- २३ वर्षको यात्रामा ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेलमा १४६ गोल गरेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन् ।
वर्तमान समयकै उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । पोर्चुगलको राष्ट्रिय टोलीबाट लगातार २३ वर्ष लामो यात्रा पूरा गर्दै ४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट बिदा लिने निर्णय सार्वजनिक गरेका हुन् । पोर्चुगलबाट उनको अन्तिम खेल गत सेप्टेम्बरमा वेल्सविरुद्ध रह्यो । करिअरमा उनले पोर्चुगलबाट २३४ खेलमा कीर्तिमानी रूपमा १४६ गोल गरेका छन् । रोनाल्डोले इन्स्टाग्राममा लामो भिडियो पोस्ट गर्दै सन्न्यास लिएका हुन् ।
उनले पोर्चुगलको प्रतिष्ठित सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन् । ‘आज हाम्रो राष्ट्रिय टोलीको सात नम्बरको जर्सी फिर्ता गर्ने दिन आएको छ । यो जर्सी कहिल्यै मेरो मात्र थिएन । २३ वर्षसम्म यसलाई लगाउने सौभाग्य र जिम्मेवारी मैले पाएँ,’ रोनाल्डोले भावुक हुँदै भने । यससँगै पोर्चुगलको जर्सीमा रोनाल्डोको ऐतिहासिक यात्रा समाप्त भएको छ ।
उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरो)को उपाधि जितेको थियो । पोर्चुगलको फुटबल इतिहासमा पहिलोपटक ठुलो अन्तर्राष्ट्रिय उपाधि जितेको नै रोनाल्डोको कप्तानीमा युरोकप थियो । यसअघि सन् २००४ मा लुइस फिगोको कप्तानीमा युरोकपको उपविजेता बन्नु नै पोर्चुगलको फुटबलमा सर्वाधिक सफलता मानिन्थ्यो । रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई दुईपटक युइएफए नेसन्स लिगको उपाधिसमेत दिलाएका थिए ।
२३ वर्ष सात नम्बरको जर्सी
फिगोको कप्तानमा रोनाल्डोले सन् २००३ मा राष्ट्रिय टोलीबाट डेब्यु गर्न अवसर पाए । त्यसयता उनी लगातार दुई दशकभन्दा लामो समय पोर्चुगलको राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरे । उनी टोलीका प्रमुख स्ट्राइकरका रूपमा रहे । फिफा विश्वकपमा लगातार ६ संस्करण खेल्ने उनी तेस्रो खेलाडी हुन् । साथै, विश्वकपको लगातार ६ संस्करणमा गोल गर्ने उनी एक मात्र खेलाडी हुन् ।
रोनाल्डोले सन्न्यास लिने क्रममा राष्ट्रिय टोलीका सहकर्मी, प्रशिक्षक, परिवार तथा विश्वभर रहेका पोर्चुगिज समर्थकलाई धन्यवाद दिएका छन् । ‘राष्ट्रिय टोलीसँगको मैदान यात्रा गर्वका साथ यात्रा पूरा गरेको छु । पोर्चुगलका लागि आफ्नोतर्फबाट सबैथोक दिएको छु भन्नेमा म विश्वस्त छु,’ उनले भने, ‘गोलहरू बितेर जान्छन्, उपाधिहरू संग्रहालयमा पुग्छन् र कीर्तिमान एक दिन तोडिन्छन् ।’ उनले सन् २००३ देखि ०२६ सम्म सातको नम्बरको जर्सीमा प्रतिस्धर्पा गर्नपाउनु आफ्नो सौभाग्य भएको बताए । साथै, उत्कृष्ट खेलाडी बन्न जीवनभर कडा मिहिनेत गरेको उनको भनाइ छ । ‘दुई दशक उत्कृष्ट खेलाडीका रूपमा अन्तर्राष्ट्रिय फुटबलमा विताउन मैले धेरै कडा मिहिनेत गरेको थिएँ । सबैभन्दा ठुलो उपलब्धि विश्वकै उत्कृष्ट देश पोर्चुगलको प्रतिनिधित्व गर्न पाउनु हो,’ उनले भने, ‘पोर्चुगल सधैँ मेरो हृदयमा रहनेछ । सधैँका लागि ।’
प्रशिक्षकसँगको विवाद
पछिल्लो अन्तर्राष्ट्रिय विश्रामका क्रममा नर्वेविरुद्धको खेलमा सहभागी नभएपछि रोनाल्डोले अचानक पोर्चुगलको प्रशिक्षण शिविर छाडेर बाहिरिएका थिए । नेसन्स लिगअन्तर्गत पोर्चुगलले नर्वेविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने थियो । सो खेलअगाडि नै उनी र प्रशिक्षकबिच विवाद भएको थियो । खेलमा पोर्चुगलले नर्वेलाई २–१ गोलले हराएको थियो । खेल सकिएपछि रोनाल्डो सिधै ड्रेसिङ रुम पुगेका थिए । ओस्लोमा उपस्थित समर्थकलाई अभिवादन गर्न मैदानमा पुगेका आफ्ना सहकर्मीसँग पनि उनी सहभागी भएनन् । घटनापछि रोनाल्डोलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध र जरिवाना गरिएको थियो । उनले प्रशिक्षक जोर्गे जेसुसमाथि आफूलाई गरेका वाचा पूरा नगरेको आरोप लगाएपछि विवाद थप चर्किएको थियो । अनुशासन उल्लंघनका कारण लागेको प्रतिबन्ध पूरा गरेर टोलीमा फर्किए पनि उनले अब अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेको जनाएको छ ।