पर्यटकीय सहर पोखरामा २२औँ स्पोर्टस् अवार्ड

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण

२२औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड पहिलोपटक काठमाडौंबाहिर हुँदै छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अवार्डको दायरा फराकिलो पार्ने क्रममा मोफसलमा आयोजना गर्न लागेको हो । मञ्चले आयोजक सहरका रूपमा पोखरा छानेको हो । नेपालको खेलकुद इतिहासमा पोखरालाई खेलकुदकै हब भनिन्छ । पोखरामा राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरका विभिन्न खेल आयोजना हुँदै आइरहेका छन् ।

एक किसिमले पोखरामा वर्षभरि नै खेलकुदका केही न केही गतिविधि भइरहन्छन् । यस्तोमा स्पोर्टस् अवार्ड पोखरामा पुग्दा यसले आन्तरिक पर्यटकसमेत वृद्धि हुने अवसर छ । पोखरामा अवार्ड हुनुको अर्थ के हो खोज्न सजिलो छ । घरेलु खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता राष्ट्रिय खेलकुद हो । पहिलो संस्करणको राष्ट्रिय खेलकुद ०३८ सालमा भएको थियो । पोखराले दोस्रो संस्करणको राष्ट्रिय खेलकुद आयोजना गर्ने अवसर पायो । अहिले पनि राष्ट्रिय खेलकुदको इतिहास हेर्नुपर्छ, चार दशकभन्दा बढी समयअगाडि पोखरामा भएको त्यो प्रतियोगिता खुसी र गर्वले सम्झनेहरू धेरै छन् ।

पोखरामा ०७९ मा पनि नवौँ राष्ट्रिय खेलकुदको आयोजना भएको थियो । राष्ट्रिय प्रतियोगिताको मूल आयोजक राष्ट्रिय खेलकुद परिषद् थियो । तर, पोखरा त्यसको मुख्य आधारस्थल थियो । पोखरा नेपाली खेलकुदको केन्द्र हो । पोखरामा विशाल भौतिक संरचनाहरू रहेका छन् । मोफसलमा खेलकुदका सुविधासम्पन्न भौतिक पूर्वाधार पोखरामा मात्र छन् । अन्य क्षेत्रमा पाउन मुस्किल पर्छ । केही खेल पोखरामै मात्र हुन सक्ने स्थितिसमेत छ । पोखरामा केही साहसिक खेलहरू चर्चित छन् । सबैभन्दा अगाडि ट्रायथलन र प्याराग्लाइडिङ हुन् ।

खेल गतिविधि बढाउने मौका
अवार्ड मोफसलमा पुगेपछि यसले एकातर्फ नेपाली खेलकुदको महत्व नजानिँदो तरिकाले बढ्नेछ । अर्कोतर्फ आमखेलाडीलाई स्टार हुनुको महत्व पनि थाहा हुनेछ । मोफसलमा अवार्ड कार्यक्रम हुँदा त्यस क्षेत्रका खेलाडीले स्टारडम महसुस गर्नेछन् । यसैका लागि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित हुनेछन् । यसपल्टको अवार्ड कार्यक्रम पोखरामा हुनुमा महत्वपूर्ण भूमिका खेल्नेमा पर्छन्, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य । उनी आफैँ नेपाली खेलकुदलाई मन पराउने व्यक्ति हुन् । पोखरामा अहिलेसम्म धेरैखाले गतिविधि भएका छन् । पोखरामै सन् २०१९ मा १३औँ दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो । यहाँ उत्तिकै संख्यामा साहित्य महोत्सव, कन्सर्ट धेरै भएका छन् । पोखराले केही असाध्यै नाम चलेका खेलाडी पनि जन्माएको छ । तिनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन् । यस्ता खेलाडीको सूची बनाउने हो भने त्यो लामो हुने निश्चित छ ।

एनएसजेएफ पल्सर अवार्ड कार्यक्रम पोखरामा भएपछि अब यस्तैखाले कार्यक्रमको बाटो पनि खुलेको छ । अब पोखराले भन्नेछ, ‘यो सहर ठुला–ठुला अवार्ड कार्यक्रम आयोजना गर्न तयार छ ।’ सम्भवत: यसपल्टको स्पोर्टस् अवार्डले कालान्तरमा छाड्न सक्ने भाष्य भनेकै यही हो । पोखरेली समाज भन्नु नै खेलकुदलाई मन पराउनेमा पर्छ । 

सुझावित समाचार