जेन–जी आन्दोलनको असर : शून्यबाट घरनक्सा विवरण संकलन गर्दै विराटनगर महानगर

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा भएको आगजनीले सबै अभिलेख ध्वस्त भएपछि विराटनगर महानगरले घरजग्गाको नापनक्सा संकलन शून्यबाट सुरु गर्न थालेको छ । 

जेन–जी आन्दोलनमा भएको आगजनीमा कार्यालयको घरनक्सा शाखाका अभिलेख राखिएका फायल र कम्प्युटरहरू जलेर खरानी भएपछि पुनः घरनक्साको विवरण शून्यबाट सुरु गरेको हो । 

आगजनीबाट क्षति पुगेपछि विराटनगर महानगरको कार्यालय भवनमा  रातो स्टिकर लागेको छ । कार्यालय पुनर्निर्माण नभइसकेकोले घरनक्सा शाखाका कर्मचारीहरू वडा नम्बर १ स्थित कार्यालयमा बसेर घरनक्साको विवरण संकलन गर्न थालेका छन् । शाखाका सबै कर्मचारीहरूलाई वडा कार्यालयमा बस्ने ठाउँ नहुँदा केही कर्मचारी चौरमा बसेर पनि सेवा दिइरहेका छन् । 

घरनक्सा शाखाका अनुसार विराटनगर महानगरमा ४० हजारभन्दा बढी घरनक्सा पास भएका छन् । आगजनीबाट पास भएका ती घरनक्साको कुनै पनि अभिलेखमा छैन । सबै जलेर खरानी भएका छन् । शाखा प्रमुख गोपाल पोखरेलका अनुसार महानगरले घरनक्साको अभिलेखलाई कम्प्युटरकृत बनाउने कार्य अन्तिम चरणमा पुर्याइसकेको थियो । धरै फायलहरु प्रथम र दोस्रो चरणमा दाखिला भइसकेका थिए । सबै घरनक्सा शाखालाई ई–प्रणलीमा लान महानगरले चालू आर्थक वर्षका लागि बजेट पनि विनियोजन गराइसकेकोले तीव्र गतिमा काम भइरहेको थियो । तर, काम थालेको दुई महिना नपुग्दै जेन–जी आन्दोलनमा आगजनी हुँदा सबै प्रयास खरानी भए । शाखा प्रमुख पोखरेलले भने, ‘हामी सफ्टवेयरलाई अन्तिम रूप दिएर सेवा सुरु गराउने तयारीमै थियाैँ, त्यही वेला भएको जेन–जी आन्दोलनले सबै प्रयास खरानी बनायो ।’ 

जेन–जी आन्दोलनले गर्दा हाल वडा कार्यालयबाट महानगरको घरनक्सा शाखाले पहिले बिक्री गर्ने, विदेश जाने, मुद्दा मामिलामा पेस गर्नुपर्ने र बैंक तथा वित्तीय संस्थामा ऋण लिनेहरूका लागि प्राथमिकता दिएर घरनक्सा विवरण पास गरिदिने र पास भएकाहरूको विवरण पुनः प्रमाणीकरण गरिदिने गरिरहेको छ । पहिलो चरणको कामसँगै चाँडै परामर्शदाता नियुक्त गरेर महानगरले वडा–वडामा सर्भेयरहरू खटाएर घरनक्साको विवरण संकलन गर्ने योजना बनाएको छ । विराटनगर महानगरका मेयर नागेश कोइराला भन्छन्– चाँडै कार्यपालिकाबाट कन्सल्ट्यान्सी कम्पनी नियुक्त गरेर घरजग्गा विवरण वडा वडाबाट संकलन गराउँदैछौँ ।

जेन–जी आन्दोलनमा आगजनी भएर विराटनगर महानगरको भवन आगजनीले ध्वस्त भएपछि दुई महिनासम्म महानगरले टेन्टबाट सेवा दिएको थियो । हाल पुनर्निर्माण बाँकी भए पनि मेयर, उपमेयर र महाशाखा र शाखाका कार्यालयहरू बचेखुचेका कोठाहरूलाई अस्थायी रूपमा प्रयोग गरेर सेवा प्रदान गरिँदै आएको छ ।
 

सुझावित समाचार