निर्वाचन आयोगले १२ दलका ३२ उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण सोधिएका अधिकांशको जवाफ प्राप्त भइसके पनि आयोगले अझै कारबाही भने गरेको छैन ।स्पष्टीकरण सोधिएकामध्ये सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार छन् । आयोगको तथ्यांकअनुसार रास्वपाका ११, एमालेका तीन, कांग्रेस एक, नेकपा ६, राप्रपा एक, जनमत एक, गलोपा एक, श्रम संस्कृति एक, नेपाल जनसेवा पार्टी तीन, जसपा नेपाल एक, जसपा एक, आजपाका दुईलाई स्पष्टीकरण सोधिएको छ ।
आचारसंहिता उल्लंघनमा दल र उम्मेदवारलाई एक लाखसम्म जरिवानाको व्यवस्था छ । निर्वाचनको विश्वसनीयतामा असर पार्ने खालका गतिविधि प्रमाणित भयो भने ६ वर्षसम्म निर्वाचनमा रोक लगाउने र उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था निर्वाचन कसुर तथा सजाय ऐनमा छ । आयोगले ४ माघ रातिदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघनका घटनामा आयोगले प्रक्रिया पुर्याएर कारबाही गर्ने बताए । ‘जवाफ आउने क्रममा छ, आएका उजुरीका सन्दर्भमा प्रक्रिया पूरा गरेर आजभोलिमै कारबाही गर्ने तयारीमा छौँ,’ उनले भने । आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञ भट्टराईका अनुसार सोमबारसम्म दल, उम्मेदवार, सार्वजनिक संस्था गरी ७९ वटा स्पष्टीकरण सोधिएको छ ।
आधाभन्दा बढीको जवाफ पनि प्राप्त भइसकेको छ । उनका अनुसार बाजागाजा बगाएर र बढी संख्यामा जुलुस लिएर गएको, शिक्षकहरू दल र उम्मेदवारको प्रचारमा लागेको, स्थानीय तहको जनप्रतिनिधि कार्यस्थलमै प्रचारमा हिँडेको, जिन्सी वितरण गरेको, द्वेषपूर्ण अभिव्यक्ति दिएको, बालबालिकाको प्रयोग गरेको, टिसर्ट प्रयोगलगायत उल्लंघनका उजुरीमा स्पष्टीकरण सोधिएको हो ।
कसलाई कति स्पष्टीकरण ?
रास्वपालाई ११ स्पष्टीकरण : आयोगले रास्वपा झापा ५ का उम्मेदवार बालेन्द्र शाहलाई प्रतिस्पर्धी उम्मेदवार केपी ओली हत्यारा भएकाले सार्वजनिक बहसमा सहभागी हुन्न भन्ने प्रतिक्रिया सम्बन्धमा, दोलखाका उम्मेदवार जगदीश खरेललाई मनोनयन दर्ता गराउँदा दलको झन्डा प्रयोग गरेको र २५ जनाभन्दा बढी व्यक्ति गएकोमा, ओखलढुंगाका उम्मेदवार विश्वराज पोखरेललाई मनोनयन दर्ता गर्न जाँदा बाजागाजा बजाएको, बाँके ३ का खगेन्द्र सुनारलाई राष्ट्रिय जनावरको अपमान गरी समाज भड्काउने अभिव्यक्ति दिएको, बाजुराका उम्मेदवार हेमराज थापालाई बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका सम्बन्धमा अपमानजनक, धम्कीपूर्ण र अपशब्दयुक्त अभिव्यक्ति दिएको, खोटाङका उम्मेदवार रुद्र गिरीलाई फ्लेक्स र झन्डा बढी प्रयोग गरेको तथा २५ जनाभन्दा बढीको जुलुस लगिएको, धादिङ १ की उम्मेदवार आशिका तामाङलाई पठनपाठन अवरोध गरी विद्यार्थीसँग नाचगान गर्दै प्रचारमा बालबालिका प्रयोग गरेको, काठमाडौं ६ का उम्मेदवार शिशिर खनाललाई विद्यालय पोसाकमै बालबालिकालाई प्रयोग गरेको, धादिङ १ की आशिका तामाङलाई बालबालिका जम्मा गरी प्रचार गरेको दोस्रो स्पष्टीकरण र रास्वपा सर्लाही ४ का उम्मेदवार अमरेश सिंहलाई प्रचारमा बालबालिका सामेल गरेको भन्दै आयोगको स्पष्टीकरण सोधेको छ । यसैगरी, दाङमा एमालेको झन्डा जलाइएको सन्दर्भमा रास्वपा जिल्ला सभापतिलाई सोधिएको छ ।
एमाले ३ : एमाले भक्तपुर २ का उम्मेदवार महेश बस्नेतलाई मधेशी समुदायको संस्कृति र पहिचानमाथि प्रहार गरेको, एमाले बैतडी उम्मेदवार दामोदर भण्डारीलाई सरकारी गाडीमा दलको झन्डा राखेर चुनाव प्रचार गरेको, एमाले काठमाडौं १ का उम्मेदवार मोहनराज रेग्मीलाई बल्क मेसेज प्रणाली प्रयोग गरी आफ्नो प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको छ ।
कांग्रेस १ : कांग्रेस गोरखा १ का उम्मेदवार प्रेमकुमार खत्रीलाई नाचगान र बाजागाजासहित ठुलो जुलुस निकालेको भन्दै स्पष्टीकरण सोधिएको छ ।
नेकपा ६ : नेकपा रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डलाई सहिद परिवारबाट एक लाख पाँच सय रुपैयाँ प्राप्त गरेको भन्दै स्पष्टीकरण सोधिएको छ । नेकपा जाजरकोटमा उम्मेदवार शक्तिबहादुर बस्नेतलाई मनोनयनका क्रममा बाजागाजा बजाउने सदस्यलाई पैसा वितरण गरेको, नेकपा सिन्धुपाल्चोक १ का उम्मेदवार माधव सापकोटालाई आचार–संहिताविपरीत निर्वाचन कार्यालयबाहिर आफ्नो दलको निर्वाचन चिह्न पेन्ट गरेर राखेको, नेकपा समानुपातिक उम्मेदवार मंगलसिंह प्रजालाई रेणु दाहालले हारे अर्काे युद्ध हुन्छ, चितवनलाई आगो लगाउँछौँ भन्ने अभिव्यक्ति दिएको, नेकपा रोल्पा १ का उम्मेदवार वर्षमान पुनलाई विद्यालयपरिसरमा नाचगान तथा बाजागाजा बजाएको, नेकपा सिराहा ३ का उम्मेदवार विश्वनाथ साहलाई विद्युत् पोलमा पार्टीको झन्डा बाँधेको भन्दै स्पष्टीकरण सोधिएको छ । नेकपा सिन्धुपाल्चोकलाई पनि स्पष्टीकरण सोधिएको छ ।
राप्रपा १ : राप्रपा काठमाडौं ४ का उम्मेदवार सुरेन्द्र भण्डारीलाई यौनिक अल्पसंख्यक समुदायलाई होच्याउने अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधिएको छ ।
जनमत १ : जनमत सप्तरी २ का उम्मेदवार सिके राउतलाई सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिह्न झन्डाको तोरण बनाई प्रदर्शन गरेको भन्दै स्पष्टीकरण सोधिएको छ ।
गलोपा १ : गलोपा काठमाडौं ५ की उम्मेदवार निशा अधिकारीलाई विदेशमा रहेका नेपालीलाई क्युआर कोड पठाई आफ्नो अभियानलाई सहयोग गर्न सूचना पठाएको भन्दै सोधिएको छ ।
श्रम संस्कृति १ : हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै स्पष्टीकरण सोधिएको छ ।
नेपाल जनसेवा ३ : नेपाल जनसेवा पार्टी भक्तपुर २ उम्मेदवार शोभा पाठकलाई प्रतिस्पर्धी उम्मेदवारविरुद्ध भ्रामक बोलेको, रुपन्देही २ का जनसेवा पार्टीका उम्मेदवार निकोलस भुसाललाई जेन–जी आन्दोलनको आइकोनिक जुत्ता दुरुपयोग गरेको, जनसेवा पार्टीको उम्मेदवार जानुका पाठकलाई जेन–जी जुत्ता आफ्नो चिह्न भनी प्रयोग गरेको भनी सोधिएको छ ।
जसपा २ : जसपा नेपालका उम्मेदवार अशोक टमानीलाई आचार–संहिताविपरीत कपडा वितरण गरेको, जसपा रुपन्देही १ का उम्मेदवार मोहम्मद असलाम खाँलाई बालबालिका प्रयोग गरेकोमा सोधिएको छ ।
आजपा १ : आम जनता पार्टी रौतहटलाई जुलुसमा बालबालिका सामेल गरेको, आजपा रौतहट ४ का उम्मेदवार ऋषि धमलालाई आफ्नो चुनावमा बालबालिका सामेल गरेको भनी स्पष्टीकरण सोधिएको छ ।