सुदूरपश्चिम सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई एक–एक लाख रुपैयाँ राहत दिने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई मानवीय सहायतास्वरूप राहत दिने निर्णय गरेको हो।
दुर्घटनामा परी घाइते भएकाहरूको सरकारी अस्पतालमा गरेको उपचार खर्च व्यहोर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिएका छन्।
बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ गइरहेको बस बिहीबार राति पुर्चौडी नगरपालिका– ७, बडगाउँमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा ३४ जना घाइते भएका छन् । २५ जनाको डडेलधुरा अस्पताल, पाँचजनाकाे धनगढीको निसर्ग अस्पताल र चारजनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।