नेपाल सोतोकान कराँते संघको आयोजनामा आगामी शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराँते प्रतियोगिता भक्तपुरमा हुने भएको छ।
सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा थिमी नगरपालिका–२ मा प्रतियोगिता हुने भएको हो। दुईदिने प्रतियोगितामा काता र कुमुतेमा क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्फ प्रतिस्पर्धा हुने छ।
कुल ४९ जिल्लाबाट पाँच सय खेलाडी छनोट गरी प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागिएको नेपाल सोतोकान कराँते संघका संस्थापक र अध्यक्ष हेमकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए। कुमुतेको मिनी सब जुनियर (५–९ वर्ष)तर्फ १५ केजी, २० केजीमूनि, २५ वर्षमुनि, ३० वर्षमुनि, ३५ वर्षमुनि र ३३ वर्षमुनि प्रतिस्पर्धा हुनेछन्।
यसै उमेर समूहमा गर्ल्स र ब्वाइजको एकल कातामा पनि प्रतिस्पर्धा हुने छ। सब जुनियर (१०–१२ वर्ष उमेर समूह) काता र कुमुतेमा पनि खेल हुने छ। यसै उमेर समूहमा ब्वाइजमा खुलातर्फ कुमुते र एकल काता प्रतिस्पर्धा हुने छन्। क्याडेट (१३–१५ वर्ष) कुमुतेतर्फ महिला पाँच तौल समूह र ब्वाइजमा आठ तौल समूहमा खेल हुनेछ। क्याडेटमा नै एकल काता (महिला र पुरष) तथा खुला कुमुतेमा प्रतिस्पर्धा हुनेछन्।
जुनियर कुमुते (१६–१८ वर्ष)तर्फ पुरुषमा ६ तौल समूह र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा गराइनेछ। यसै उमेर समूहमा पुरुषतर्फ खुला कुमुते हुने आयोजकले जनाएको छ।
सिनियर कुमुते (१९–४० वर्ष) महिलामा ६ तौल र पुरुषमा सात तौल समूहमा प्रतिस्पर्धा हुने छ। भेट्रान (४० वर्षमाथि) एकल काता र कुमुतेमा महिला र पुरुषमा प्रतिस्पर्धा हुनेछन्। महिला टिम खुला र पुरुष टिम कातामा खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले ट्रफी प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट फाइटरलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।