अन्तरिम सरकारमा तीन महत्त्वपूर्ण मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिँदै भोलिदेखि नै राजनीतिमा सक्रिय हुने घोषणा गरेका छन् । २३ र २४ भदौको जेन–जी आन्दोलनपछि २८ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारमा ३० भदौमा घिसिङ मन्त्री नियुक्त भएका थिए ।
उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बनेका थिए । उनले बुधबार राति प्रधानमन्त्री कार्कीलाई राजीनामापत्र बुझाएका हुन् । राजीनामापत्र बुझाएपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै घिसिङले अब राजनीतिक जीवनमा सक्रिय हुने बताए । भोलिदेखि नै राजनीतिक जीवनमा सक्रिय हुने उनको घोषणा छ ।
कुलमानले राजनीतिमा आउने उद्देश्यसहित आफू संरक्षक रहेर पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । नागरिक सरकारबाट बाहिरिएपछि सोही पार्टीको नेतृत्व लिएर चुनाव लड्ने योजना घिसिङको थियो । सोही क्रममा गत ४ पुसमा उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच एकता गर्ने सहमति भएको थियाे । कुलमान घिसिङ रास्वपामा पहिलो वरीयताको उपसभापित हुने भनेर सहमतिपत्रमै उल्लेख छ । त्यसपछि नागरिक सरकारमा पार्टीका व्यक्ति मन्त्री भएको भनेर आलोचनासमेत भएको थियो । त्यसपछि कुलमानले पदबाट राजीनामा दिएका हुन् ।
यसबिचमा मन्त्री घिसिङले सिँचाइ, सडक तथा सहरीतर्फ ७० भन्दा बढी रुग्ण ठेक्का तोडेका थिए । माथिल्लो अरुण, बुढीगण्डकी, किमाथांका अरुणजस्ता ठुला जलविद्युत् परियोजना स्वदेशी लगानीमै बनाउने गरी प्रक्रिया अघि बढाएका थिए ।