आइतबार १० बजेसम्मका १० मुख्य खबर

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

आयल निगमले आइतबार रातिबाट लागू हुने गरी पेट्रोल १ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ३ रुपैयाँ प्रतिलिटर मूल्य बढाएको छ। मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल १५७ र डिजेल तथा मट्टीतेल १४२ रुपैयाँ प्रतिलिटर पुगेको छ।

आइतबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट नयाँ मूल्य आउँदा पेट्रोल १.५१ रुपैयाँ र डिजेल ५.०२ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरेको निगमले जनाएको छ। आइओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ। त्यसकै आधारमा निगमले नेपाली बजारमा मूल्य निर्धारण गर्दै आएको छ। 

मूल्य बढेपछि तराईमा पेट्रोल १५४.५० र डिजेल तथा मट्टीतेल १३९.५० रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ। त्यस्तै, सुर्खेत र दाङमा भने पेट्रोल १५६ र डिजेल तथा मट्टीतेल १४१ रुपैयाँ निर्धारण गरिएको छ। ढुवानी लागतमा पर्न गएको अन्तरका कारण निगमले फरक–फरक मूल्य निर्धारण गर्दै आएको छ।

ड्रोनबाट यस्तो देखियो महाशिवरात्रिमा पशुपति क्षेत्र

महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा देश तथा विदेशबाट समेत दर्शनार्थीको भिड लागेको छ। आठ लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ।

दशनार्थीलाई ‘निर्वाचन प्रहरी’ले पनि सुरक्षा दिएका छन्। चार हजार सुरक्षाकर्मी परिचालन गरिएकोमा पाँच सय ‘निर्वाचन प्रहरी’ छन्। प्रहरीका अनुसार पर्वभर सिसिक्यामेरा र ड्रोनबाट समेत सुरक्षा निगरानी भइरहेकाे छ।

राजनीतिक दलहरूलाई आयोगको ६३ बुँदे निर्देशन

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित गरेर निर्वाचन आयोगले राजनीतिक दलहरूलाई ६३ बुँदे निर्देशन दिएको छ। स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा निर्वाचन सम्पन्न गराउन आचारसंहिता पालना गर्नेलगायतका विषय समेटेर दलहरूलाई निर्देशन दिएको हो।

राजनीतिक दल तथा उम्मेदवारले फागुन ४ देखि १८ गतेसम्म मात्र प्रचारप्रसारका कार्यक्रम गर्ने, मतदातालाई मताधिकार प्रयोग गर्न वा नगर्नका लागि प्रभावित पर्ने कुनै कार्य गर्न नपाइनेलगायतका विषयहरू समावेश गरिएको छ।

पाँच वर्षमा गर्ने काम समेटेर रास्वपाले सार्वजनिक गर्यो ‘नागरिक करार’

राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ‘नागरिक करार’ सार्वजनिक गरेको छ।

पाँच वर्षभित्र पूरा गर्ने पाँच मुख्य कामका विषय सार्वजनिक गर्दै रास्वपाले मतदातासँग ‘करार’ गर्ने जनाएको हो। रास्वपाको नागरिक करारमा सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार, काम, कनेक्टिभिटी र प्रवास गरी पाँच विषय प्राथमिकतामा छन्।

करार-पत्रमा २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्चायोग गठन, औसत वार्षिक प्रतिव्यक्ति आय ३००० डलर र कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर, जन्मदेखि मृत्युसम्मका आवश्यकतामा आधारित ‘एकीकृत सामाजिक सुरक्षा’को ग्यारेन्टी, १२ लाख नयाँ रोजगारी सिर्जनालगायतका विषय समावेश गरिएको छ।

सर्लाहीको मलंगवामा गोली हानी इन्जिनियरको हत्या

सर्लाहीको मलंगवामा गोली प्रहार गरी पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या भएको छ। आइतबार साझ सदरमुकाम मलंगवा नगरपालिका–१०, मा गोली प्रहार गरी पूर्वाधार विकास कार्यालय मलंगवा कार्यरत सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको हो।

अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका इन्जिनियर यादवलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका छन्। यादवको छातीमा गोली लागेको पाहिएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामप्रकाश साहले जानकारी दिए। यादवमाथि भएको गोली प्रहार घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। 

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकी ढुवानी तयारी गरेको जनाएको छ।

हालसम्म १ करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भइसकेको छ भने करिब ११ लाख ९९ हजार मतपत्र छाप्न बाँकी छ।

१० जिल्लाको मतपत्र छपाइ सम्पन्न भए पनि प्याकिङ बाँकी रहेको छ। हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ।

मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा भइरहेको छ। आयोगले दुई दिनभित्र सबै मतपत्र छपाइ सकी ढुवानी तयारी पूरा गर्ने जनाएको छ।

उज्यालो नेपालको प्रतिबद्धता : प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, दलविहीन स्थानीय निर्वाचन

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रदेशका मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ।

आइतबार निर्वाचन प्रतिबद्धतापत्रको सारांश सार्वजनिक गर्दै उज्यालो नेपालले प्रदेश सरकारको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्ने घोषणा गरेको हो।

घोषणापत्रमा विकासलाई गति दिन स्वतन्त्र उम्मेदवारहरूबिच मात्र प्रतिस्पर्धा हुने गरी स्थानीय निर्वाचनलाई निर्दलीय बनाउने प्रतिबद्धता गरिएको छ।

नेपाललाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा

नेपाललाई नाै विकेटले हराउँदै दुईपटकको च्याम्पियन वेस्ट इन्डिज आइसिसी टी–२० विश्वकप २०२६ को सुपर ८ मा प्रवेश गरेको छ। तेस्रो खेलमा पराजित भएपछि नेपालको भने सुपर एटमा पुग्ने सम्भावना सकियो। 

आइतबार वानखेडे रंगशालमा नेपालले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनको लक्ष्य दिएको थियो। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले धैर्यपूर्ण ब्याटिङ गर्दै अर्धशतक बनाएपछि नेपालले सम्मानजनक प्रदर्शन गरेको थियो। प्रत्युत्तरमा वेस्ट इन्डिजले १५.३ ओभरमा एक विकेट गुमाउँदै जित निकालेको हो। नेपालविरुद्ध चार विकेट लिएका तीव्रगतिका बलर ज्यासन होल्डर नै प्लेयर अफ दी म्याच घोषित भए। 

समूह ‘सी’मा वेस्ट इन्डिज लगातार तेस्रो जित निकाल्न सफल भयो। यसअघि वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रन तथा इंग्ल्यान्डलाई ३० रनले पराजित गरेको थियो। लगातार तीन जितपछि ६ अंक बटुलेको वेस्ट इन्डिज शीर्ष स्थानमा छ। नेपाल भने लगातार तेस्रो खेलमा पराजित हुँदै सुपर ८ बाट बाहिरियो। अब, नेपालले मंगलबार स्कटल्यान्डसँग अन्तिम खेल खेल्नेछ। वेस्ट इन्डिजले भने समूहको अन्तिम खेल इटालीसँग खेल्ने तालिका छ। समूहमा दोस्रो टोलीको रूपमा सुपर एटमा पुग्न इंग्ल्यान्ड, स्कटल्यान्ड र इटालीमध्ये तीनै टोलीको सम्भावना उस्तै छ।

सैनिक मञ्च टुँडिखेलमा मनाइयाे २६३औँ सेना दिवस

नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुँडिखेलमा सेना दिवस मनाएकाे छ । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ। यसै अवसरमा आज फागुन ३ महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक, सांगीतिक कार्यक्रम एवं झाँकी प्रदर्शन गरी २६३औँ सेना दिवस मनाइएको छ। सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापतिलगायत स्वदेशी तथा विदेशी पाहुनाहरूको उपस्थिति थियो।

प्रलोपाले सार्वजनिक गर्यो निर्वाचन घोषणापत्र

‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचनलक्षित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। आइतबार संवाद डबलीमा पत्रकार सम्मेलनमार्फत पार्टीका नेताहरूले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

प्रलोपाले हाल अभ्यासमा रहेको लोकतन्त्रले जनतालाई पाँच वर्षमा एकपटक मतदान गर्ने अधिकारमा मात्र सीमित गरेको टिप्पणी गरेको छ। लोकतन्त्रका नाममा दलतन्त्र, गुटतन्त्र र नेतातन्त्र मौलाएको भन्दै पार्टीले ‘प्रगतिशील लोकतन्त्र’को अवधारणा अघि सारेको जनाएको छ।

सुझावित समाचार