डोटीमा विरासत फर्काउने र नयाँ इतिहास बनाउने दाउमा दलहरू

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

०७० यताका तीनवटै संसदीय चुनावमा विजयी भएर ‘ह्याट्रिक’ गरेका प्रेमबहादुर आले अहिले डोटीको चुनावी मैदानमा छैनन् । उनी यसपालि कैलाली ५ बाट प्रतिस्पर्धा गर्दै छन् । आलेको विरासतमा इतिहास रच्न डोटीमा नौजना उम्मेदवारबिच प्रतिस्पर्धा हुँदै छ । 

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू आफ्ना एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसले चुनावी माहोल तातेको छ । यसअघिको निर्वाचनको परिणाम र उम्मेदवारको पृष्ठभूमि हेर्दा प्रतिस्पर्धा रोचक हुने देखिएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट कैलाली ५ मा उम्मेदवार बनेर चौथोपटक संसदीय यात्रामा रहेका आले ०७० र ०७४ मा एमाले तथा ०७९ मा तत्कालीन एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए । 

०७० मा उनी तत्कालीन डोटी २ बाट विजयी भए । राज्य पुनर्संरचनापछि डोटीमा एउटा मात्र निर्वाचन क्षेत्र कायम गरियो । आलेलाई ०७४ को वामगठबन्धन र ०७९ मा कांग्रेस र तत्कालीन माओवादीको समर्थन थियो । 

तत्कालीन माओवादी, समाजवादीसहित दलहरू मिलेर बनेको नेकपाबाट आलेको विरासत कायम राख्न सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट प्रतिस्पर्धा गर्दै छन् । संघीय संसद्मा जाने उनको यो तेस्रो प्रयास हो । ०६४ मा भट्ट डोटी १ बाट एमालेका हर्कबहादुर सिंह र ०७० मा डोटी २ मा एमालेकै आलेसँग पराजित भएका थिए । 

०७४ मा भने भट्ट प्रदेश सभा २ बाट निर्वाचित भए । उनी पाँच वर्ष पूरै कार्यकाल प्रदेश सरकारको नेतृत्व गर्दा  कुनै पनि काण्डमा मुछिएनन् । कांग्रेस १२ वर्षपछि विरासत फर्काउने दाउमा छ । ०७० को चुनावमा डोटी २ बाट निर्वाचित कांग्रेसका वीरबहादुर बलायर एउटै क्षेत्र कायम भएपछि भएको ०७४ को चुनावमा एमालेका आलेसँग पराजित भए । ०७९ को चुनावमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन भएपछि कांग्रेसले डोटीमा आलेलाई सघायो । कांग्रेसले पाका नेता भरतबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय खड्का गाउँ तथा जिल्ला पञ्चायतको नेतृत्व गर्दै ०५४ मा कांग्रेसबाट जिविस सभापति भएका थिए । ०७० मा समानुपातिकबाट संविधान सभा सदस्य बनेका उनी ०७४ मा प्रदेश सभा १ बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । 

सुदूरपश्चिममा पार्टीभित्र देउवा पक्षको दबदबाबिच इतर समूहमा रहेर पटक–पटक अवसर पाउने नेतामा पर्ने खड्कालाई कांग्रेसको साख फर्काउने चुनौती छ । ०४८ देखि ०५४ सम्मका निर्वाचनमा साबिकका दुवै क्षेत्र कांग्रेसले जितको थियो । ०६४ मा भने क्षेत्र नम्बर २ मा माओवादीका खेम बम र १ मा एमालेका सिंह निर्वाचित भएका थिए । 

एमालेबाट विद्यार्थी नेता दीपक धामी प्रतिस्पर्धा गर्र्दै छन् । उनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष हुन् । डोटीबाट पार्टीले तीनपटक चुनाव जितेको इतिहास फर्काउने प्रयासमा उनी छन् । ०७९ को निर्वाचनमा तत्कालीन एकीकृत समाजवादीका आले २७ हजार २१० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौरीकुमारी ओलीले २३ हजार चार मत प्राप्त गरेकी थिइन् । यसअघिको निर्वाचनको परिणामका आधारमा डोटीमा कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी प्रमुख प्रतिस्पर्धी देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उद्योग वाणिज्य संघ डोटीका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्का चुनावी मैदानमा छन् । ०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका खड्काले ६ हजार ६८९ मत पाएका थिए । तल्लो तहसम्म सांगठिनक उपस्थिति कमजोर भए पनि परिवर्तित परिस्थितिमा पार्टीप्रति देखिएको जनलहरको बलमा चुनाव जित्ने दाउमा रास्वपा देखिन्छ । गत चुनावमा डोटीबाट रास्वपाका केशव बलायरले ७७४ मत पाएका थिए ।
समानुपातिकतर्फ कांग्रेसले २२ हजार ५१६, एमालेले २२ हजार ४५६, माओवादीले ६ हजार ९२४, एकीकृत समाजवादीले दुई हजार ३७३ र रास्वपाले एक हजार २४८ मत पाएका थिए । डोटीमा ६६ हजार ८२१ महिला र ६१ हजार ५७८ पुरुष गरी एक लाख २८ हजार ३९९ मतदाता छन् । ११८ मतदानस्थल र १८० मतदान केन्द्र छन् ।

See More On

सुझावित समाचार