पाँच महिनाअघि नै निर्वाचनको तयारीमा एन्फा

जिल्ला र प्रदेशको निर्वाचनविना २८ माघमा केन्द्रको चुनावी साधारणसभा गर्ने एन्फाको निर्णय

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले २८ माघमा चुनावी साधारणसभा गर्ने निर्णय गरेको छ । एन्फा मुख्यालयमा बुधबार भएको कार्यसमिति बैठकले झापामा चुनावी साधारणसभा गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले बताए । एन्फाले विधानको धारा ३१ (त)को निर्वाचन व्यवस्थाबमोजिम साधारणसभाको एजेन्डामा निर्वाचन गर्ने निर्णय गरेको हो । 

यो धारामा टेक्दा एन्फाको निर्णय व्यावहारिक देखिँदैन । सो धारामा कार्यसमितिका कुनै एक पदाधिकारी नहुँदा मात्र निर्वाचन गर्नुपर्ने उल्लेख छ । ‘अध्यक्ष, उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरू (यदि नभएमा) निर्वाचन,’ धारा ३१ (त)मा उल्लेख छ । अहिले एन्फाका २१ सदस्यीय पदाधिकारीमध्ये कुनै पनि पद रिक्त छैन । अध्यक्षमा उम्मेदवारी दिएका वर्तमान उपाध्यक्ष विराटजंग शाहीसहित अन्य पदाधिकारीले जिल्ला र प्रदेशको चुनाव नहुँदा चारवर्षे कार्यकाल समाप्तिपछि चुनावी साधारण् सभाको प्रस्ताव बैठकमा राखेका थिए । वर्तमान कार्यसमितिको कार्यकाल आगामी ४ असारमा सकिँदै छ । उपाध्यक्ष शाही र दीर्घबहादुर केसी, सदस्य रूपेश अधिकारी तथा खेलाडी संघका अध्यक्ष विक्रम लामालगायत आठ पदाधिकारीले असन्तुष्टि जनाए पनि अध्यक्ष पंकजविक्रम नेम्वाङले बहुमत सदस्यबाट चुनावको मिति घोाषणा गरे । 

गत ५ असार ०७९ मा नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । उनी नेतृत्वको कार्यकाल आगामी ४ असारमा पूरा हुनेछ । उनले जिल्ला फुटबल संघ र प्रदेशहरूको चुनाव नगरी केन्द्रको ‘अर्ली इलेक्सन’ गर्न लागेका हुन् । एन्फामा आबद्ध ४९ जिल्ला संघ मतदाता हुन् । ‘जिल्ला र प्रदेशको निर्वाचनपछि केन्द्रको चुनाव गर्न प्रस्ताव राख्यौँ,’ शाहीले भने, ‘अहिले विदेश भ्रमण गराएका पदाधिकारी नै जिल्लाको निर्वाचनबाट छनोट नहुने देखिएपछि अर्ली चुनावतर्फ जानुभयो ।’ 

विधानविपरीत निर्णय 
एन्फा विधानको धारा ३१ (त)मा निर्वाचनसम्बन्धी व्यवस्था उल्लेख छ । यसमा साधारणसभाको एजेन्डामा निर्वाचन गर्ने निर्णय गरेको खुलाएको छ । अध्यक्ष, उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरू (यदि नभएमा) निर्वाचन गर्न सकिने उल्लेख छ । विधानविपरीतको निर्णयलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कसरी हेर्छ भन्ने अर्काे प्रश्न छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा छन् । एन्फाको विधान र ऐनविपरीत कार्य गरेको भन्दै गत १४ कात्तिकमा उनलाई अर्काे साधारणसभासम्म सहभागी हुन नपाउने निलम्बन गरिएको होे । ‘मलाई आगामी साधारणसभासम्म निलम्बन गरिएको भनिएको थियो । तर, यो चुनावमा जान नदिन थियो । म अदालत जान्छु,’ खड्काले नयाँ पत्रिकासँग भने ।

राखेपले कसरी लिन्छ ?

विराटजंग शाही, उपाध्यक्ष, एन्फा
उहाँहरू (नेम्वाङ पक्ष) पहिला विश्वकपपछि निर्वाचन गर्ने तयारीमा हुनुहुन्थ्यो । साथीबाट मत आफ्नो पक्षमा नआउने संकेतपछि अगाडि नै निर्वाचन गर्ने पक्षमा जानुभयो । पहिला जिल्ला र प्रदेशको निर्वाचन हुनुपर्छ । यस्तो कार्यलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि हलुका रूपमा लिनुहुँदैन । 

यो निर्णय व्यावहारिक छैन :  रूपेश अधिकारी, केन्द्रीय सदस्य, एन्फा
हामीले जिल्ला र प्रदेशको निर्वाचन गरेर मात्रै केन्द्रको चुनाव गर्न प्रस्ताव राख्यौँ । अहिले विदेश भ्रमण गराएका पदाधिकारी नै जिल्लाको निर्वाचनबाट छनोट नहुने देखिएपछि तत्काल अर्ली चुनावको पक्षमा उहाँहरू जानुभयो । यो निर्णय वैधानिक र व्यावहारिक छैन ।

विधानअनुसारै निर्णय भएको हो : सुरेश शाह, प्रवक्ता, एन्फा
एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले विधानअनुसारै चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो । एन्फाको विधानको धारा ३१ (त) को निर्वाचन व्यवस्थाबमोजिम साधारणसभाको एजेन्डामा निर्वाचन गर्ने निर्णय छ । 

See More On

सुझावित समाचार