नेपालमाथि इटाली १० विकेटले विजयी

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण
नेपालमाथि इटाली १० विकेटले विजयी

इटालीका मोस्का दाजुभाइ रन लिने प्रयासमा । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

आइसिसी पुरुष टी–२० विश्वकप २०२६

  • वानखेडे रंगशालाको पिचमा पूरै ओभर खेल्न नसकेको नेपालविरुद्ध नवप्रवेशी इटालीले ४४ बलअगावै आवश्यक रन जोडेर सानदार जित निकाल्यो 

दुईपटकको विजेता इंग्ल्यान्डविरुद्ध सनसनी प्रदर्शन गरेको नेपालले बिहीबार नवप्रवेशी इटालीबाट १० विकेटको नमिठो हार सामना गरेको छ । टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’मा नेपाल र इटालीले पहिलोपटक टी–२० फर्म्याटमा प्रतिस्पर्धा गरेका हुन् । इटालीले यस समूहकै डार्क हर्स ट्याग दिइएको नेपालमाथि १० विकेटको जित निकालेको हो । मुम्बईको वानखेडे रंगशालामा इटालीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।

पहिलो ब्याटिङ गरेको नेपाल पुन: एकपटक महत्वपूर्ण खेलमा ब्याटिङमा कमजोर देखियो । परिणामस्वरूप नेपाल १९.३ ओभरमा १२३ रनमै समेटियो । प्रत्युत्तरमा इटालीले केवल १२.४ ओभरमा विनाविकेट १२४ रन बनाउँदै विश्वकपमै ठुलो जित निकाल्यो । टी–२० विश्वकपमा यो आठौँपटक १० विकेटको जित नतिजा निस्केको हो । चालू विश्वकपमा यो दोस्रो १० विकेट जित रह्यो । यसअघि न्युजिल्यान्डले युएईलाई १० विकेटले हराएको थियो । यसअघि आइसिसी विश्वकप डिभिजन लिगमा नेपालले इटालीलाई तीनपटक हराएको थियो । 

सन् २०१३ मा अन्तिमपटक नेपाल र इटालीबिच खेल भएको थियो । ठ्याक्कै १३ पछि यी दुई राष्ट्रबिच प्रतिस्पर्धा भएको हो । दोस्रो हारपछि नेपालको सुपर ८ मा पुग्ने सम्भावना कमजोर बनेको छ । नेपालले अब आइतबार दुईपटकको विजेता वेस्ट इन्डिजसँग खेल्नेछ । समूहमा इटाली, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा वेस्ट इन्डिजले समान २ अंक जोडेका छन् । नेपाल अंकविहीन छ । 

नेपालको ब्याटिङमा सात चौका र तीन छक्का
टी–२० फर्म्याटको विशेषता नै आकर्षक बाउन्ड्री हो । तर, नेपालका ब्याट्सम्यानले समग्रमा सात चौका र तीन छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले २३ रन बनाउन दुई छक्का हिर्काए । करण केसी १८ रनमा नटआउट हुँदा समान एक छक्का र चौका ठोके । नेपालको ब्याटिङमा आरिफ शेखले २७ रन जोड्न तीन चौका र आसिफ शेखले २० रन बनाउन दुई चौका प्रहार गरेका थिए । फितलो ब्याटिङ गरेको नेपाल इनिङ्सको एक समय ९६/५ को स्थितिमा थियो । थप २३ रन जोड्दा नेपाल अलआउट भयो । नेपालको ब्याटिङमा आसिफ र रोहितबिच दोस्रो विकेटका लागि ३० बलमा ४१ रनको साझेदारी भएको थियो । आरिफ र दीपेन्द्रबिच चौथो विकेट लागि ३९ बलमा ४४ रनको साझेदार भयो ।

मस्का दाजुभाइको नटआउट साझेदारी
नेपालले फितलो ब्याटिङ गरेको पिचमै इटालीका मोस्का दाजुभाइ (एन्थोनी र जस्टिन)ले सानदार प्रदर्शन गरे । उनीहरूले १२४ रनको लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात दिलाउँदै टोलीलाई दश विकेटको जित पनि दिलाए । मोस्का जोडीले पावर प्लेमा ६८ रन बनाउँदै जितको आधार तयार पारे । नेपालका कप्तान रोहितले यो साझेदारी तोड्न ६ बलर प्रयोग गरे पनि सफलता चुम्न सकेनन् । नेपालले ब्याटिङ पावर प्लेमा ४६/१ को प्रदर्शन गरेको थियो । मस्का दाजुभाइले ११औँ ओभरमै आफ्नो अर्धशतक पूरा गरेका थिए । 

लेग स्पिनर सन्दीप लामिछानेले बलिङ गरेको ओभरको चौथो बलमा जस्टिनले १ रन लिँदै अर्धशतक पूरा गरेका थिए । अर्को बलमा सन्दीपविरुद्ध छक्का प्रहार गरी एन्थोनीले पनि अर्धशतक बनाए । जस्टिनले ३७ बलमा ५० र एन्थोनीले २८ बलमा ५० रन बनाए । इटालीले ६५ बलमा सय रनको योगफल बनाएको थियो । जस्टिनले ४४ बलमा तीन छक्का र पाँच चौका प्रहार गरी ६० रनको योगदान दिए । एन्थोनीले ३२ बलमा ६ छक्का र तीन चौका प्रहार गरी ६२ रन बटुले । 

नेपालविरुद्ध स्पिनर हाबी
वानखेडेको पिचमा नेपालको ब्याटिङ इनिङ्सलाई दबाबमा राख्न इटालीका स्पिनर हावी भए । इटालीका स्पिनरले समग्रमा १० मध्ये ६ विकेट लिएका थिए । इटालीका लागि लेग स्पिनर क्रिसन कालुगमागेले सर्वाधिक तीन विकेट लिन चार ओभरमा १८ रन खर्चिए । अफ ब्रेक स्पिनर बेन्जामिन मानेन्टीले चार ओभरमा ९ रन खर्चेर दुई विकेट लिए । कालुगमागेले मैदानमा आफू राष्ट्रलाई जित दिलाउन तत्पर रहेको बताए । ‘मेरो सधैँ एउटै प्रयास उत्कृष्ट प्रदर्शन गरी इटालीलाई जित दिलाउने हो,’ उनले भने, ‘आज यस्तै प्रदर्शन गरेँ ।’ उनले गत जनवरीमा अस्ट्रेलियामा भएको बिगबास लिगमा सिड्नी सिक्सर्सबाट खेलेका थिए । 

बिगबासपछि उनी सिधै इटाली टोलीमा समावेश भएका थिए । टी–२० विश्वकपअघि उनले तीन विकेट लिएका थिए । नेपालविरुद्ध चम्केका अर्का स्पिनर जेजे स्मट्स हुन् । उनले एक विकेट लिए । यसबाहेक पेस बलर अली हसन र जसप्रित अलीले एक–एक विकेट लिए । नेपालका एक खेलाडी रनआउट भए ।  नियमित कप्तान वायन म्याडसने स्कटल्यान्डविरुद्ध पहिलो खेलमा घाइते भएपछि ह्यारीले इटालीको कप्तानी गरेका थिए ।

इटालीले धेरै राम्रो खेल्यो : रोहितकुमार पौडेल, कप्तान, नेपाल
इटालीविरुद्ध आफूलाई प्रमाणित गर्ने दिन थियो, तर त्यसो गर्न सकेनौँ । इटालीलाई पनि जितको क्रेडिट दिनुपर्छ । उनीहरूले साँच्चै राम्रो खेले । उनीहरूलाई पूर्ण श्रेय दिन्छु । इमानदारपूर्वक भन्दा ब्याटिङमा हामी धेरै कमजोरी देखायौँ । सुरुमा ब्याटिङ गर्न निकै गाह्रो थियो । तैपनि १२३ रन त्यति नराम्रो होइन । एक समय हामीले ६०–७० रनमा नै अलआउट हुने अवस्थामा थियो । जुन हाम्रो खराब ब्याटिङकै कारण भयो । यसलाई कुनै बहाना बनाउन मिल्दैन । 

हामीले पिच र कन्डिसनलाई सम्मान गर्न सकेनौँ । सुरुमा हामीले केही हतारो र रिस्की सट खेल्यौँ । मेरो विकेट नै खेलको टर्निङ प्वाइन्ट भयो । मैले र आसिफले राम्रो साझेदारी गर्‍यौँ ।  पावर प्लेमा राम्रो खेल्यौँ, तर म आउट भएपछि सबै कुरा बदलियो । त्यसपछि पनि हामीले राम्रो गर्न सक्थ्यौँ । यो खेल हाम्रा लागि त्यति कठिन थिएन । इंग्ल्यान्डविरुद्ध राम्रो खेलेर उच्चस्तर देखाएपछि यस्तो नतिजा आउनु निराशाजनक भयो ।

हामीले अर्को ऐतिहासिक जित निकाल्यौँ : ह्यारी मानेटी, कप्तान, इटाली
इटालीको क्रिकेट इतिहासमा हामीले अर्को ऐतिहासिक जित निकालेका छौँ । यसअघि विश्वकप छनोटमा यस्तै गरेका थियौँ । आज विश्वकपजस्तो ठुलो स्टेजमा नेपालमाथि सानदार जित दर्ता गरेका छौँ । यो जितले कम्तीमा इटालीमै रहेका हाम्रा समर्थकले हाम्रो प्रतिभा बुझ्नेछन् । विश्वकप सुरु भएदेखि नै प्रत्येक खेलबारे समीक्षा र योजना बनायौँ । नेपालसँग प्रतिस्पर्धा गर्नुअघि पनि उनीहरूले इंग्ल्यान्डविरुद्ध खेलेको विश्लेषण गरौँ । प्रस्ट छ– हामी पहिलोपटक विश्वकपमा छौँ । यहाँ हार वा जित पनि केही गरौँ भन्ने भावनाका साथ आएका हौँ । 

नेपालविरुद्ध मोस्का दाजुभाइले जित दिलाए । उनीहरूले १२४ रनको साझेदारी गर्दै इटालीको इतिहासमा ठुलो जित पनि दिलाउन सफल भए । यद्यपि, उनीहरूभन्दा जेठा छन् । तर, मैदानमा हामी एक–अर्काको सम्मान गर्छौँ । सबै खेलाडी विश्वकपमा पहिलो जित निकाल्दा खुसी छन् । यसलाई आगामी खेलमा पनि निरन्तरता दिनुपर्छ । 

सुझावित समाचार