यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका सन्दर्भमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)बिच छलफल भएको छ। दुवै सुरक्षा बलको बाहिनीस्तरमा भारतको उत्तराखण्डस्थित चम्पावतमा भएको बैठकमा निर्वाचनलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने सहमति भएको बैठकमा सहभागी नेपाली अधिकारीहरूले बताएका छन्।
कैलालीको अत्तरियास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले निर्वाचनका वेला हुन सक्ने निर्वाचनविरोधी तत्त्वहरूको घुसपैठ रोक्ने तथा चोरी निकासी नियन्त्रण गर्ने विषयमा भारतीय सीमा सुरक्षा अधिकारीसँग छलफल गरिएको बताए।
‘सीमा क्षेत्रमा निर्वाचनविरोधी तत्त्वको घुसपैठ हुन सक्छ। आपसी समन्वयमा त्यसलाई नियन्त्रण गर्ने, चोरी निकासी, लागुऔषध ओसारपसार नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो,’ उनले भने, ‘सीमा क्षेत्रमा निगरानी बढाउने, आपसी समन्वय प्रभावकारी बनाउने कुरा भएको छ।’
निर्वाचनका वेला ७२ घण्टा भारतसँगका सीमानाका बन्द गर्ने निर्णय सरकारले गरेको छ। उक्त समयमा नाका बन्दलाई प्रभावकारी बनाउने पनि सहमति भएको बैठकमा सहभागी सशस्त्रका अधिकारीहरूले बताएका छन्।
सीमा क्षेत्रमा हुन सक्ने गैरकानुनी गतिविधिको सूक्ष्म निगरानी गरी सूचना आदानप्रदान गर्ने तथा त्यस्ता गतिविधि पूर्ण नियन्त्रण गर्ने र विपत् व्यवस्थापनका सन्दर्भमा समन्वय गरी विभिन्न प्रकृतिका विपत् नमुना अभ्यास गर्नेबारे पनि छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ।
निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीलाई सम्बोधन गर्न संयुक्त र समानान्तर सीमा गस्तीलाई सशक्त बनाउने तथा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पार्नेबारे पनि छलफल भएको निमित्त बाहिनीपति सुवेदीले जानकारी दिए। सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तेस्रो देशका नागरिकको अनधिकृत प्रवेश, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगदको तस्करी नियन्त्रणका लागि निरन्तर घनिष्ठ सहकार्य गर्नका लागि आ–आफ्ना मातहतका युनिटहरूलाई निर्देशन दिने सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ।
सुदूरपश्चिममा भारतसँग सीमा जोडिएका जिल्लाका सशस्त्र प्रहरी अधिकारीसहित नेपाली टोलीको नेतृत्व निमित्त बाहिनीपति सुवेदीले गरेका थिए। सशस्त्र प्रहरी बल नेपाल कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देल, दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक गुणराज न्यौपाने, बैतडीका गुल्मपति जंगबहादुर कुँवर र डडेल्धुराका गुल्मपति प्रकाशचन्द्र भट्ट बैठकमा सहभागी थिए।
त्यस्तै, भारतीय सीमा सुरक्षा बल सेक्टर हेडक्वार्टर अल्मोराका डिआइजी सुधांशु नौटियाल, पिलिभितका डिआइजी अनिलकुमार शर्मासहित सुदूरपश्चिम प्रदेशसँग जोडिएका सीमा क्षेत्रमा कार्यरत भारतीय सीमा सुरक्षा बलका रेजिमेन्ट प्रमुखहरूको बैठकमा सहभागिता थियो। दुई देशका सीमा सुरक्षा बलबिच सीमा अपराध नियन्त्रणबारे केन्द्रदेखि प्रदेश र जिल्ला तहमा समन्वयात्मक बैठकहरू हुँदै आएका छन्।