काठमाडौं/ तेस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाडौंले विराटनगरलाई नौ विकेटले हराएको छ। बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको काठमाडौंले ६२ बल अगावै लक्ष्य पूरा गरेको हो।
कसिलो बलिङ गरेर विराटनगर किंग्सलाई ८३ रनमा अलआउट गरेको काठमाडौं गोर्खाजले ९.४ ओभरमै ८६ रन बनायो। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा अलआउट भएको थियो।
विराटनगरका लागि मिडिल अर्डरका रूपेश सिंहले सर्वाधिक २७ रन बनाएका थिए। एन्जेलो म्याथ्युज २२ तथा बसिर अहमद १० रन जोडेर आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। विराटनगरका इमरान शेख, नारायण जोशी र शुभम रन्जने कुनै रन नजोडी पेभेलियन फर्किएका थिए।
काठमाडौंका लागि सन्तोष यादवले तीन तथा करण केसी र सहान अराच्चिगेले समान दुई विकेट निकाले। जहान्दाद खान, सहाब अलाम र देव खनालले समान एक विकेट लिएका थिए।
जवाफी ब्याटिङका क्रममा काठमाडौंका ओपनर साहिल पटेल ११ बलमा १० रन बनाएर पेभेलियन फर्किए। अर्का ओपनर डेभिड वार्नरले अविजित ४४ रनको योगदान गरे। २४ बल सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे। त्यसैगरी विलियम बोसिस्टोले अविजित २३ रन जोडे।
विराटनगरका लागि एक मात्र विकेट अप्रजित पौडेलले लिए। विराटनगरका लागि इमरान शेख निकै महँगो देखिए। उनले मात्र चार बलमा १४ रन खर्चिए। त्यसैगरी आन्द्रे रसेलले एक ओभरमा समान १४ रन दिए।