संखुवासभाको मकालु गाउँपालिका–३ स्थित हेदाङ्नामा नेपाल प्रहरीको इलाका कार्यालय भवनको उद्घाटन भएको छ। आज (बुधबार) एक कार्यक्रमबिच इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभाको नवनिर्मित कार्यालय भवनको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले रिबन काटेर उद्घाटन गरेका हुन् ।
भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी घिमिरेले इलाका कार्यालयबाट नागरिकले प्राप्त गर्ने प्रहरी सेवा प्रवाह सहज हुने बताए । उनले सुविधासम्पन्न भवनबाट सहज सेवा हुनाका साथै अपराध नियन्त्रण तथा अनुसन्धान कार्य थप प्रभावकारी हुने बताए । ‘प्रहरी सधैँ समुदायसँगको सहकार्य अघि बढेको छ र जनचेतना अभिवृद्धि कार्यक्रमलाई प्रभावकारी बनाइने तथा प्रहरीको दैनिकीसमेत सहज रूपमा सम्पादन हुने उपस्थित सम्पूर्णमा विश्वास दिलाउन चाहन्छु।’ घिमिरेले भने थपे, ‘हिमाली तथा पहाडी भू–भाग र दुर्गम बस्ती भएको यस क्षेत्रमा शान्तिसुरक्षा प्रदान गरी सुरक्षित समाज निर्माण गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहेको छ।’
इलाका प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई कर्तव्यनिष्ठ, अनुशासित, इमानदार र सेवाभावका साथ नागरिकको मनोभावनालाई उच्च सम्मान गर्दै प्रहरी सेवामा प्रदान गर्न डिआइजी घिमिरेले निर्देशन दिए ।
कार्यक्रममा भवन निर्माणका लागि जग्गादाता गौरीमाया पराजुली, रन्जित पराजुली, सेरबहादुर राई र श्रीबहादुर राईलाई दोसल्ला ओढाई सम्मान गरेका थिए। उक्त कार्यक्रममा संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पा, भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटे, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सञ्चारकर्मी, स्थानीयबासीलगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
उक्त नवनिर्मित भवनमा १६ कोठा भएको अढाईतले रहेको छ । उक्त भवन ३ करोड २० लाख ८६ हजार ३५७ रुपैयाँको लागतमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानएको छ ।