तराई क्षेत्रमा बढ्दै गएको शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ। अत्यधिक जाडोका कारण विशेषगरी बिहान–साँझ सर्वसाधारणलाई दैनिक जीवनयापनमा कठिनाइ भइरहेको अवस्थामा बुद्धभूमि नगरपालिकाले राहतस्वरूप आगो ताप्नका लागि दाउरा वितरण गरेको छ।
बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठको पहलमा बुद्धभूमि नगरका विभिन्न स्थानहरूमा आगो ताप्नका लागि दाउरा उपलब्ध गराइएको हो। यसका साथै कपिलवस्तु नगरपालिकाअन्तर्गत पर्ने भिक्षुचोक, गौढीचोक, बहादुरगन्जतर्फ जाने चोक तथा आन्दोलन चोकजस्ता व्यस्त स्थानहरूमा पनि दाउरा वितरण गरिएको छ।
नगरपालिकाले शीतलहर र चिसोको यस कठिन समयमा सर्वसाधारण, मजदुर, वृद्धवृद्धा तथा विपन्न वर्गलाई राहत पुर्याउने उद्देश्यले यो कार्य गरेको जनाएको छ। स्थानीयवासीहरूले नगरपालिकाको यस कदमप्रति धन्यवाद व्यक्त गर्दै चिसोबाट केही हदसम्म राहत मिलेको प्रतिक्रिया दिएका छन्।