काठमाडौं महानगरपालिकाले पछिल्लो समय ऐतिहासिक ढुंगेधारा ब्युँताउन लागेसँगै स्थानीयलाई खानेपानीमा सहज हुन थालेको छ । महानगरपालिकाले गएको वर्ष मात्रै २० भन्दा बढी ढुंगेधारा ब्युँताएको थियो । गत वर्ष महानगरपालिकाले पुरानै अवस्थामा फर्काएको ढुंगेधारामध्ये एक हो, काठमाडौं महानगर– २१ यंगालको योगा हिटी । यो धाराबाट ५ दशकपछि पानी आउने बनाइएको हो । हाल यसबाट कलकल पानी आउने गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार ऐतिहासिक ढुंगेधारालाई पुरानै अवस्थामा फर्काउन महानगरपालिकाले अध्ययन गर्दै गत वर्षदेखि काम थालेको थियो ।
अध्ययनका क्रममा मल्लकालीन, लिच्छविकालीनलगायत कालखण्डमा बनेका कतिपय पुरिएका हिटी पनि भेटिएका थिए । त्यसमध्येको एउटा हिटी यंगालको योगा हिटी हो । यो हिटीमा ५० वर्षपछि पानी आउन थालेपछि स्थानीयवासीलाई खानेपानीमा सहज हुने गरेको छ । ‘अहिले यस क्षेत्रको धारामा पानी आउन थालेपछि सहज हुन थालेको छ,’ वडा नम्बर २१ का इन्द्र सापकोटाले भने, ‘ढुंगेधाराबाट पानी आउन थालेपछि इनारबाट पानी झिक्न छाडेका छौँ ।’
महानगरपालिकाका अनुसार हाल काठमाडौंमा थुप्रै ढुंगेधारा भए पनि ६० प्रतिशतमा पानी आउँदैन । २० प्रतिशत ढुंगेधारा लोप भइसकेका छन् । तिनको खोजी भइरहेको महानगरपालिकाले जनाएको छ । हाल महानगरमा रहेका ढुंगेधारामध्ये ६० प्रतिशतमा पानी नआउने, हराउने र नभेटिनेजस्ता समस्या भएको सम्पदा विभागले जनाएको छ । खानेपानी तथा सम्पदा क्षेत्रमा काम गर्दै आइरहेको अलान फाउन्डेसनले एक वर्षअघि तयार पारेको रिपोर्टअनुसार महानगरभित्रका १५४ ढुंगेधारामध्ये ६१ वटामा मात्र पानी आएको भेटिएको थियो । उक्त अध्ययनका क्रममा महानगरका सबै ढुंगेधाराको स्थलतगत अध्ययन गरिएको थियो ।
अध्ययनका क्रममा ५० वटा मा कहिल्यै पानी नआउने भेटिएको थियो भने १० वटा संकटमा परेका (लोप हुन लागेको अवस्थामा) रहेको पाइएको थियो । त्यस्तै, २१ वटा हराएका पत्ता लागेका थिए भने १२ वटा फेला नपरेको (नभेटिएको) पाइएको थियो । अध्ययनका क्रममा १२१ हिटी भौतिक रूपमा भेटिएका थिए । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले पछिल्लो समय ढुंगेधारामा पानी आउने स्थिति बनाउनका लागि स्थानीय, महानगर र विभागले समन्वय गरिरहेका छन् । केही समयअघि मात्रै कोटेश्वरमा पुरिएको अवस्थामा रहेको ढुंगेधारा ब्युँताउन विभागले विज्ञ टोली खटाएको थियो । त्यहाँ उत्खनन भनेर धारा ब्युँतिने अवस्थामा छ । ‘हामीले सकेसम्म पुराना ढुंगेधाराको इतिहास फर्काउन खोजिरहेका छौँ,’ उनले भनिन्, ‘तर, सबैतिर एकैपटक काम गर्न बजेट पुग्दैन, हरेक वर्ष ढुंगेधारामा हामीले बजेट थप्दै काम गरिरहेका छौँ ।’ उनका अनुसार उपत्यकाका कतिपय स्थानहरूमा ढुंगेधारा पुरिएको प्रमाणसहित विभागलाई जानकारीसमेत आएका छन् । त्यसमा विज्ञ टोली पुगेर अध्ययन र उत्खननको तयारीसमेत गरेको छ । ढुंगेधारामा पछिल्लो समय स्थानीय तहहरूले बजेट छुट्याए पनि कतिपयमा पानी आउन कठिन देखिएको छ । काठमाडौं महानगरपालिकाले पनि गत वर्ष १० वटा हाराहारी ढुंगेधारा उत्खनन गरेकोमा पानी नआउने भएपछि ती ढुंगेधारा बनाउने वा नबनाउने भन्नेमा दोधारसमेत भएको छ ।
महानगरपालिकाले चालू आर्थिक वर्षमा ढुंगेधारा मर्मतका लागि मात्रै २५ करोड ३० लाख बजेट विनियोजन गरेको थियो । यो वर्ष नै महानगरले सिनामंगलमा दुईवटा ढुंगेधारामा पानी आउने बनाएको छ । ढुंगेधारामा पानी आउन थालेपछि ओहोरदोहोर गर्नेहरूले ढुंगेधाराको पानी पिउने गरेका छन् भने आसपासका स्थानीयवासीले ढुंगेधाराको पानी प्रयोग गरेका थिए । काठमाडौं सिनामंगलका रमेशमान शाक्यले ढुंगेधारामा पानी आउन थालेपछि स्थानीयलाई खानेपानीमा सहज भएको बताए । ‘काठमाडौं महानगरपालिकाले ढुंगेधारामा पानी ल्याउन पहल गरिरहेको छ, कतिपय ढुंगेधारा बनाएको छ, हामीलाई सहज भएको छ, ढुंगेधारामा पानी आउन थालेपछि सहज हुन थालेको छ, यसका कारण जमिनको पानी जथाभावी झिक्न पर्दैन, यो राम्रो हो, अन्य ढुंगेधारामा पानी आउने अवस्था बनायो भने स्थानीयलाई राहत हुन्छ,’ उनले भने, ‘महानगरपालिकाले पछिल्लो समय ढुंगेधाराहरू ब्युँताउने गरी गरेको काम निकै सराहनीय छ, अन्य स्थानीय तहहरूले पनि यसबाट सिक्न जरुरी छ ।’ महानगरका वडागत रूपमा हेर्दा पनि हाल वडा नम्बर १५ र ३२ मा १२–१२ वटा हिटी रहेका छन् । वडा नम्बर ५, २८ र ३१ मा चार–चारवटा, वडा नम्बर २० मा पाँचवटा, वडा १, ८, १९, २६ मा ६–६ वटा हिटी फेला परेको महानगरका प्रवक्ता मानन्धरले बताए ।