धनकुटा कारागारका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण

मंगलबार, १३ माघ, २०८२
डिजिटल संस्करण

जिल्ला कारागार धनकुटाका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । सो कारागारमा रहेका १८५ जना कैदीबन्दीको क्षयरोग (टिबी) र एचआइभी परीक्षण गरिएको हो ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको स्वास्थ्य शिविरमा अत्याधुनिक एआई प्रविधियुक्त मेसिनबाट छातीको एक्सरे गरी क्षयरोग परीक्षण गरिएको थियो। परीक्षणको क्रममा १० जना कैदीबन्दीमा क्षयरोगको सम्भावित लक्षण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले बताए । लक्षण देखिएका कैदीबन्दीको खकार संकलन गरी थप परीक्षणका लागि प्रयोगशाला पठाएको छ भने उनीहरूको आवश्यक उपचार प्रक्रिया पनि तत्काल अघि बढाइने पनि क्षयकुष्ठ अधिकृत गुरागाईंले बताए । उनीहरूको उपचार निःशुल्क हुनेछ ।

कारागार, वृद्धाश्रम, पुनर्स्थापना केन्द्रजस्ता भिडभाडयुक्त र बन्द वातावरण भएका स्थानमा क्षयरोगको उच्च जोखिम हुने गर्दछ । विशेषगरी ६० वर्षमाथिका व्यक्तिहरूमा क्षयरोगको जोखिम हुने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसका साथै लामो समयसम्म एकै ठाउँमा बस्नुपर्ने, पोषणको कमी, धूम्रपान, मदिरा सेवन तथा स्वास्थ्य सेवामा पहुँच नभएको अवस्थामा पनि क्षयरोगको संक्रमण हुने गर्दछ । यसैगरी कैदीबन्दीहरूको एचआइभी परीक्षण पनि गरिएको छ । परीक्षण गरिएका सबैको रिपाेर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

 

सुझावित समाचार