तिब्बतको राजधानी ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा चिनियाँ नागरिक ल्होसोङ निगाद्वारा सञ्चालित ‘नेपाली रेस्टुरेन्ट’ औपचारिक रूपमा उद्घाटन गरिएको छ। ल्हासा नेपाल क्याटरिङ म्यानेजमेन्ट कम्पनीद्वारा व्यवस्थापन गरिएको उक्त रेस्टुरेन्टको उद्घाटन नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र प्रोपाइटर ल्होसोङ निगाले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन समारोहमा सयौँ स्थानीय नागरिक, व्यवसायी तथा नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सांस्कृतिक झाँकीसहित सम्पन्न भएको थियो, जहाँ नेपाली र चिनियाँ कलाकारहरूले नेपाली तथा तिब्बती गीत–नृत्य प्रस्तुत गरी वातावरणलाई सांस्कृतिक आदान–प्रदानमय बनाएका थिए।
रेस्टुरेन्टको आन्तरिक सजावट नेपाली परम्परागत शैलीमा गरिएको छ। भित्ताहरूमा नेपाली कला र सांस्कृतिक झल्को दिने सामग्री प्रयोग गरिएको छ भने पाहुनाहरूलाई स्वागतस्वरूप थकाली थाली सेट परोसिएको थियो। कास/धातुका थाल, बटुका तथा परम्परागत भाँडाकुँडा प्रयोगमार्फत नेपालीपन कायम राख्ने प्रयास गरिएको व्यवस्थापन पक्षले जनाएको छ।
रेस्टुरेन्टमा नेपाली कामदारहरूलाई रोजगारी दिइएको छ, जसले यहाँ प्रामाणिक नेपाली स्वाद र सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।
प्रोपाइटर ल्होसोङ निगा विगत करिब तीन दशकदेखि नेपालसँग व्यावसायिक रूपमा आबद्ध रहँदै आएका छन्। उनले ‘तारा रग्स उद्योग’मार्फत काठमाडौं महानगरपालिका वडा नं. ६, तीनचुलीमा गलैँचा उद्योग सञ्चालन गर्दै आएका छन्। नेपालमा लामो समयदेखि व्यवसाय गर्दै आएका ल्होसोङले ल्हासामा नेपाली रेस्टुरेन्ट सञ्चालन गर्नु द्विपक्षीय व्यापारिक सहकार्यको निरन्तरता भएको विश्लेषण गरिएको छ।
महावाणिज्यदूत निरौलाले नेपाल र चीन, विशेषगरी तिब्बतसँग युगौँ पुरानो ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको उल्लेख गरे। उनले दुई देशबिचको सम्बन्ध सरकारी तहमा मात्र सीमित नभई जनस्तरमा समेत मजबुत रहेको बताए।
नेपाली व्यवसायीहरूले तिब्बतका विभिन्न स्थानमा लामो समयदेखि व्यापार गर्दै आएको र चिनियाँ व्यवसायीहरूले नेपालमा लगानी गर्दै आएको उदाहरण प्रस्तुत गर्दै उनले यस्ता पहलहरूले पारस्परिक विश्वास र आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
ल्हासामा नेपाली रेस्टुरेन्ट, डान्स बार तथा अन्य व्यवसायहरू सञ्चालनमा रहेको र काठमाडौंमा पनि चिनियाँ रेस्टुरेन्टहरू सफलतापूर्वक चलिरहेको उल्लेख गर्दै उनले दुई देशका नागरिकबिच खानपान, संस्कार–संस्कृति र परम्परामा केही हदसम्म समानता रहेको धारणा राखे।