आगामी निर्वाचनमा कांग्रेस–एमालेबाहेकको सरकार गठन असम्भव रहेको एमाले अध्यक्ष केपी ओलीले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेकोप्रति संकेत गर्दै उनले चुनावपछिको सरकार कांग्रेस–एमालेकै हुने दाबी गरे ।
मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यक्रममा उनले भने, ‘चुनावमा कांग्रेस र एमालेबाहेकले सरकार बनाउन सम्भव छ यो कुरा ? यस्तो कुरा पत्याएर लाग्ने भनेपछि..।’
रवि लामिछाने, बालेन र कुलमान घिसिङबिचको सहकार्यलाई उनले ‘कुखुरा, बाख्रा र स्यालको मोर्चा’ भएको टिप्पणी गरे । त्यस्तो मोर्चाले बाघको सिकार गर्न नसक्ने उनको भनाइ छ । सरकारले चुनावको वातावरण अझै नबनाएको उनको भनाइ छ ।
“कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद छ । प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अलि बाठै होला भन्ने ठानेको तर निर्णय देख्दा हस्यास्पद लाग्यो ।’’, अध्यक्ष ओलीले भने “पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री भनिएको छ । यो भदौमा सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो । जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन ।’’ उनले घैँटाको पानीले सागर बन्न नसक्ने र भेडा बाग्राहरुको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै एमाले र काँग्रेसजस्ता दलह ठुला र पुराना लोकतान्त्रिक शक्ति भएको जिकिर गरे।
उनले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिकरुपमा विघटन भएको संसद पुनःस्थापना हुनुपर्ने बताए । सरकार बनाउने र हटाउने थलो संसद भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उनको भनाइ थियो । अध्यक्ष ओलीले संसद पुनः स्थापनाबारे सर्वाेच्च अदालतले चाँडो सुनुवाई गर्नुपर्ने उनको भनाई थियो।