कांग्रेसको महाधिवेशन अनिश्चित

विशेष महाधिवेशनको छलफलमा इतर समूह

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार बुधबार वडा अधिवेशन हुनुपर्ने हो । तर, क्रियाशील सदस्यताको विषय नै नटुंगिएपछि महाधिवेशन प्रभावित भएको छ । क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको इन्ट्रीसमेत सकिएको छैन । कतिपय क्षेत्रमा क्रियाशीलबारे अझै विवाद रहेको छ ।

गत १५ मंसिरमा केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनको कार्यतालिका ल्याएको थियो । जसमा १६ पुसमा वडा अधिवेशन, १७ पुसमा पालिका अधिवेशन, १९ पुसमा प्रदेश सभा क्षेत्रीय अधिवेशन, २१ पुसमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन गर्ने तालिका छ । २२ पुसमा दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्ला अधिवेशन गर्ने तालिका छ । यस्तै, २३ र २४ पुसमा प्रदेश अधिवेशन र २६, २७ र २८ पुसमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ । तोकिएको मितिमा महाधिवेशन नहुने निष्कर्षसहित कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा छलफल भए पनि निर्णय भएको छैन । पछिल्ला बैठक प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार चयनमा केन्द्रित भएको थियो ।

कार्यसम्पादन समितिबाट नयाँ तालिका आउने प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बताउँछन् । ‘यो कार्यतालिका पहिले नै प्रभावित भइसक्यो । अब नयाँ कार्यतालिकाअनुसार महाधिवेशनको काम अघि बढ्छ,’ उनले भने । कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन थापाले वडा, प्रतिनिधिसभा क्षेत्र र केन्द्रीय महाधिवेशन गर्ने गरी १५औँ महाधिवेशन कार्यतालिका संशोधनको प्रस्ताव गरेका थिए । तर, संस्थापन पक्षले त्यसलाई स्वीकार गरेन । कांग्रेस निर्णयमा पुगिसकेको छैन ।

कार्यतालिकाअनुसार काम नभएपछि कांग्रेसमा फेरि विशेष महाधिवेशनको बहस सुरु भएको छ । नियमित महाधिवेशन पुसमा नहुने देखिएपछि विशेष महाधिवेशन पक्षधरहरूले छलफल थालेका छन् । उनीहरूले कानुन व्यवसायीसँग समेत छलफल गरेका छन् । ‘छलफलमै छौँ । विधानले दिएको अधिकारअनुसार विशेष महाधिवेशन माग गरेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गत २९ असोजमै बुझाइसकेका हौँ । हस्ताक्षर बुझेको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक अवस्था हो । त्यो अवधिमा नियमित महाधिवेशन हुन्छ भने पनि ठिकै छ भनेर हामीले स्वीकार्‍यौँ । तर, पुसभित्र पनि महाधिवेशन नहुने देखिएपछि अब विशेष महाधिवेशनको विकल्प छैन,’ विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको अगुवाइ गरेका नेता गुरुराज घिमिरेले भने । 

२८ पुसभित्रै विशेष महाधिवेशनको स्थान र मिति तोक्न विशेष महाधिवेशन पक्षधरले नेतृत्वलाई दबाब दिँदै आएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनको पक्षमा छन् । तर, सभापति शेरबादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशन गर्न नहुने पक्षमा छन् ।

आफ्नै निवास महाराजगन्जमा मंगलबार केही पत्रकारसँगको कुराकानीमा देउवाले विशेष महाधिवेशन नहुने स्पष्ट पारेका छन् । सहमतिमा नियमित महाधिवेशन प्रतिनिधिसभा निर्वाचनअघि गर्न सकिने पनि उनले बताएका छन् । ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर फेरि अर्को झगडा हुन्छ । त्यसकारण विशेष महाविधेशन हुँदैन,’ देउवाले भने, ‘निर्वाचनअगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले असर पर्छ । नियमित महाधिवेशन गर्ने नै हो भने मैले रोक्ने कुरा हुँदैन ।’

देउवाले १५औँ महाधिवेशनमा विधानत: आफू उम्मेदवार बन्न नमिल्ने र इच्छा पनि नभएको बताए । उनले महाधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना औँल्याए । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबिच सभापतिमा प्रतिस्पर्धा हुन सक्ने उनले संकेत गरे । दोस्रो चरणबाट नेतृत्व छानिन सक्ने उनले बताए । 

‘शेखर लड्छन्, पूर्णबहादुर पनि कार्यवाहक भएकाले लड्छन् होला, गगन लडिहाल्छन् । फस्र्ट राउन्डमा रिजल्ट आउन्न कि ?’ देउवाको भनाइ थियो, ‘शेखरले अहिलेसम्म म सभापतिको उम्मेदवार हुँदै छु, सहयोग गर्नुस् भन्नुभएको छैन । गगन र विश्व आउनुभएको थियो । मैले अहिले पूर्णबहादुरलाई नै सहयोग गर्छु भनेँ ।’ आफूले कार्यवाहक जिम्मेवारी दिइसकेकाले पार्टीका निर्णयहरू नियमित रूपमै होस् भन्ने चाहना राखेको उनले बताए ।

सुझावित समाचार