बुधबार पदभार ग्रहण गर्न लागेका चिलीका नवनिर्वाचित राष्ट्रपतिलाई पिनोचेको तानाशाही शासनपछि सबैभन्दा रुढिवादी राष्ट्रपति भनिँदै छ । ६० वर्षीय जोसे एन्टोनियो कास्टका पिता कुनै समय नाजी पार्टीका सदस्य थिए । उनले तीन दशक लामो आफ्नो राजनीतिक करिअरमा प्राय: महिला अधिकार र समता पक्षधर प्रगतिशील आवाजविरुद्ध मत राख्दै आएका छन् । सांसद सदस्यको रूपमा कास्टले सन् २००४ मा सम्बन्धविच्छेदलाई कानुनी वैधानिकता दिने कानुनविरुद्ध मतदान गरेका थिए । जबकि, त्यतिवेला त्यस्तो कानुन ल्याउन चिली विश्वको अन्तिम देशमध्ये एक थियो ।
त्यस्तै, सन् २०१७ मा सर्तसहित गर्भपतनलाई वैधानिकता दिने कानुनको पनि उनले कडा विरोध गरेका थिए । उसो त इसाईको क्याथोलिक धर्मले गर्भपतन र सम्बन्धविच्छेदको विरोध गर्छ र चिली एक क्याथोलिक बहुल देश हो । क्याथोलिक राष्ट्रवाद राजनीति गर्ने बताउने कास्ट गर्भपतनमाथि फेरि पूर्ण प्रतिबन्ध लगाउनुपर्ने र गर्भनिरोधक चक्की प्रयोग गर्न पनि अभिभावकको सहमति आवश्यक पर्नेमा जोड दिने गर्छन् । यो सबले चिलीमा महिला अधिकारकर्मीलाई चिन्तित बनाएको छ ।
चिलीले सन् १९३० को दशकदेखि नै गर्भपतनलाई अनुमति दिएको थियो । तर, जनरल अगस्टो पिनोचेले सन् १९८९ मा आफ्नो अन्तिम आदेशमार्फत गर्भपतनमा पूर्ण प्रतिबन्ध लगाए । पिनोचेका उग्र समर्थक कास्टले समाज र पितृसत्तात्मक पारिवारिक व्यवस्थाअन्तर्गतका पुरातन मूल्यलाई समर्थन गर्छन् । तर, सन् २०१० को दशकदेखि ल्याटिन अमेरिकाभरि उठेको नारीवादी र समलिंगी अधिकार आन्दोलनले भने यी प्रतिगामी विचारलाई बलियो धक्का दिँदै आएका छन् । यसै लहरको बलमा अर्जेन्टिना, कोलम्बिया र मेक्सिकोका केही राज्यमा नि:शुल्क गर्भपतन अधिकार सफलतापूर्वक कार्यान्वयनमा आएको छ ।
कास्टले महिला तथा लैंगिक समानता मन्त्रीको रूपमा ३० वर्षीया धर्मप्रचारक जुडिथ मारिनलाई नियुक्ति गरेका छन्, जो कास्टका कट्टर अडानकी समर्थक हुन् । गर्भपतनविरोधी अभियन्ता मारिनले सन् २०१७ मा गर्भपतनलाई अपराधमुक्त गर्ने विषयमा सिनेटमा भएको छलफलमा अवरोध पुर्याउँदा प्रहरीले जबर्जस्ती निकालेको थियो । ‘कुनै समय यो विचार राख्नेलाई किनाराकृत समूह भनिन्थ्यो । अहिले त्यही विचार राख्ने सत्तामा पुगेका छन्,’ चिली विश्वविद्यालयमा जनस्वास्थ्य विषयकी सहायक प्राध्यापक एन्ड्रिया अल्भारेज क्यारिमोनीले भनिन् । कास्ट रिपब्लिकन पार्टीका संस्थापक सदस्य हुन्, जसका सदस्यले वर्तमान गर्भपतन कानुन खारेज गर्ने योजना घोषणा गरेका थिए । जबकि, सन् २०२३ लागू भएको वर्तमान गर्भपतन कानुन आफैँमा त्यति उदार होइन । यसले आमाको जीवन खतरामा परेको खण्डमा वा गर्भ खतरामा भए वा बलात्कार घटनामा मात्र गर्भपतनलाई मान्यता दिन्छ ।
कास्टले आफ्नो राष्ट्रपतिको चुनावी अभियान मुख्यत: आप्रवासन र सुरक्षाका मुद्दामा केन्द्रित गरेका थिए । तथापि, उनले गर्भपतन सम्बन्धमा आफ्नो अडान परिवर्तन नभएको बताएका छन् । ‘तिनले गर्भपतनको पहुँचलाई धेरै जटिल बनाउन सक्छन्,’ एन्ड्रिया अल्भारेजको ठम्याइ छ । वर्तमान गर्भपतन कानुन पूरै खारेज गर्न नसके पनि सरकारले त्यस कानुनमा उल्लेख तीन कानुनी अपवाद परिमार्जन गरी पहुँच रोक्न सक्ने उनले बताइन् । सन् २०१७ मा तीन अपवाद खण्ड लागू भएदेखि लगभग सात हजार कानुनी गर्भपतन भएको सरकारी तथ्यांकले देखाउँछ । तर, अध्ययनले भने चिलीमा प्रत्येक वर्ष एक लाखभन्दा बढी गर्भपतन हुने प्रक्षेपण गर्छ ।
खासमा नारीवादी आन्दोलनकै क्रममा लाखौँ महिलालाई सडकमा ल्याएपछि पिनोचेकालीन संविधान पुनर्लेखन गर्ने सन् २०२२ को प्रयासमा बल पुगेको थियो । संविधानको नयाँ मस्यौदाले सार्वजनिक संस्थामा महिलाका लागि समान सहभागिता कोटासँगै गर्भपतनलाई संवैधानिक अधिकारको रूपमा समावेश गरेको थियो । तर, ती प्रावधान अनावश्यक रूपमा जटिल र दूरगामी भएको भन्दै आलोचना गरियो । जनताले यसको विरुद्धमा जोडदार रूपमा मतदान गरे । संविधान पुनर्लेखनको दोस्रो प्रयासमा सन् २०२३ मा कास्टको रिपब्लिकन पार्टीले नेतृत्व गरेको थियो, जुन स्पष्ट पक्षपातपूर्ण पूर्वाग्रहको कारणले असफल भयो ।
आफूलाई ‘नारीवादी’ भनेर चिनाउने निवर्तमान गेब्रियल बोरिकको सरकारको कार्यसम्पादनले पनि कार्यकर्तामा विभाजन निम्त्याउन सघायो । केहीले सन् २०२५ मा मात्र कंग्रेसमा प्रवेश गरेको नि:शुल्क गर्भपतन विधेयकको प्रस्तुतिमा ढिलाइ गरेकोमा सरकारको आलोचना गरेका छन् । ‘राष्ट्रपति बोरिकले चुनावमा प्रजनन अधिकार र यससम्बन्धी निर्णय गर्ने नारी स्वायत्तताको कुरा पनि उठाएका थिए । तर, त्यससम्बन्धी विधेयक भने कार्यालको अन्तिमतिर धेरै ढिलो गरी मात्र संसदमा ल्याइयो । यसले बहसलाई पर्याप्त अगाडि बढाउन सयम नै भएन,’ चिलीको सबैभन्दा ठुलो नारीवादी संगठनमध्ये एक ‘कोर्डिनेडोरा फेमिनिस्टा ८एम’की प्रवक्ता भेस्ना मदारियागाले भनिन् ।
निवर्तमान महिला तथा लैंगिकमन्त्री एन्टोनिया ओरेलानाले आफ्नो सरकारको कार्यको बचाउ गर्दै यसको प्राथमिकता तीन अपवाद नियमअन्तर्गत गर्भपतन आवश्यक पर्नेहरूको अवस्था सुधार गर्नुमा केन्द्रित रहेको बताइन् । यसमा स्वास्थ्यकर्मीले पालना गर्नुपर्ने नियम र गर्भपतन अधिकार उल्लंघन गर्ने कुनै पनि चिकित्साकर्मी वा संस्थालाई जरिवाना गर्ने व्यवस्था गरिएको उनले बताइन् । आफूहरूसँग १४ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यापक गर्भपतनसम्बन्धी विधेयक पास गर्न आवश्यक बहुमतको अभाव रहेको बताउँदै आरेलानाले भनिन्, ‘संसद्मा अल्पसंख्यक भएपछि कसरी अगाडि बढ्न सकिन्छ र ?’
हालैका निराशाकाबिच आइतबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा भएको र्यालीमा देशभर अनुमानित पाँच लाख महिला सडकमा उत्रिए । यसले चिलीमा अझै नारीवादी आन्दोलनको शक्ति रहेको देखायो । र्याली आयोजनामा गर्भपतन समर्थक सञ्जाल ‘कोन लास अभिगास वाई एन ला कासा’को उल्लेख्य भूमिका रह्यो । देशभर सञ्जाल रहेको यस समूहले अवाञ्छित गर्भधारणको सामना गर्नेका लागि औषधिको सुरक्षित प्रयोगबारे जानकारी दिन्छ । गर्भपतनविरोधी अभियानकर्ताले बारम्बार सामाजिक सञ्जालको पहुँच रोके पनि इन्स्टाग्राममा समूहका लगभग एक लाख ७० हजार फलोअर्स छन् । ‘अवरोधबिच पनि महिलाहरूले अहिले पनि गर्भपतन गरिरहेका छन् । भोलि पनि गर्नेछन् । कुनै पनि दक्षिणपन्थी सरकारले त्यसलाई रोक्न सक्नेछैन,’ नाम नबताउने सर्तमा एक सदस्यले भनिन्, ‘कास्ट धेरै खतरनाक छन् । तर, हामीलाई थाहा छ कि चिलीका महिला झन् बलिया र व्यवस्थित छन् । हामीलाई अगाडि बढ्न कसैले रोक्नेछैन ।’
द गार्जियनबाट