१०औँ संस्करणको आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता आगामी ७ फेब्रुअरीदेखि सुरु हुँदै छ । भारत र श्रीलंकाले संयुक्त रूपमा विश्वकप आयोजना गर्र्दै छन् । आइसिसीले पहिलोपटक सहभागी संख्या बढाएर २० पुर्याएको छ । अघिल्लो संस्करणमा १६ राष्ट्रबिच प्रतिस्पर्धा भएको थियो । यसपटक सहभागी राष्ट्रलाई चार फरक समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ र ‘डी’लाई कठिन मानिएको छ । यी दुवै समूहमा अनुभवी तथा बलिया टेस्ट राष्ट्र छन् । समूह ‘डी’मा साबिक उपविजेता दक्षिण अफ्रिका तथा सन् २०२१ को उपविजेता न्युजिल्यान्ड छन् । गत संस्करणको सेमिफाइनल पक्का गरेको अफगानिस्तान पनि यसै समूहमा छ ।
समूह 'ए'
विश्वकपको यस समूहमा दुई शक्तिशाली राष्ट्र भारत र पाकिस्तान छन् । भारत साबिक विजेता हो । पाकिस्तान एकपटकको पूर्वच्याम्पियन हो । भारत र पाकिस्तानलाई एसोसिएट राष्ट्र नेदरल्यान्ड्स, अमेरिका र नामिबियाले चुनौती दिनेछन् । समूह ‘ए’मा भारत र पाकिस्तानबिचको खेललाई बहुप्रतीक्षित रूपमा राखिएको थियो । तर, पाकिस्तानले भारतविरुद्धको खेल नखेल्ने निर्णय लिएको छ । यसले आइसिसी र आयोजकलाई करोडौँ अमेरिकी डलर घाटा पर्ने देखिन्छ ।
भारतमा पाकिस्तान नजाँदा उसले २ अंक गुमाउनेछ । यसको फाइदा भारतलाई नै हुनेछ । समूहमा अमेरिकालाई कमजोर लिन मिल्दैन । यो समूहको रोमाञ्चक पक्ष भनेको गत संस्करणमा सनसनी नतिजा निकालेका दुई राष्ट्र नेदरल्यान्ड्स र अमेरिका पनि छन् । गत संस्करणमा अमेरिकाले पाकिस्तानलाई स्तब्ध पारेको थियो । सन् २०२४ विश्वकपमा पहिलो अप्रत्याशित नतिजा यही नै थियो ।
यसै नतिजाका कारण अमेरिकाले सुपर एटमा स्थान बनाउँदै सिधै सन् २०२६ को विश्वकपमा स्थान पक्का गरेको थियो । त्यसपछि नेदरल्यान्ड्सले पनि टेस्ट राष्ट्र दक्षिण अफ्रिकालाई हराएको थियो । नामिबियाले भने अहिलेसम्म विश्वकपमा ठुलो जित निकाल्न सकेको छैन । नामिबियाको यो तेस्रो विश्वकप यात्रा हो ।
समूह ‘बी’
विश्वकपको ‘बी’ समूहमा एक किसिमले सबै बलिया छन् । पूर्वविजेताहरू अस्ट्रेलिया र श्रीलंका पनि यही समूहमा छन् । टेस्ट राष्ट्र आयरल्यान्ड र जिम्बावेले समूहमा स्तब्ध नतिजा निकाल्न सक्छन् । आइसिसीले आयोजना गर्ने प्रतियोगितामा अस्ट्रेलियालाई उपाधि दाबेदार टोलीका रूपमा लिने गरिन्छ । एकदिवसीय विश्वकपको सर्वाधिक विजेतासमेत रहेको अस्ट्रेलियाले टी–२० विश्वकप एकपटक मात्र जितेको छ । तर, अस्ट्रेलियालाई समूह चरण पार गर्न त्यति सहज छैन । श्रीलंका र आयरल्यान्ड प्रमुख प्रतिद्वन्द्वीका रूपमा देखिएका छन् । जिम्बावे पछिल्लो समयमा उत्कृष्ट फर्ममा छैन । तर, अन्तर्राष्ट्रिय खेलका अनुभवी जिम्बावेले अस्ट्रेलिया, आयरल्यान्ड र श्रीलंकालाई चुनौती दिन सक्छ ।
सन् २०१४ को विजेता श्रीलंका एसियाली भूमिमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । सन् २०१४ को संस्करणको विजेता श्रीलंकाको पहिलो लक्ष्य नै सुपर एट हुनेछ । आइसिसीबाट पछिल्लोपटक टेस्ट राष्ट्रको दर्जा पाएको आयरल्यान्डले अक्सर विश्वकप प्रतियोगितामा शक्तिशाली राष्ट्रलाई पाखा लगाएको छ । यसपटक पनि आयरल्यान्डले यस्तै नतिजा निकाल्न प्रयास गर्नेछ । एसोसिएट राष्ट्रमा ओमान पनि राम्रो छ । ओमानको शक्ति नै स्पिन बलिङ हो । भारत तथा श्रीलंकाली पिचमा ओमानका स्पिनरले आशातीत प्रदर्शन गर्ने अपेक्षा छ ।
समूह ‘सी’
यो समूहमा पनि दुईपटकका पूर्वविजेताहरू इंग्ल्यान्ड र वेस्ट इन्डिज छन् । विश्वकपको ‘ड्र’अनुसार समूह ‘सी’को प्रतिस्पर्धा रोमाञ्चक हुने देखिन्छ । सुरुमा यस समूहमा बंगलादेश पनि थियो । तीन टेस्ट राष्ट्रविरुद्ध नेपालसँगै पहिलोपटक विश्वकपमा डेब्यु गरेको इटालीले चुनौती दिने अपेक्षा गरिएको थियो । तर, बंगलादेशले आफ्ना खेलाडीको सुरक्षा देखाउँदै भारतमा गएर विश्वकप नखेल्ने र त्यसको सट्टा श्रीलंकामा गएर प्रतिस्पर्धा गर्ने अडान राख्यो । जसका कारण आइसिसीले कारबाहीस्वरूप बंगलादेशको स्थानमा वरीयताका आधारमा स्कटल्यान्डलाई मौका दियो ।
त्यसकारण स्कटल्यान्ड भाग्यमानी राष्ट्र बनेको छ । युरोपियन छनोटमा इटालीसँग पराजित हुँदै स्कटल्यान्ड बाहिरिएको थियो । चिट्ठा परेको स्कटल्यान्डले अन्तिम समयमा टोली घोषणा गरेको छ । टी–२० फम्र्याटमा इंग्ल्यान्ड र वेस्ट इन्डिज सधैँ अलराउन्डरले भरिएको टोली हुन् । यस फम्र्याटमा यी दुवै राष्ट्रका खेलाडी अति नै आक्रामक हुने गर्छन् । जसका कारण उनीहरूको खेलमा दर्शकले मजा लिन्छन् ।
उनीहरूलाई सबैभन्दा डर नै एसोसिएट राष्ट्रबिचको प्रतिस्पर्धा हुन सक्छ । किनभने स्कटल्यान्ड र नेपाल विपक्षीलाई अन्तिमा समयसम्म चुनौती दिन सक्ने एसोसिएट राष्ट्रमा पर्छन् । फेरि नेपालको गत संस्करणको प्रदर्शन कसले बिर्सन सक्छ ? गत संस्करणमा नेपाल दक्षिण अफ्रिकासँग केवल १ रनले चुकेको थियो । अर्को खेलमा नेपालले अन्तिम समयसम्म बंगलादेशलाई जितका लागि संघर्ष गराएको थियो । समग्रमा तेस्रोपटक विश्वकपमा सहभागी भएको नेपाललाई यस समूहमा ‘डार्क हर्स’रूपमा लिएको छ । इटालीले आफ्नो पहिलो सहभागितामा कम्तीमा स्कटल्यान्ड र नेपाललाई चुनौती दिने लक्ष्य राखेको छ ।
समूह ‘डी’
यस विश्वकपमा समूह ‘डी’लाई सर्वाधिक कठिन मानिन्छ । यो समूहमा दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तानबिच त्रिकोणात्मक भिडन्त हुने पक्का छ । वरीयता र अन्तर्राष्ट्रिय सहभागिता हेर्दा दक्षिण अफ्रिका र न्युजिल्यान्ड सर्वाधिक बलियो राष्ट्र हुन् । तर, अफगानिस्तान उनीहरूलाई चुनौती दिन सक्ने एक मात्र टोली हो । क्यानडाको दोस्रो र युएईको तेस्रो विश्वकप सहभागिता हो ।
यसकारण यस समूहमा दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तानमध्ये दुई टोली सुपर एटको सम्भावित राष्ट्रका रूपमा छन् । गत संस्करणको फाइनलमा दक्षिण अफ्रिका भारतसँग पराजित भएको थियो । न्युजिल्यान्डले २०२१ को फाइनल खेलेको थियो । सन् २०२४ मा अफगानिस्तानले अप्रत्याशित रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । क्यानडाले पहिलोपटक गत संस्करणमा डेब्यु गरेको थियो । पहिलोपटकको विश्वकप खेल्दा क्यानडाले गतिलो प्रदर्शन गर्न सकेन । आफ्नो समूहमा क्यानडाले ब्याटिङ र बलिङमा खराब प्रदर्शन गरेको थियो ।
यसपटक भने क्यानडाले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा छ । एसियाली राष्ट्र युएई भने एसोसिएटमा राम्रो नै छ । युएईले एसोसिएट राष्ट्रको प्रतिनिधित्व गर्दै टेस्ट राष्ट्रलाई चुनौती दिने क्षमता राख्छ । यसपटक आइसिसी विश्वकप लिग १ मा युएईले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । खेलाडीहरू उत्कृष्ट फर्ममा रहँदा युएईले टेस्ट राष्ट्रलाई चुनौती दिन सक्ने अनुमान छ । विश्व क्रिकेट इतिहासमा दक्षिण अफ्रिकालाई अभागी राष्ट्र मानिन्छ । अहिलेसम्म आइसिसीले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पनि दक्षिण अफ्रिकाले उपाधि जित्न सकेको छैन । गत संस्करणको फाइनलमा दक्षिण अफ्रिका नर्भसको सिकार भएको थियो ।
– आइसिसीको सहयोगमा