सगरमाथा अस्पताल र मातहतका केन्द्रबाट ६२ हजार दुई सय ७६ को आँखाको शल्यक्रिया

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल र मातहतका उपचार केन्द्रमा एक वर्षमा ६२ हजार २७६ जनाको आँखाकोे शल्यक्रिया भएको छ । 

मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार सिंहका अनुसार अस्पताल र २० वटा आँखा तथा कान उपचार केन्द्रमार्फत सन् २०२५ मा सात लाख ४२ हजार ८४२ जनाको आँखाको जाँच र ६२ हजार २७६ जनाको शल्यक्रिया गरिएको हो । त्यसबाहेक ३४ हजार सात सय ३९ जना बिरामीको कान जाँचसहित उपचार र चार हजार ८३ जनाको शल्यक्रिया गरिएको उनले बताए । अस्पतालअन्तर्गत सप्तरी, सर्लाही, उदयपुर, महोत्तरी, सिराहा, खोटाङ, धनुषा र ललितपुरमा गरी २० आँखा उपचार केन्द्रमार्फत आँखा तथा कानको जाँच तथा उपचार भइरहेको अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले बताए ।

‘सप्तरीको राजविराज, महोत्तरीको बर्दिवास र जलेश्वर तथा सर्लाहीको मलंगवामा समेत आँखाको शल्यक्रिया हुन्छ,’ बुधबार लहानमा आयोजित ४३औँ वार्षिकोत्सव कार्यक्रममा उनले भने, ‘त्यसबाहेक केन्द्रहरूमा आँखा तथा कानका बिरामीको जाँच गरी शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अस्पतालमा ल्याएर शल्यक्रिया गरिन्छ ।’ 
अस्पतालले जलबिन्दु, कोर्निया, अकुलोप्लाटी बिरामीको आँखा जाँच र शल्यक्रियासहित जेनरल फिजिसियनमार्पmत बिरामीको जाँच, समुदायस्तरमा शिविर सञ्चालन, विद्यालयमा विद्यार्थीको आँखा कान जाँच गरिएको उनले बताए । 

अन्धोपन निवारणका लागि सिराहा, सप्तरी र धनुषाका आठवटा स्थानीय तहसँग समन्वय गरी समुदाय तहमा एक सय १२ वटा शिविरमार्फत पछिल्लो वर्ष २८ हजार सात सय १७ जना बिरामीको आँखा जाँचसहित पाँच हजार नौ सय ३८ जनाको शल्यक्रिया गरिएको छ । 

सन् १९८३ मा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको दुई कोठा लिएर १२ शय्याबाट सुरु गरिएको आँखा अस्पतालका लागि स्थानीय छविलाल चौधरी, सरोवर चौधरी र रवीन्द्रलाल चौधरीले १२ बिघाभन्दा बढी जग्गा दानस्वरूप उपलब्ध गराएका थिए । जग्गा प्राप्तिपछि नेपाल नेत्र ज्योति संघको पहलमा क्रिस्टोफर ब्लाइन्ड मिसन (सिबिएम) जर्मनीको सहयोगमा ५० शय्या क्षमताको आफ्नै भवन निर्माण गरी थालिएको आँखा उपचारमा पछिल्लो समय साढे चार सय शय्या सञ्चालन गरिएको उनले बताए । यो अस्पताल नेपाल नेत्रज्योति संघले सञ्चालन गर्दै आएको छ । 
 

सुझावित समाचार