मकवानपुरका दुवै क्षेत्रमा एमाले उम्मेदवारकाे टुंगाे, १ मा राना र २ मा बर्तौला

आइतबार, ४ माघ, २०८२
डिजिटल संस्करण

एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य रामेश्वर राना र क्षेत्र नम्बर २ बाट निवर्तमान सांसद महेशकुमार बर्तौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

मकवानपुर २ बाट उम्मेदवार बनेका बर्तौला यसअघि ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। पहिलोपटक प्रतिनिधिसभा चुनाव लडेका बर्तौलाले पाँचदलीय गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडालाई करिब चार हजार मतान्तरले पराजित गर्दै सानदार जित हासिल गरेका थिए। यसपटक पनि त्यही लयलाई निरन्तरता दिने लक्ष्यसहित एमालेले उनलाई पुनः उम्मेदवार बनाएको हो।

यस क्षेत्रमा संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीको नाम पनि उम्मेदवारका रूपमा सिफारिस भएको थियो। तर, विगतको निर्वाचन परिणाम, संगठनात्मक पकड र संसदीय अनुभवलाई आधार मानेर पार्टीले बर्तौलालाई नै दोहोर्याउने निर्णय गरेको स्रोतको भनाइ छ।

उता मकवानपुर १ मा भने एमालेले गुमेको साख फिर्ता ल्याउने रणनीतिसहित यसपटक आफ्नै पार्टीका नेता रामेश्वर रानालाई मैदानमा उतार्ने भएको छ। ०७९ को निर्वाचनमा एमालेले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको थियो। तर, उक्त निर्वाचनमा राप्रपाका उम्मेदवार दीपकबहादुरसिंह विजयी हुँदा थापा तेस्रो स्थानमा सीमित भएका थिए।

लगातार जित्दै आएको क्षेत्र गुमेपछि एमालेले यसपटक बाहिरी दललाई उम्मेदवार बनाउने रणनीति त्याग्दै आफ्नै संगठनभित्रको अनुभवी नेतामा भरोसा गरेको हो। केन्द्रीय सदस्य रानालाई टिकट दिएर मकवानपुर १ मा पुनः पार्टीको पकड मजबुत बनाउने एमालेको लक्ष्य रहेको नेताहरू बताउँछन्।

मकवानपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। ०७४ सालको निर्वाचनमा एमालेले दुवै क्षेत्रमा जित हासिल गरेको थियो। त्यसवेला क्षेत्र नम्बर १ बाट कृष्णप्रसाद दाहाल र क्षेत्र नम्बर २ बाट विरोध खतिवडा निर्वाचित भएका थिए। दाहालले तत्कालीन राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गरेका थिए भने खतिवडाले कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई हराएका थिए।

तर,०७९ को निर्वाचनसम्म आइपुग्दा राजनीतिक समीकरण फेरियो। खतिवडा एमालेबाट विभाजित भई बनेको तत्कालीन नेकपा (एकीकृत समाजवादी)मा लागेपछि पाँचदलीय गठबन्धनका साझा उम्मेदवार बने। तर, उनी आफ्नै पार्टीका पूर्वकार्यकर्ता तथा चेला मानिने महेशकुमार बर्तौलासँग पराजित भए।

सुझावित समाचार