रेडबुल एन्फा महिला च्याम्पियनसिप २०८२ अन्तर्गत सोमबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले न्युरोड टिममाथि सानदार जित निकालेको छ। उदयपुरको थरूहट रंगशालामा जेनिफर रानाको ह्याट्रिकमा आर्मीले सात–एक गोलअन्तरले जित निकालेको हो।
खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक देखिएको थियो। २८औँ मिनेटमा अनिता लम्जेलले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाइन्। ३४औँ मिनेटमा न्युरोडकी कविता गुरुङले खेललाई एक–एकको बराबरीमा ल्याइन्। पहिलो हाफको इन्जुरी समयमा दीपा राईले गोल थपेपछि आर्मीले दुई–एकले अग्रता लिएको थियो।
दोस्रो हाफमा आर्मीका खेलाडीहरू पूर्ण रूपमा आक्रामक देखिए। न्युरोड टिमले रक्षा पंक्तिमा सुधार गर्ने प्रयास गरे पनि आर्मीको तीव्र गतिको खेल अगाडि उनीहरू टिक्न सकेनन्।
जेनिफर रानाले खेलको ५६औँ, ५९औँ र ७२औँ मिनेटमा लगातार तीन गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन्। यता वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेकी सपना लामाले खेलको अन्त्यतिर ८१औँ र ९०औँ मिनेटमा दुई गोल थप्दै टोलीलाई ७–१ को जिततर्फ डोहोर्याइन्।
खेलको दौरान दुवै टोलीले रणनीतिक परिवर्तनहरू गरेका थिए। आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले दीपा राई र हिमा चौधरीको स्थानमा क्रमशः शर्मिला थापा र पूर्णिमा हमाललाई मैदान पठाएका थिए। न्युरोड टिमकी प्रशिक्षक भगवती रानामगरले पनि गोलकिपर अस्मिता नेपालीको स्थानमा सविना थिङ र सुशीला केसीको स्थानमा जुना तामाङलाई मैदान छिराए पनि नतिजामा सुधार आउन सकेन।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुनेछ। प्रतियोगिताको विजेताले सात लाख पाँच हजार रुपैयाँ तथा उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ।