आयोजक सहारा क्लब २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार पहिलो सेमिफाइनलमा ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई सडन डेथमा पराजित गर्दै सहारा उपाधिनजिक पुगेको हो।
निर्धारित ९० मिनेटको खेलका दुवै टोलीबाट कुनै गोल नभएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत कुनै गोल नहुँदा निर्णयका लागि खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा समेत दुवै टोलीले समान ५-५ गोल गरेपछि सडन डेथबाट विजेता छनोट गरिएको हो।
सडन डेथमा मनाङका कप्तान सबिन खड्काको प्रहार विपक्षी सहाराका गोलकिपर टिकेन्द्र थापाले विफल पारिदिएपछि सहाराले उपाधि यात्रा तय गर्दा सातौँपटक उपाधि उचाल्ने मनाङको सपना विफल भयो।
सहाराले यसअघि प्रिक्वाटरफाइनमा पाहुना टोली गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङलाई १–० गोल अन्तरले र क्वाटरफाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई सडन डेथमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। उता मनाङले प्रिक्वाटरफाइनमा विभागीय सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई २–१ गोल अन्तरले र क्वाटरफाइनलमा भारतको सिक्किमस्थित थन्डरबोल्ट नर्थ युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।
अब सहाराले पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लब र जावलाखेल युथ क्लबबिच बिहीबार हुने सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। सहारा क्लब पोखराको आयोजना एवं हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको फाइनल खेल ९ गते शनिबार हुनेछ।