देशव्यापी प्रदर्शन गर्न इमरानको आह्वान

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

तोसाखाना–२ मुद्दामा अदालतले थप सजाय सुनाएपछि पूर्वप्रधानमन्त्री इमरान खानले देशव्यापी विरोध प्रदर्शनको आह्वान गर्दै इस्लामाबाद उच्च अदालतमा फैसलालाई चुनौती दिने घोषणा गरेका छन् ।‘मैले खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई सडक आन्दोलनका लागि तयारी गर्न सन्देश पठाएको छु । सम्पूर्ण राष्ट्रले आफ्नो अधिकारका लागि उठ्नुपर्छ,’ उनले भनेका छन् ।

उक्त मुद्दामा उनको सजाय अचम्मको रूपमा नआएको, तर उनले आफ्नो कानुनी टोलीलाई निर्णयविरुद्ध उच्च अदालत जान भनेको बताए । ‘पछिल्ला तीन वर्षको आधारहीन निर्णय र सजायजस्तै तोसाखाना–२ को निर्णय पनि मेरा लागि नयाँ कुरा होइन । यो निर्णय न्यायाधीशले कुनै प्रमाणविना र कानुनी आवश्यकता पूरा नगरी हतारमा दिएका थिए,’ उनले भने । 
आफ्नो कानुनी टोलीलाई नसुनिएको उनले गुनासो गरे ।

गत साता पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुसरा बिबीलाई राज्य उपहारसम्बन्धी ठगी मुद्दामा थप जेल सजाय सुनाइएको थियो । २०२१ को राज्य भ्रमणका क्रममा साउदी अरेबियाका मोहम्मद बिन सलमानले बिबीलाई विलासी गहना दिएपछि उपहारसम्बन्धी पाकिस्तानको नियम तोडेको आरोपमा उनीहरूलाई दोषी ठहर्याइएको थियो ।

यी जोडी पहिले नै जेलमा सजाय भोगिरहेका थिए । विश्वासको आपराधिक उल्लंघनका लागि थप १७ वर्ष कैद सजाय सुनाइएको हो । यो सजाय उनीहरूको पहिलेको सजायसँगै लागू हुने बताइएको छ । खानले आरोप राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।

यो मुद्दा क्रिकेट स्टारबाट राजनीतिज्ञ बनेका उनीविरुद्ध लगाइएका आरोपको शृंखलामा पछिल्लो हो, जसलाई अगस्ट २०२३ देखि हिरासतमा राखिएको छ । जनवरीमा उनलाई छुट्टै भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको थियो । उनले राज्यका गोप्य कुरा चुहावट गर्नेदेखि राज्यका उपहार बेच्नेसम्मका १०० भन्दा बढी मुद्दामा आरोपको सामना गरेका छन् ।

See More On

सुझावित समाचार