तराई मधेशमा एक हप्तादेखि शीतलहर चल्दा जनजीवन प्रभावित बनेको छ । विशेषगरी मधेश प्रदेश तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा बाक्लो हुस्सु–कुहिरो लाग्नुका साथै दिनभर नै शीतलहर चलिरहेको छ । चिसोमा ज्यान जोगाउन विपन्न परिवार दिउँसो घुर र राति परालको भरमा छन् । हुस्सु–कुहिरोले आकाश ढाकेर घाम लाग्नै छाडेपछि अधिकतम तापक्रम पनि निकै घटेको छ ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांक हेर्दा कोशीबाहेक अन्य प्रदेशका तराईमा अधिकतम तापक्रम निकै घटेको छ, जसकारण न्यूनतम तापक्रमसँगको ग्याप घटेको छ । यसको अर्थ दिनभर घाम नलाग्दा साँझ–बिहानजस्तै दिउँसोको तापक्रम पनि कम छ, चिसो अत्यधिक छ । तथ्यांकअनुसार सोमबार धनगढीको अधिकतम तापक्रम १४.३ र न्यूनतम १२ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै, नेपालगन्जमा अधिकतम १३.२ र न्यूनतम १०, भैरहवामा अधिकतम १४.५ र न्यूनतम ११.४ र सिमरामा अधिकतम १४.२ र न्यूनतम ११.८ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै, जनकपुरमा अधिकतम १४.६ र न्यूनतम ११.६, विराटनगरमा अधिकतम १६.३ र न्यूनतम १२.७ तथा चन्द्रगढीमा अधितम १६.७ र न्यूनतम १२.९ डिग्री सेल्सियस मापन भएको छ ।
बाक्लो हुस्सु–कुहिरोले चिसो बढ्दा विपन्न वर्ग, वृद्धवृद्धा, बालबालिका र दैनिक ज्यालामजदुरी गर्ने वर्ग मारमा परेका छन् । ‘जाडोले निकै समस्या भएको छ । आगो बाल्न दाउरा छैन,’ कैलालीको गोदावरी नगरपालिका– ५, गेटास्थित मुक्तकमैया बस्तीकी ममतादेवी डगौराले भनिन्, ‘ओढ्ने,–ओच्छ्याउने त छ, त्यसले चिसो रोक्न सक्दैन ।’
सोही बस्तीकी कल्पना चौधरी चिसो धेरै भएपछि आइतबार मजदुरी गर्न गइनन् । श्रीमान् पतिरामसँगै घर निर्माणमा मजदुरी गर्ने उनले बढी चिसो भएका दिन घरमै बस्ने गरेको बताइन् । ‘नजिकै जंगल छ, तर दाउरा काटेर ल्याउन पाइँदैन,’ कमैया बस्तीमै भेटिएकी वृद्धा जुगनी चौधरीले भनिन्, ‘दाउरा पाएको भए आगो तापेर बस्न हुन्थ्यो ।’ वनले झरेका दाउरा ल्याउन दिने गरे पनि सुकेका दाउरा काटेर ल्याउन नदिने गरेको उनले बताइन ।
त्यस्तै, कठ्यांग्रिँदो जाडोका कारण मोरङ बुढीगंगा गाउँपालिका– १, खापटोलका कृष्ण ऋषिदेव मजदुरी गर्न जान पाएका छैनन् । दैनिक ज्याला–मजदुरी गर्न जान नपाउँदा उनलाई आफू र परिवारको हातमुख जोर्न समस्या भइरहेको छ । ‘चिसो बढ्दा राति राम्ररी सुत्न सकिँदैन । घुर (पराल र भुसको आगो) तापेर दिनरात कटाउनुपरेको छ,’ उनले भने ।
राष्ट्रिय मुसहर संघ कोशीका उपमहासचिव कविता सदाका अनुसार शीतलहरका कारण भूमिहीन, सुकुम्बासी र दैनिक मजदुरी गरेर खाने वर्ग मारमा छ । ‘फुस र माटाको चिसो घरमा पराल ओछ्याएर बस्नुपर्ने बाध्यता हुन्छ,’ उनले भनिन् ।
विपन्न परिवारको दैनिकी कष्टकर
सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– २, पटना गाउँका करिब ७१ वर्षीय लक्ष्मी सदाय अशक्तजस्तै छन् । बढ्दो चिसोमा ज्यान जोगाउन भत्किएको फुसको घरमा हावा छेक्न खाट ठड्याएको भए पनि भुइँको चिसोबाट जोगिन करिब आधा फिट पराल बिछ्याएर त्यहीँ सुत्ने–बस्ने गरेको सदाय बताउँछन् । ‘तीन भाइ छोरा मजदुरी गरेर जहान बालबच्चा हेर्छन्, जाडोमा साह्रै कष्ट भयो,’ उनले भने । घाम नलागे पनि दिनभर परालको घुर बालेर बस्ने गरेको सुनाउँदै उनले भने, ‘राति त घरमै बस्नुपर्यो, ओढ्ने–ओछ्याउने नहुँदा पराल नै हामी गरिबका लागि सिरक–डसना हो ।’
पटना गाउँका करिब ५० घरधुरी मुसहर परिवारको अवस्था लक्ष्मीको भन्दा फरक छैन । तत्काल गरिब विपन्नका लागि न्यानोको व्यवस्था गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने शिक्षकसमेत रहेका स्थानीय रामसुफल यादवले बताए ।
लक्ष्मीजस्ता सयौँ गरिब विपन्न परिवार छन् जो चिसो र शीतलहरमा ज्यान जोगाउन दिउँसो घुर र राति परालको भर पर्न बाध्य छन् । सबैभन्दा नजिकको भनिने स्थानीय सरकार अपवादबाहेकका स्थानीय तहमा आफ्ना नागरिकलाई जाडोबाट जोगाउन न्यानो कम्बल, सिरक, त्यति नभए दाउरा भए पनि बाँडेर नागरिकप्रतिको दायित्व निभाइरहेको दलित अधिकारकर्मी विनोदकुमार बिसुन्केले बताए । ‘गाह्रो–अप्ठ्यारो परेकै वेला त हो चाहिने सरकार,’ उनले भने, ‘सामान्य अवस्थामा त गरिब विपन्नले पनि आफ्नो आवश्यकता पूरा गर्न प्रयास गर्छन् नि ।’
चिसो र शीतलहरले गरिब विपन्नलाई ज्यान जोगाउनसमेत मुस्किल परेपछि सिराहाको लहान नगरपालिकाले विपन्न बस्तीमा फाइबरको न्यानो सिरक वितरण गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले शनिबार लहान नगरपालिकाको तर्फबाट लहान– १५, ढोढना बानो गाउँका २८ र लहान– २४, गोविन्दपुरको खप्टेडाँडाका ८३ गरी १११ जना गरिब विपन्नलाई फाइबरको सिरक वितरण गरेका छन् । जनताको दैनिक पीरमर्का, समस्या सुनिदिने र समाधानको पहल गरिदिने जिम्मेवारी स्थानीय सरकारको रहेकाले मानवीय सहयोगका लागि न्यानो सिरक बाँडिएको उनले बताए । ‘सडक, बाटोजस्ता विकास निर्माणका काम पनि जनताकै लागि हो,’ उनले भने, ‘त्यही विकासको उपभोग गर्ने जनताको ज्यान जोगाउनु पनि स्थानीय सरकारको मुख्य काम भएकाले न्यानो बाँडेका हौँ ।’
शीतलहरमा स–साना नानीहरूसहित श्याम सदायको परिवार त्रिपालमुनि बस्दै आएको सूचना पाएलगत्तै गाउँ पुगेर तत्काल न्यानो सिरक दिइएको उनले बताए । ‘सिरक बाँडेर फर्किएपछि शनिबारदेखि नै नगर प्रहरीको समेत सहयोग रहने गरी स्थानीय युवा र १० जना मजदुर परिचालन गरी काठ र बाँसको प्रयोग गरी जस्ता हालेर दुई कोठाको कच्ची घर बनाउन थालिएको छ,’ चौधरीले भने । नगरकै सहयोगमा घर निर्माण गरी एक–दुई दिनभित्रै हस्तान्तरण गरिने उनले बताए ।
नेपालगन्जमा मंगलबारबाट दाउरा वितरण हुने
शीतलहरले प्रभावित बाँकेमा मंगलबारबाट दाउरा वितरण गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले दाउराका लागि वन डिभिजन कार्यालयलाई रकम पठाइसकेकाले मंगलबारबाट दाउरा वितरण सुरु हुने बताए । ‘दाउरा आइसकेको छ । मंगलबारबाट वडा–वडामा पठाउँछौँ,’ उनले भने ।
बाक्लो हुस्सुका कारण नेपालगन्जका गल्ली र सडकमा सर्वसाधारणको उपस्थिति एकदमै न्यून भएको छ । हुस्सुसँगै चिसो हावा चलेपछि वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन् । नेपालगन्जका घर, गल्ली र सडकमा बिहान–बेलुकीमात्र नभई दिउँसोको समयमा समेत आगो तापेको पाइन्छ । न्यानो लुगा र ओढ्ने, ओछ्याउने किन्न नसक्दा रातभर सुत्न नसकेको नेपालगन्ज– ८, खट्कनपुरका वृजेश खटिकले बताए । ‘शीत चुहिने फुसले छाएको घर छ । न्यानो ओढ्ने र ओछ्याउने पर्याप्त नहुँदा रातभर सुत्न सकिँदैन,’ उनले भने ।
दिनभर घाम नलाग्दा आगो बालेर दुना, टपरीको व्यापार गर्दै आएको नेपालगन्ज उपमहानगरपालिका– ८, घसारियन टोलकी शान्ति घसियारले बताइन् । ‘नेपालगन्जमा अति जाडो छ । आगो नबाल्ने हो भने बाहिर बस्न सक्ने अवस्था छैन । आगो तापेर दुना, टपरीको व्यापार गर्न परेको छ,’ उनले भनिन् ।
नेपालगन्ज– ११ का दिनेश गुप्ताले पैदलयात्री, रिक्सा र ठेला चलाउनेका लागि सडकछेउमा आगो बालेका छन् । चिसो बढेदेखि पाँच सय रुपैयाँको दाउरा खरिद गरिसकेको बताउँदै उनले उपमहानगरले अहिलेसम्म दाउरा वितरण नगरेको गुनासो गरे । ‘उपमहानगरले दाउरा वितरण गरेको भए किन्न पर्ने थिएन । धेरैपटक भन्दासमेत नमानेपछि धर्म हुन्छ भनेर आफ्नै पैसाले दाउरा किनेर हिँडडुल गर्नेका लागि ताप्ने व्यवस्था गरेको छु,’ उनले भने ।
चिसोले रिक्सा चलाउन समस्या भएको रिक्साचालक रमेश वाल्मीकिले बताए । ‘सडकछेउमा बालेको आगोले हिँडडुल गर्ने, रिक्सा र ठेला चलाउनेहरूलाई धेरै राहत मिलेको छ,’ आगो ताप्दै गरेका वाल्मीकिले भने ।
चिसो बढेपछि आरक्षपीडित, सुकुम्बासी, बाढीपीडित मारमा
चिसो बढेपछि कञ्चनपुरका आरक्षपीडित सुकुम्बासी, बाढीपीडित, विपन्न समुदाय मारमा परेका छन् । भीमदत्त नगरपालिका– ४, महेन्द्रनगर शिविरमा बस्दै आएका आरक्षपीडितले २४ वर्षसम्म पुनस्र्थापना नहुँदा त्रिपालमुनि जीवन काट्न बाध्य भएको बताएका छन् ।
आरक्षपीडित दानबहादुर सुनारले ०५८ सालमा सरकारले बसोबासबाट विस्थापित गरेपछि शिविरमै बस्न बाध्य भएको बताए । ‘हामी त्रिपालमुनि दिनरात काट्न बाध्य भएका छौँ,’ उनले भने, ‘हाम्रो पीडा कसले बुझिदिने, खान–लाउन धौधौ भइरहेका वेला कहाँबाट कपडा किन्ने ?’ भीमदत्त नगरपालिका– १८, सालघारीका सुकुम्बारी रतनराम लुहारले दैनिक छाक छार्न समस्या भएका वेला न्याना लुगा कपडा किन्नसमेत पैसा नहुँदा बाध्य भएर पुरानै लुगा लगाउन लागेको बताए । ‘बाल्ने दाउरा छैन, आगो ताप्नसमेत हामीलाई सकस भएको छ,’ उनले भने, ‘जाडोले रातदिन काट्नै मुस्किल भएको छ, चुनावमा आउने दलले जीवन फेरिदिन्छौँ भन्छन्, तर चुनाव आउँछ, जान्छ, हाम्रा दिन उस्तै छन ।’
लालझाडी गाउँपालिका– ४, डाँगाजाईका बाढीपीडित रजनी रानाले बाढीले पहिलेको बासस्थान विस्थापित भएपछि झुपडी बनाएर बस्न बाध्य भएका आफूहरू मारमा परेको बताइन् ।
कोशी नहरको स्तरोन्नति र सडक विस्तारले विस्थापितको भय
शीतलहरको पीडा खेपिरहेका वेला सप्तरीका हनुमाननगर कंकालिनीसँगै डाक्नेश्वरी र राजविराज नगरपालिका तथा महादेवा, छिन्नमस्ता, विष्णुपुर, राजगढ र तिलाठी कोइलाडी गाउँपालिकाका पाँच सय विपन्न परिवारमा विस्थापित हुने चिन्ता थपिएको छ ।
चार पुस्तादेखि नहरको डिलमा बसोबास गर्दै आएका विपन्न परिवारलाई भारतले पश्चिमी कोशी नहरको स्तरोन्नति र सडक विस्तार सुरु गर्दा उनीहरू उठीबास हुने भएका छन् । शीतलहरको वेला घर नभत्काइदिन सबैतिर गुहार गर्दै हिँडेका छन् ।
दैनिक मजदुरी गरेर १० जनाको परिवार पाल्दै आएका तिलाठी कोइलाडी गाउँपालिका– ८, तोपाका ५० वर्षीय खटर सदा अहिले घरबारविहीन हुने त्रासमा छन् ।
पुस्तौँदेखि बसोबास गर्दै आएको ठाउँबाट विस्थापित हुनुपर्ने डरले उनको १० जनाको परिवार यतिवेला छटपटीमा छ । तीन वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत दुईकोठे पक्की घर पाएका सदा परिवारले सोही घरमा आश्रय लिँदै आएका थिए । तर, हाल नहर स्तरोन्नति र सडक विस्तारको काम सुरु हुने भन्दै भारतीय ठेकेदारले पक्की घरसहित दुईवटा झुप्रो हटाउन निर्देशन दिएपछि उनीहरू समस्यामा परेका छन् ।
घर भत्काइएपछि कहाँ जाने, कसरी परिवार जोगाउने भन्ने चिन्ताले उनलाई रातदिन सताइरहेको छ । ‘हामी कहाँ जाने ? घर नै रहेन भने हाम्रो अस्तित्व के हुन्छ ? राज्यले एकातिर आवासको हक भन्दै घर बनाइदिने र अर्कोतिर विकासको नाममा त्यही घर भत्काउनुले यो कस्तो सरकार हो ? नहर बन्नुभन्दा पहिलादेखि नै हाम्रो बसोबास यहीँ छ,’ खटर सदाले भने, ‘तर, अहिले नहर स्तरोन्नति र सडक विस्तार गर्ने नाममा हामीलाई विस्थापित गर्न खोजिँदै छ । घर भत्काउनुभन्दा पहिला त हाम्रो अर्को व्यवस्थापन हुनुपर्यो नि ।’
तिलाठी कोइलाडी गाउँपालिका– ८, तोपाका रामप्रित सदाको परिवार चार पुस्तादेखि नहरको डिलमा बसोबास गरिरहेको छ । दैनिक मजदुरी गरेर जीवन निर्वाह गरिरहेको उनलाई दुई साताअघि भारतीय ठेकेदारले घर हटाउन निर्देशन दिएपछि उनी चिन्तित बनेका छन् । ‘हामी विपन्नका लागि को छ र अब हाम्रो घर भत्काइदिन्छन् । बालबच्चालाई लिएर यो शीतलहरको वेला कहाँ जाने ?’ उनले भने, ‘पटक–पटक वडा कार्यालयमा पुगेर अध्यक्षलाई जानकारी दिएको छु, अध्यक्षले पनि कुनै विकल्प नै नरहेको बताउनुहुन्छ, अब हामी के गर्ने, कहाँ जाने समस्यामा छौँ । एक धुर जग्गा पनि छैन ।’ हनुमाननगर कंकालिनी नगरपालिकाका– १, २, ४, ६ र ८ का दुई सय घरपरिवार विस्थापित हुने मेयर वीरेन्द्र माझीले बताए ।
तर, विस्थापित हुने परिवारलाईं तत्काल व्यवस्थापन गर्न नगरपालिकासँग बजेट नरहेको उनले सुनाए । ‘भारतीय ठेकेदारले व्यवस्थापन गर्नुपर्छ,’ उनले भने । महादेवा गाउँपालिका अध्यक्ष सुनीलकुमार मण्डलले महादेवा गाउँपालिकाका वडा २, ५ र ६ मा ५० परिवार विस्थापित हुने बताए । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले वडा नम्बर ८ का १ सय घर विस्थापित हुने जनाए ।
गत मंसिर २ मा बिहारको सुपौलस्थित पश्चिमी कोशी नहर प्रमण्डल कुनौली कार्यपालक अभियन्ताको कार्यालयले नहर र सडक विस्तार गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा पत्राचार गरेको थियो । सोही पत्रका आधारमा गत मंसिर ८ मा सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले नहरआसपासका अतिक्रमण हटाउनका लागि स्थानीय तह र सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आइतबार कोशी नहर प्रमण्डल कुनौलीका कार्यपालक अभियन्ताको कार्यालय तथा निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल भएको बताए । ‘अहिले शीतलहर चल्दै छ, अहिले घर नहटाउन आग्रह पनि गरेका छौँ । मंगलबार हुने बैठकमा पालिका प्रमुख पनि सहभागी हुनुहुन्छ, त्यसमा थप कुरा होला,’ उनले भने । कोशी सम्झौताअनुसार नहरसहित ५९९ बिघा १८ कट्ठा ८ धुर जग्गा भारतको अधीनमा छ ।
- लहानमा मणिलाल विश्वकर्मा सप्तरीमा सौरभ यादव विराटनगरमा गणेश लम्साल बाँकेमा विश्वराज पछल्डङ्ग्या धनगढीमा तेजराज भट्ट