुगेर मुचुल्का उठाउनेलगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। महिलाको पहिचान नखुलेकाले शव सनाखतका लागि मातहतका प्रहरी युनिटहरूमा हुलियासहित पठाइएको उनले बताए। 

रातो समिज, सुरुवाल र मनाक कानमा सुनको गहनासमेत लगाएकी महिलाको नाकमा हल्का रगतसमेत देखिएकाले अन्यत्र हत्या गरी पोखरीमा ल्याएर फालिएको हुन सक्ने आशंका गरिएको छ। माछापालन गरिएको पोखरीमा मान्छे नै डुब्ने गरी पानी पनि नरहेको एक स्थानीयले बताए। उनका अनुसार पोखरीको उत्तरपट्टि डिलमा एक जोर चप्पल र एउटा खाली बोरासमेत भेटिएको छ। 

स्थानीयले अन्यत्र हत्या गरी बोरामा हालेर पोखरीमा ल्याई फालेको हुन सक्ने आशंका गरे पनि प्रहरीले भने शवको पोस्टमार्टमसहित घटनाको अनुसन्धानपछि मात्र यकिन गरी बताउन सकिने जनाएको छ।

सुझावित समाचार