पालिकाको करोडौँ बजेट पार्टीको प्रतिष्ठानमार्फत दुरुपयोग

रौतहटको मौलापुर, कटहरिया, फतुवा विजयपुर तथा देवानी गानाही नगरपालिकाद्वारा ६ वर्षदेखि तराई मधेश जनयुद्ध सहिद स्मृति प्रतिष्ठानलाई नियमित रूपमा बजेट

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

पार्टीले सञ्चालन गरेको प्रतिष्ठानलाई तराईका केही पालिकाले करोडौँ बजेट दिएका छन् । यसरी प्रतिष्ठानमार्फत जनताको करको पैसा बेपरबाह खर्च भएको छ । रौतटहका चार पालिकाले मात्र तराई मधेश जनयुद्ध सहिद स्मृति प्रतिष्ठानलाई पछिल्लो ६ वर्षयता नियमित रूपमा बजेट उपलब्ध गराउँदै आएका छन् । सो प्रतिष्ठान आम जनता पार्टीका अध्यक्ष प्रभु साहले चलाउँदै आएका छन् । साह आफैँ प्रतिष्ठानको अध्यक्ष छन् भने पदाधिकारी पनि सबै उनका पार्टीका नेता छन् । 

महालेखा परीक्षकको कार्यालयबाट प्राप्त विवरणअनुसार चार पालिकाले मात्र प्रतिष्ठानलाई करिब १३ करोड रुपैयाँ दिइसकेको देखिन्छ । रौतहटको मौलापुर, कटहरिया, फतुवा विजयपुर तथा देवानी गानाही नगरपालिकाले सो प्रतिष्ठानलाई बजेट दिएका छन् । मौलापुरले कम्तीमा चार करोड ६२ लाख, कटहरियाले तीन करोड आठ लाख ४२ हजार ५६०, फतुवा विजयपुरले दुई करोड २६ लाख १४ हजार र देवाही गोनाहीले तीन करोड ६ लाख रुपैयाँ प्रतिष्ठानमार्फत खर्च गरिसकेको र थप बजेट खर्च हुने क्रममा छ । स्रोतका अनुसार ईशनाथ नगरपालिकाबाट पनि प्रतिष्ठानलाई केही बजेट दिइएको छ । 

प्रतिष्ठानलाई दिइएको बजेटमाथि महालेखाको प्रश्न
प्रतिष्ठानलाई दिइएको बजेटमाथि महालेखाले हरेक वर्ष प्रश्न उठाउँदै आएको छ । स्रोतका अनुसार यस्तो बजेट पार्टीनिकट कार्यकर्तालाई तथा अन्य जनतालाई प्रभाव पार्न खर्च हुँदै आएको छ । विषयसमेत नखुलाई यसरी गैरसरकारी संस्थालाई अनुदान दिइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।मौलापुर नगरपालिकाबारे महालेखाको प्रतिवेदन (०७७/७८)मा भनिएको छ, ‘आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ (३) मा खर्च बिल–भर्पाईसमेतको लेखा राख्नुपर्ने र भुक्तानी दिँदा नियम ३६ (८) बमोजिम रित पुगे–नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले गैरसरकारी संस्था तराई मधेश जनयुद्ध सहिद स्मृति प्रतिष्ठानलाई केबापत अनुदान दिएको हो, कार्यक्रमको प्रस्ताव कार्ययोजना नलिई र बिल–भर्पाई तथा अनुगमन र कार्य मूल्यांकनबेगर सिधै कार्यपालिकाको निर्णयका आधारमा अनुदान भनी गैरसरकारी संस्था तराई मधेश जनयुद्ध सहिद स्मृति प्रतिष्ठानलाई ८५ लाख भुक्तानी दिएकाले उल्लेखित कानुनअनुसार खर्चको भर्पाई, अनुगमन, लेखापरीक्षण प्रतिवेदन र कार्यमूल्यांकन पेस गर्नुपर्ने ।’ तर, नगरपालिकाले यस्तो सुझावको बेवास्ता गर्दै हरेक वर्ष सो प्रतिष्ठानलाई अनुदान दिँदै आएको छ । 

सो नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ मा एक करोड १५ लाख, ०७६/७७ मा ७५ लाख, ०७७/७८ मा ९१ लाख, ०७८/७९ मा ८५ लाख, ०७९/८० मा ३६ लाख, ०८०/८१ मा ३० लाख र ०८०/८१ मा ३० लाख रुपैयाँ अनुदान दिएको छ । सो नगरपालिकाको मेयरमा आम आदमी पार्टीका अध्यक्ष साहकी पत्नी रिनाकुमारी साह छिन् । ०७४ देखि उनी त्यहाँ निरन्तर मेयर छिन् । ०७९ को निर्वाचनमा उनी एमालेबाट विजयी भएकी हुन् । हाल आम जनता पार्टीमा सक्रिय छिन् । प्रतिष्ठानलाई अनुदान दिएको विषयमा आफूलाई जानकारी नभएको उनको दाबी छ । 

त्यस्तै, कटहरियाले पनि ०७५/७६ देखि नै अनुदान दिन थालेको थियो । ०७५/७६ मा ७५ लाख, ०७६/७७ मा ८५ लाख, ०७७/७८ मा ३० लाख, ०७८/७९ मा ८५ लाख तथा ०७९/८० मा ३३ लाख ४२ हजार ५६० रुपैयाँ अनुदान दिएको थियो । ०७९ सम्म पालिकामा प्रभु साहनिकट सीतारामप्रसाद कुसवाह मेयर थिए । हाल उनी आम जनता पार्टीमा छन् । हालका मेयर अजय प्रकाश आफू आएयता सो प्रतिष्ठानलाई अनुदान नदिएको बताउँछन् । ‘हाम्रो नगरपालिकाबाट सो प्रतिष्ठानलाई पहिला अनुदान दिइएको रहेछ,’ उनी भन्छन्, ‘अहिले हामीले त्यसरी जथाभावी दिएका छैनौँ ।’ 

फतुवा विजयपुरले तीन आर्थिक वर्षमा अनुदान दिएको भेटिएको छ । ०७५/७६ मा एक करोड २२ लाख, ०७६/७७ मा ६५ लाख १४ हजार तथा ०७७/७८ मा ३९ लाख रुपैयाँ प्रतिष्ठानलाई अनुदान दिएको छ । देवाही गोनाही नगरपालिकाले ०७६/७७ मा ७५ लाख, ०७७/७८ मा एक करोड ११ लाख, ०७८/७९ मा ३० लाख र ०७८/७९ मा ९० लाख दिएको विवरण छ । सो नगरपालिकाका मेयर प्रेमलाल साह कानु सो नगरपालिकाको अनुदान आफू आउनुभन्दा अघिको भएकाले विस्तृत बुझेर मात्र भन्न सकिने बताउँछन् । सो प्रतिष्ठानले मौलापुरमा भवनसमेत बनाइरहेको छ । भवन पनि सरकारी अनुदानमै निर्माण भइरहेको स्रोत बताउँछ । प्रतिष्ठानले संघ र प्रदेश सरकारबाट पनि अनुदान लिँदै आएको छ । 

नेता साहले प्रतिष्ठानको अनुदान र खर्चको विषयमा बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । प्रतिष्ठानमा आबद्ध कटहरियाका पूर्वमेयर सीतारामप्रसाद कुसवाहले सार्वजनिक गरेको विवरणअनुसार २८ हजार परिवारलाई ग्यासचुलो वितरण गरिएको छ । त्यस्तै, १४ हजार छात्रालाई साइकल वितरण गरिएको छ । यसरी पालिकाको बजेट पार्टीको प्रतिष्ठानबाट लगेर यसरी वितरण गर्नु दुरुपयोग भएको आरोप अन्य पार्टीले लगाउँदै आएका छन् । 

कुन पालिकाबाट कति ?
पालिका     अनुदान रकम 
मौलापुर   :  ४ करोड ६२ लाख 
कटहरिया    : ३ करोड ८४ लाख 
देवाही गोनाही   :  ३ करोड ६ लाख 
फतुवा विजयपुर  :  २ करोड २६ लाख

सुझावित समाचार