शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

नेकपाका संयोजक प्रचण्ड सात हजार मतान्तरसहित रुकुम पूर्वबाट निर्वाचित

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रुकुम पूर्वबाट उनी १० हजार २४० मतसहित निर्वाचित भएका हुन् । उनी करिब सात हजार मतान्तरसहित विजयी भएका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले तीन हजार ४६२ मत पाए भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले तीन हजार ८१ मत पाइन् । रास्वपाका लखनकुमार थापाले यहाँ ८१९ मत पाए। 

झापा ५ मा बालेनको ११ हजार मतान्तर

झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो परिणामअनुसार उनले उनले १५ हजार १६९ मत ल्याउँदा केपी शर्मा ओलीको तीन हजार ३४४ छ।  उनीहरूबिचको मतान्तर ११ हजार ८२५ छ। यहाँ अन्य उम्मेदवारको मत न्यून छ। 

रास्वपाका रवि लामिछानेले बनाए १६ हजारभन्दा बढीको अग्रता

चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा उल्लेख्य अग्रता बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार उनी प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारभन्दा १६ हजार ८०६ मतान्तरले अगाडि छन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार हालसम्मको मतगणनामा लामिछानेले २३ हजार ४५९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले ६ हजार ६५३ मत पाएकी छन् । त्यसैगरी एमालेका अस्मिन घिमिरेले पाँच हजार ६९ मत प्राप्त गर्दा नेकपाका प्रताप गुरुङले दुई हजार ९३३ मत पाएका छन् ।

चितवन २ मा मतगणना अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

कुलमानलाई सात हजार मतले पछि पार्दै काठमाडौं ३ मा रास्वपाका राजु पाण्डे विजयी

काठमाडौंको क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार राजु पाण्डे विजयी भएका छन्। उनले कुल सदर मत ४१ हजार ९१९ मध्ये १८ हजार ७५७ मत प्राप्त गरे।

उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे। 

समानुपातिकतर्फ पनि रास्वपाको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा अभूतपूर्व सफलता पाइरहेको रास्वपाले प्रत्यक्षका साथै समानुपातिकतर्फ पनि ठुलो मतान्तरसहित अग्रता कायम गरेको छ। समानुपातिकतर्फ २८ हजार ३४० मत गणना हुँदा रास्वपाले त्यसको करिब ६० प्रतिशत अर्थात् १७ हजार ७२६ मत पाएको छ। 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले चार हजार ९८७ तथा तेस्रो स्थानमा रहेको एमालेले दुई हजार ५३६ मत पाएको छ । नेपाली कम्युनिस्ट पार्टीले एक हजार ८०२ मत पाएको निर्वाचन आयोगले जनाएको छ। 
प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा आयोगले समानुपातिकतर्फको मतगणना थालेको हो। 

चीनले भन्यो– नेपालसँग रणनीतिक सहकार्यमा आधारित साझेदारी अघि बढाउन तयार छौँ

छिमेकी चीनले नेपालसँग रणनीतिक सहकार्यमा आधारित साझेदारी अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

निर्वाचनपछि मतगणना जारी रहँदा शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मतदान सम्पन्न भएकोमा नेपाललाई बधाईसमेत दिएकी छन् । बिहीबार मतदान सकिएलगत्तै नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले पनि चीनका तर्फबाट नेपाललाई बधाई दिएका थिए ।

डाँफे टिभीका पत्रकारद्वारा सोधिएको प्रश्नमा प्रवक्ता निङले नेपालसँगको सम्बन्धलाई चीनले महत्त्व दिएकोसमेत स्पष्ट पारेकी छिन् । ‘नेपालले प्रतिनिधिसभा निर्वाचनको मतदान स्थिर रूपमा र तोकिएको समयअनुसार सम्पन्न गरेकोमा चीन नेपाललाई बधाई दिन्छ,’ उनले भनिन्, ‘नेपालले आफ्नो राजनीतिक कार्यसूची अघि बढाएको देखेर हामी खुसी छौँ ।’

परम्परागत रूपमा मैत्रीपूर्ण छिमेकीका रूपमा चीन नेपालसँगको सम्बन्धलाई महत्त्व दिन्छ । स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रयासमा दुवै देशले एक–अर्कालाई समर्थन गरेका छन् । विकास र समृद्धिका लागि सदाबहार मित्रता विशेषतासहितको रणनीतिक सहकार्यमा आधारित साझेदारीलाई निरन्तर अघि बढाउन चीन नेपालसँग काम गर्न तयार छ।’ 

मनाङबाट कांग्रेसका गुरुङ तेस्रो कार्यकालका लागि निर्वाचित

हिमालपारिको जिल्ला मनाङबाट नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ विजयी भएका छन् । 

निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा गुरुङ सुवेदीलाई एक हजार ९६१ मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । उनले दुई हजार ४१५ मत ल्याउँदा सुवेदीले ४५४ मत मात्र पाइन्। अर्का उम्मेदवार मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घलेले जम्मा नौ मत मात्र पाए । यहाँ एमाले र रास्वपाका उम्मेदवार थिएनन्।  जिल्लामा सात हजार मतदाता रहेकोमा ४२.८६ प्रतिशत मत खसेको थियो ।

जितसँगै तेस्रोपटक संसदीय यात्रा तय गरेका गुरुङ यसअघि ०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएकोमा ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङसँग २८९ मतान्तरले पराजित भएका थिए । ०७९ को निर्वाचनमा उनी दुई हजार ५७५ मत ल्याएर विजयी भएका थिए ।

कैलालीका पाँचवटै क्षेत्रमा रास्वपाको अग्रता

कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ। कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्दले सुरुदेखि नै फराकिलो मतान्तरसहित अग्रता लिएका छन्। 

यो क्षेत्रमा अहिलेसम्म गणना भएर सदर १८ हजार ५२१ मतमध्ये चन्दले नौ हजार ४५७ मत पाएका छन्। नेपाली कांग्रेसका नरनारायण शाह  तीन हजार ५६८ मतसहित दोस्रो स्थानमा छन्। 

मुस्ताङबाट कांग्रेसका योगेश गौचनले दोस्रोपटक बाजी मारे

प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदानअन्तर्गत नेपाली कांग्रेसले हिमालपारिको जिल्ला मुस्ताङबाट खाता खोलेको छ। एक क्षेत्र रहेको मुस्ताङबाट कांग्रेसका ३२ वर्षीय योगेश गौचन थकालीले अन्य सातजना प्रतिस्पर्धीलाई पछि पार्दै जित निकालेका हुन्।

विजयी गौचनले तीन हजार ३०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधाराडादु विष्टले एक हजार ८०६ मत ल्याएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्रबहादुर ज्ञवालीले जानकारी दिए।

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता

जुम्लामा तीन हजार ९६२ मत गणना हुँदा राप्रपाले फराकिलो अग्रता कायम गरेको छ। कनकासुन्दरी गाउँपालिकाको १ देखि ७ वडाको मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाही दुई हजार १०२ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।

सुझावित समाचार