हाजिरी जमानीमा छुटेका दुर्गा प्रसाईं फेरि पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। चुनावविरोधी गतिविधिमा लागेको आरोपमा काठमाडौं प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।
उनी योजनाबद्ध रूपमा चुनाव बिथोल्ने गतिविधिमा सक्रिय भएको सूचनाका आधारमा पक्राउ गरिएको काठमाडौं परिसरले जनाएको छ।
गत साता पक्राउ परेका उनी हाजिरी जमानीमा छुटेका थिए। उनीविरुद्ध साइबर अपराध, आपराधिक लाभलगायत विभिन्न मुद्दाहरू अदालतमा विचाराधीन छन्।
आचारसंहिताको बर्खिलाप हुने गरी अफवाह फैलाएको भन्ने कसुरमा उनलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसएसपी रमेश थापाले बताए।
सर्वाेच्चबाट आदेश भएपछि मात्र रवि लामिछानेको अभियोग संशोधनबारे जिल्ला अदालतले सुनुवाइ गर्ने
रवि लामिछाने मुछिएको सहकारी ठगीसम्बन्धी मुद्दामा अभियोग संशोधन प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ। सर्वाेच्च अदालतबाट रिटमाथि सुनुवाइ भएपछि मात्र जिल्ला अदालतहरूले सुनुवाइ गर्ने भएका छन्।
सोमबार जिल्ला अदालत, कास्कीले यस्तो आदेश दिएको हो। यसअघि रुपन्देही जिल्ला अदालतले पनि सर्वाेच्चमा सुनुवाइ भएपछि मात्र पेस गर्न आदेश भएको थियो।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिश राईले पछि पेस गर्न आदेश गरेका हुन्।
महान्यायाधिवक्ता कार्यालयले लामिछाने जोडिएको मुद्दामा अभियोगपत्र संशोधनका लागि जिल्ला सरकारी वकिल कार्यालयलाई दुई महिनाअघि अनुमति दिने निर्णय भएको थियो । सोही आधारमा जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन दिएकोमा तत्काल सुनुवाइ नगर्ने निर्णय भएको हो।
महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेका रिटमा सर्वाेच्चले अभियोगपत्र संशोधन गर्ने निर्णय गर्दा लिइएका आधारहरू मगाएको छ।
राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारीसाधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क उठाउन नपाउने अन्तरिम आदेश जारी गरेको छ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँले गत भदौ २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसहितलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणसम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासले अन्तरिम आदेश दिएको हो।
निवेदनमा स्थानीय तहले अनधिकृत रूपमा सवारीसाधनबाट सडक उपयोग शुल्क तथा कर असुली गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न अन्तरिम आदेश माग गरिएको थियो। सर्वोच्चले ०८२ असार ३० गते जितपुर–सिमरा उपमहानगरपालिकासँग भएको ठेक्का सम्झौतामा एम्बुलेन्स, शववाहन, वारुण यन्त्रजस्ता सवारीसाधनबाट सडक उपयोग शुल्क उठाउन नपाइने तथा त्रिभुवन राजपथ, हुलाकी राजमार्ग, महेन्द्र राजमार्गलगायतका मार्गमा ढाँट, टेबल वा घुम्ती राखी शुल्क उठाउन नपाइने उल्लेख भएको तथ्यलाई आधार मानेको छ।
काठमाडौंको मेयर हुनु प्रधानमन्त्री हुनुभन्दा कम चुनौती थिएन : बालेन शाह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले काठमाडौं महानगरभित्र विभिन्न तहमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका छन्। उनले महानगरको नेतृत्व गर्नु प्रधानमन्त्री बन्नुभन्दा कम चुनौतीपूर्ण नभएको जिकिरसमेत गरेका छन्।
झापा ५ का मतदातासँगको संवाद कार्यक्रममा बोल्दै शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा समेत अन्तर्राष्ट्रिय चलखेल भएको दाबी गरे। छलफलका क्रममा एक मतदाताले राष्ट्रिय सरकार सञ्चालन गर्दा अन्तर्राष्ट्रिय दबाब र चलखेल हुन सक्ने उल्लेख गर्दै त्यसप्रति उनको योजना के हुन्छ भन्ने प्रश्न गरेका थिए। जवाफमा शाहले महानगरको नेतृत्व सम्हाल्दाको अनुभव उल्लेख गर्दै प्रधानमन्त्रीको जिम्मेवारीभन्दा कम चुनौती नरहेको तर्क गरे। उनले भने, ‘अन्तर्राष्ट्रिय चलखेल महानगरमा कुन हदसम्मको थियो भनेर तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न।’
मतदाताले पुनः ‘म अन्तर्राष्ट्रिय चलखेलसँग झुक्दिनँ भनेर नेपाली जनतासँग भन्न सक्नुहुन्छ ?’ भनी प्रश्न गर्दा शाहले आफू नेपाली जनताकै बिचबाट आएको उल्लेख गर्दै उदाहरणका रूपमा काठमाडौंको फोहोर व्यवस्थापनसम्बन्धी विषय उठाएका थिए। उनले भने, ‘यहाँ हामी सबै नेपाली जनता नै छौँ नि, उदाहरणका लागि काठमाडौंको फोहोर व्यवस्थापनसमेत चलखेल हुन्थ्यो। त्यसैले प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन।’
जेलबाट भागेका सात कैदी काठमाडौंमा पक्राउ
काठमाडौं प्रहरीले जेलबाट भागेका सातजना कैदीलाई एकैदिन पक्राउ गरेको छ। २४ भदौको जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दीलाई प्रहरीले आइतबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रसुवाका तेन्जिङबहादुर तामाङ, लमजुङका प्रितम गुरुङ, कञ्चनपुरकी बबिता तामाङ, काभ्रेपलाञ्चोकका विक्रम नेपाली, दोलखाका भुवन तामाङ, सिन्धुलीका अनिस मगर र भारतीय नागरिक रोसन साह छन्। उनीहरूलाई कारागार दाखिला गरिएको काठमाडौं परिसरका एसपी पवन भट्टराईले जानकारी दिए।
गगन थापाको डिजिटल नेपाल खाका : पाँच वर्षभित्रै चार खर्बको आइटी सेवा निर्यात, दुई लाख रोजगारी
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल हब बनाउन सक्ने गरी रोडम्याप सार्वजनिक गरेका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा थोरै सुधार गर्दा पनि ठुलो नतिजा ल्याउन सकिने विश्वास व्यक्त गरे।
उनले भने, ‘हामी गर्ने भनेर दत्तचित्त भएर लागेमा पाँच वर्षभित्र साँच्चिकै गर्न सक्छौँ प्रविधिको क्षेत्रमा। पाँच वर्षभित्र करिब चार खर्ब रुपैयाँको आइटी सेवा विदेशमा निर्यात गर्न सकिन्छ । दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिन्छ।’
केही समयअघि कीर्तिपुरको एक सभामा ल्यापटप चलाएरै मासिक तीन–चार लाख कमाउन सकिन्छ भनी दिएको अभिव्यक्ति ट्रोलको विषय बने पनि त्यो हावादारी कुरा नभई योजनाबद्ध सोच रहेको उनले स्पष्ट पारे । अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका साना सुधारले पनि सकारात्मक नतिजा देखाएको उदाहरण दिँदै उनले अब थप व्यवस्थित र नीतिगत सुधारको खाँचो रहेको औँल्याए।
भूमिहीन र सुकुमवासी समस्याकाे दीर्घकालीन समाधान गर्ने सभापति लामिछानेको प्रतिबद्धता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यले कसैलाई पनि भूमिहीन बनाएर राख्न नसक्ने बताएका छन्। चुनावी सभाका क्रममा सोमबार चितवनको आँपटारीमा सम्बोधन गर्दै सभापति लामिछानेले भूमिहीन र सुकुमवासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
लामिछानेले अब रास्वपाको एकल नेतृत्वमा शक्तिशाली सरकार बनेपछि भूमिहीन समस्या समाधानका लागि एक सशक्त आयोग गठन गरिने बताए। उक्त आयोगमा कुनै पनि दलका प्रतिनिधि नराखी दलबाहिरका विज्ञहरूलाई समावेश गरिने उनको भनाइ थियो।
लामिछानेले भूमिहीन र सुकुमवासीसँग सम्बन्धित समस्या वर्षौँदेखि राजनीतिक रूपमा प्रयोग मात्र हुँदै आएको उल्लेख गर्दै अब स्थायी समाधान आवश्यक रहेको बताए। ‘यो समस्या अब सदाका लागि अन्त्य हुन्छ,’ उनले भने।
लामिछानेले आगामी सरकारले नीतिगत, कानुनी तथा प्रशासनिक सुधारमार्फत वास्तविक भूमिहीनको पहिचान गरी न्यायोचित ढंगले व्यवस्थापन गर्ने स्पष्ट पारे।
सिराहामा ३० बिघा उखुखेतीमा आगलागी, एक करोडभन्दा बढीको क्षति
सिराहाको लहान नगरपालिका– १३, घलेटोलमा काट्न तयार रहेको उखुमा सोमबार दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलको उखु जलेर नष्ट भएको छ।
आगलागीमा स्थानीय २५ जना किसानले करिब ३० बिघा क्षेत्रफलमा लगाएको उखु जलेर नष्ट हुँदा एक करोड १६ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ। उखु खेतको मध्यभागबाट सोमबार दिउँसो सल्किएको आगोले काट्न तयार भएको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए।
उनका अनुसार दिउँसो १ बजेतिर उखु खेतमा आगो लागेको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर स्थानीय बासिन्दाको सहयोगमा मानवबस्तीमा जानबाट रोकिएको थियो। आगो निभाउन लहान नगरपालिकाबाट गएको बारुणयन्त्रको पानी फाल्ने मोटर बिग्रिएपछि गोलबजार नगरपालिकाबाट आएको बारुणयन्त्रले करिब ४ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको उनले बताए। उनका अनुसार आगलागीको विषयमा अनुसन्धान थालिएको छ।
उखुबारीको मध्यभागबाट आगो सल्किएकाले उखुबारीभित्र पसेर चुरेट, बिँडी पिएपछि ठुटो फालेर हिँडेको वा नियतवश आगो लगाएको हुन सक्ने आशंका गरिएको छ।
नेपाली जनता दलद्वारा घोषणापत्र सार्वजनिक
नेपाली जनता दलले संविधानलाई लिकमा ल्याउन निष्पक्ष, स्वच्छ र धाँधलीरहित निर्वाचनबाहेक अर्को विकल्प नभएको बताएको छ । सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै जनता दलले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, भ्रष्टाचारको अन्त्य, बेरोजगारीको अन्त्य, सुशासनको स्थापनाको पक्षमा गम्भीर रहेको जनाएको छ ।
अध्यक्ष एवं पूर्वसांसद नवराज सुवेदीले सर्वसाधारण जनताको दैनिक जनजीवनमा आइपरेका समस्याका विषयमा पार्टी गम्भीर भएको बताए । मौलिक समाजवाद, प्रकृतिवाद र दिगो विकास, वैज्ञानिक मानवतावाद, सामाजिक न्याय र समान अवसरको नीति पार्टीले लिएको सुवेदीले बताए ।
आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा मनाङ मर्स्याङ्दी
मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार पाहुना टोली भारतको सिक्किमस्थित थन्डरबोल्ट नर्थ युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गर्दा पाहुना टोली भने पहिलो खेलबाटै घर फर्केको छ। जितसँगै मनाङले फाइनल प्रवेशका लागि ७ गते आयोजक सहारा क्लबसँगको भेट पक्का गरेको हो।