समृद्धि स्कुलले सातौँ डिएभी प्लस टु अन्तरकलेज सिक्स ‘ए’ साइड छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेलमा आइतबार भएको फाइनलमा समृद्धिले हेराल्ड इन्टरनेसल कलेजलाई ३–१ ले पराजित गर्यो । समृद्धिका सौगात रानामगर, क्याप्टेन बोगटी र डेनियल सेनले समान एक गोल गरे ।
उपाधिसँगै समृद्धिले तीन लाख तथा हेराल्डले दुई लाख रुपैयाँ पुरस्कार पाए । समृद्धिका कप्तान बोगटी उत्कृष्ट खेलाडी तथा हेराल्डका नीराजन मगर उत्कृष्ट गोलरक्षक घोषित भए । एआइटिएम कलेजका सुशन बलामी सर्वाधिक गोलकर्ता बने । विजेतालाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडियाले पुरस्कृत गरे । तीन दिनसम्म चलेको प्रतियोगितामा ४० टोली सहभागी थिए ।