आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका तीन लाख १५ हजारभन्दा बढी मतदाताले मतदान गर्नेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाता संख्या तीन लाख १५ हजार ३३४ पुगेको छ ।
निर्वाचन कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यका अनुसार ०७९ पछि जिल्लामा १४ हजार ६०१ मतदाता थपिएका छन् । सबैभन्दा बढी हेटौँडा उपमहानगरमा सात हजार १६३ मतदाता थपिएका छन् । मनहरी गाउँपालिकामा एक हजार ४६८, थाहा नगरपालिकामा एक हजार ४१५, बागमती गाउँपालिकामा ८४०, बकैया गाउँपालिकामा ८१७, मकवानपुरगढी गाउँपालिकामा ७५४, भीमफेदी गाउँपालिकामा ६९३, इन्द्रसरोवर गाउँपालिकामा ३७३, कैलाश गाउँपालिकामा ३६३ र राक्सिराङ गाउँपालिकामा २३५ मतदाता थपिएका छन् ।
मतदाता संख्या वृद्धि भएसँगै जिल्लामा मतदान केन्द्र पनि थप गरिएको छ । मतदानस्थल साबिककै कायम राखिए पनि मतदान केन्द्र १० वटा थप गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए । मतदाता विवरणअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता छन् । जिल्लाभर महिला मतदाता एक लाख ५३ हजार ३७६, पुरुष १ लाख ६१ हजार ९५३ र अन्य ५ जना छन् । अद्यावधिक तथा दाबी–विरोधका क्रममा मतदाता सूचीबाट ८८४ नाम हटाइएको निर्वाचन कार्यालयले जनाएको छ । मृत्यु भएका २१ जना तथा दोहोरो नाम रहेका ६८३ जनाको नाम सूचीबाट हटाइएको हो ।
मकवानपुरमा १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र तोकिएका छन् । यसअघि ३६४ मतदान केन्द्र थिए । जिल्लाका १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा १० स्थानीय तहमध्ये ६ स्थानीय तहका मतदानस्थल अति संवेदनशील सूचीमा परेका हुन् । निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र रहेका छन् । प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार जिल्लाभर १६७ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएका छन् । अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा २६ मतदान केन्द्र छन् ।
सबैभन्दा धेरै बकैया गाउँपालिकामा पाँच मतदानस्थल र सात मतदान केन्द्र अति संवेदनशील छन् । राक्सिराङ गाउँपालिकामा ६ मतदान स्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा पाँच मतदानस्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा एक मतदानस्थल र तीन मतदान केन्द्र, मनहरी गाउँपालिकामा एक मतदानस्थल र तीन मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा एक मतदानस्थल र एक मतदान केन्द्र अति संवेदनशील मानिएका छन् ।