अध्यक्ष ओलीले आज दमकमा निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका  छन्। आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा दिउँसो ३ बजे अन्तर्क्रिया हुन लागेको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को आयोजनामा हुने कार्यक्रममा दुईवटा प्यानल डिस्कसनसमेत राखिएको छ ।

हिसानका अध्यक्ष युवराज शर्माका अनुसार `नेपालको निजी क्षेत्रसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली´ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ। अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन राखिएको शर्माले जानकारी दिए। निजी क्षेत्र, नीतिगत सुधार तथा युवाकेन्द्रित आर्थिक रूपान्तरणका विषयमा शिक्षा, ऊर्जा, उद्योग व्यावसाय, स्वास्थ्य, सूचना प्रविधिका क्षेत्रमा नेपालका सम्भावना र चुनौतीका विषयमा छलफल गरिनेछ ।  

प्यानल छलफलमा हिसानका पूर्वअध्यक्ष रमेशकुमार सिलवाल, इपानका अध्यक्ष गणेश कार्की, प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरी, मेडिकल एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्की, आइटी उद्यमी सुलभ बुढाथोकी र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं सहभागी हुनेछन् । 

प्यानलमा सहभागी वक्ताहरूले आफ्ना क्षेत्रका तत्कालीन र दीर्घकालीन समस्या र समाधानका उपाय, नीतिगत अवरोधहरू र नयाँ सरकारसँगका अपेक्षा राख्नेछन् । यसैगरी, जेन-जेड र निजी क्षेत्रको सम्बन्धका बारेमा पनि छलफल हुने शर्माले बताए । उनका अनुसार प्यानल छलफलमा उठेका जिज्ञासा, नीतिगत अवरोध र देशले अंगालेको निजी क्षेत्रसम्बन्धी नीतिका बारेमा अध्यक्ष ओलीले आफ्ना भनाइहरू राख्ननेछन्। कार्यक्रम दिउँसो ३ बजे दमक चौकस्थित गोरखा डिपार्टमेन्टको सगरमाथा हलमा आयोजना गरिएको छ । अध्यक्ष ओली आजै काठमाडौंबाट झापा आउँछन् । 

सुझावित समाचार