संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा जारी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा तीनवटा पालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आज शनिबार भएको पहिलो खेल भोजपुरको षडानन्द नगरपालिका र मकालु गाउँपालिकाबिच रहेको थियो । निर्धारित समयमा मकालु गाउँपालिका आई नपुगेपछि आयोजकले वकबर दिँदै षडानन्द नगरपालिकालाई विजयी घोषणा गरेका थिए ।
त्यसैगरी दोस्रो खेल पाँचखपन नगरपालिका र चैनपुर नगरपालिकाबिच भएको थियो । पहिलो सेटमा पाँचखपनले २५–१९ अंकले जित हासिल गरेका थिए भने दोस्रो सेटमा चैनपुरले २५–१६ अंक ल्याई पाँचखपनलाई हराए । निर्णायक तेस्रो सेटमा २५–१९ अंक प्राप्त गर्दै चैनपुर नगरपालिकाले जित हासिल गरे ।
त्यसैगरी तेस्रो खेल चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकाबिच भएको थियो । पहिलो सेटमा २५–२० अंकले चिचिलाले जित हासिल गरेका थिए भने दोस्रो सेटमा खाँदबारीले २५–१९ अंकले चिचिलालाई हराए । निर्णयक तेस्रो सेटमा खाँदबारी २५–२० अंकले चिचिलालाई हराउर्दै जित निकाले ।
आइतबार (भोलि) ४ वटा खेल हुनेछ । पहिलो खेल आयोजक सेकाहा क्लब र पाँचखपन (ए)बिच हुनेछ भने दोस्रो खेल पाँचखपन (बी) र पाँचखपन (ए)बिच हुनेछ । त्यसैगरी तेस्रो खेल षडानन्द नगरपालिका र चिचिलाबिच हुनेछ भने चौथो खेल मकालु गाउँपालिका र खाँदबारीबिच हुनेछ ।
‘११–१५ पुसमा खाँदबारी–४ सेकाहा जाऔं, ऐतिहासिक सेकाहा महोत्सवलाई भव्यताका साथ मनाऔं ।’ भन्ने नारासहित सेकाहा सामुदायिक विकास क्लबले ‘ऐतिहासिक सेकाहा महोत्सव–०८२’ आयोजना गरेको हो । शुक्रबार सुरु भएको प्रतियोगिता १५ पुस समापन हुनेछ ।
प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने उपविजेतालाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । त्यसैगरी सेमिफाइनलिष्ट दुई टिम नगद २०÷२० हजार, मेडल र प्रमाणपत्र रहेको छ भने बिधागत उत्कृष्टहरुलाई पुरस्कारको ब्यबस्था रहेको छ ।