- राष्ट्रपति पौडेलको समन्वयमा प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेतृत्वबिचको संवादहीनता तोडियो, चुनावी वातावरण बनाउने समझदारी, बालुवाटारमै अर्को बैठक बस्ने
दलहरूसँग सम्बन्ध सुधारमा सरकारले एकै दिन लिएका दुई अग्रसरता
१. २१ फागुनको प्रतिनिधिसभा निर्वाचनप्रति संशय बढिरहेका वेला राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र प्रमुख तीन दलका शीर्ष नेतृत्वबिच पहिलोपटक महत्वपूर्ण संवाद । छलफलमा निर्वाचन सफल बनाउन सहकार्य अपरिहार्य रहेको साझा धारणा, चाँडै नै प्रधानमन्त्रीले बैठक बोलाउने ।
२. जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रमुख तीन दलका केन्द्रीय कार्यालयको भ्रमण गरेर सञ्चारमन्त्री जगदीश खरेलसहितको सरकारी टोलीद्वारा विश्वास बनाउने प्रयास ।
सरकारले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने गम्भीर गृहकार्य थालेको छ । कानुनी र प्रशासनिक काम गरे पनि प्रमुख दलका नेतृत्वसँगको संवादहीनताले निर्वाचनको सुनिश्चितता हुन नसकेका वेला प्रधानमन्त्री सुशीला कार्कीले संवाद र विश्वासको वातावरण निर्माण गर्न चौतर्फी पहल सुरु गरेकी छिन् ।
तोकिएकै मितिमा निर्वाचन हुनेमा संशय बढिरहेका वेला राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री कार्की र कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वबिच महत्वपूर्ण संवाद भएको छ । साथै, मन्त्रीसहितको सरकारी टोलीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रमुख दलका केन्द्रीय कार्यालयको निरीक्षण गरेर विश्वास बढाउने प्रयास गरेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रमुख दलका शीर्ष नेताहरूबिच भएको यो पहिलो संवादसँगै लामो समयदेखि देखिँदै आएको संवादहीनताको अवस्था तोडिएको छ । शीर्ष छलफलमा निर्वाचनको वातावरण बनाउने विषयमा प्रारम्भिक समझदारी छ । छलफलमा सहभागी नेताहरूले आगामी दिनमा निर्वाचन अनुकूल वातावरण निर्माणका लागि निरन्तर संवाद अघि बढाउने सहमति पनि जनाएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा सम्पन्न छलफलमा प्रधानमन्त्री सुशील कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए । छलफलमा निर्वाचन सफल बनाउन राजनीतिक सहकार्य अपरिहार्य रहेकोमा उनीहरूबिच साझा धारणा बनेको छ ।
राष्ट्रपतिले देश गम्भीर मोडमा रहेको उल्लेख गर्दै लोकतान्त्रिक निकासका लागि निर्वाचनलाई सफल बनाउनु सबै राजनीतिक शक्तिको साझा दायित्व भएको बताएका छन् । प्रधानमन्त्री कार्कीले छिट्टै विस्तृत राजनीतिक संवादको पहल गर्ने र आवश्यकताअनुसार निरन्तर छलफलको प्रक्रिया अगाडि बढाउने समझदारीसमेत भएको छ ।
२३ र २४ भदौको जेन–जी आन्दोलनबाट सत्ताच्युत ओलीसहित शीर्ष नेता र प्रधानमन्त्री कार्कीबिच दूरी बढिरहेका वेला राष्ट्रपतिले संवादका लागि अग्रसरता लिएका हुन् । यद्यपि, राष्ट्रपति कार्यालयका अधिकारीहरूले भने चुनावी वातावरणका लागि राष्ट्रपतिले शीर्ष नेताहरूसँग अलग्गै छलफल गरेको जनाएका छन् । यसअघि प्रधानमन्त्रीकै उपस्थितिमा दलहरूका दोस्रो तहका नेताहरूसहितको सर्वदलीय बैठक राखेको तथा जेन–जीहरूसँग अलग्गै छलफल गरिसकेको राष्ट्रपति कार्यलयका अधिकारीले बताएका छन् ।
‘मंगलबार राष्ट्रपतिले शीर्ष नेताहरूसँग मात्र छलफल राख्नुभएको थियो । प्रधानमन्त्रीलाई समय व्यवस्थापन गर्न अप्ठेरो परेकाले उहाँसहितको छलफल बुधबारलाई राखिएको थियो । तर, शीर्ष नेताहरू आउने निश्चित भएपछि उहाँ पनि समय व्यवस्थापन गरेर आउनुभयो र सौहार्दपूर्ण छलफल भयो,’ राष्ट्रपतिको सचिवालयका एक सदस्यले भने ।
राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै प्रतिनिधिसभा निर्वाचन सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गरेका थिए । ‘म कार्यकारी होइन, संवैधानिक राष्ट्रपति हुँ । छलफलका लागि मैले आफ्नो कर्तव्य सम्झिएर कार्यकारी प्रमुख र प्रमुख दलका प्रमुख नेताहरूबिचको संवादको समन्वय मात्र गरेको हुँ । अबदेखि सरकारले चुनावी वातावरणका लागि निरन्तर छलफल चलाओस्, बालुवाटारमा प्रमुख नेताहरूलाई पनि बोलाएर अझ विस्तृतमा छलफल गर्नुस्,’ राष्ट्रपति पौडेलको भनाइ थियो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताबिच चुनावी वातावरण बनाउने समझदारी जुटेको र त्यसका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विस्तृत छलफल गर्ने समझदारी पनि बनेको बताए । ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनाव घोषणा भएको हो । यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै सल्लाहकार पोखरेलले भने ।
राष्ट्रपति पौडलेको आग्रहपछि नेताहरूले पालैपालो बोलेका थिए । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले भने एक मिनेटभन्दा पनि कम समय मात्र आफ्ना कुरा राखेका थिए । ‘के गरी हुन्छ, एउटामा (संसद् पुनर्स्थापना या चुनाव भन्नेमा) आमसहमति गरौँ, मुलुकलाई निकास दिने गरी अगाडि बढौँ,’ बैठकमा देउवाको भनाइ थियो ।
छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले लामै पृष्ठभूमि बाँधेर एक घण्टा आफ्नो धारणा राखेका थिए । उनले आफूमाथि सरकारले साधेको पूर्वाग्रहदेखि चुनाव हुन नसक्ने परिस्थिति, संसद् पुनर्स्थापनाबाट हुन सक्ने संवैधानिक र सहज निकासमा केन्द्रित रहेर धारणा राखेका थिए । ‘जनताको सर्वोच्चता स्विकार्ने हो भने मुलुकलाई विधिसम्मत बाटोबाट अगाडि बढाऔँ । त्यसका लागि संसद् पुनर्स्थापनाको विकल्प छैन । पुनर्स्थापना भयो भने त्यहीँबाट समाधान खोज्न सकिन्छ, संविधान संशोधनमा सहमति जुटाएर सर्वपक्षीय चुनावी सरकार बनाएर जान सकिन्छ । त्यो नै वैधानिक निकासको बाटो हुन्छ,’ ओलीको भनाइ थियो, ‘अहिले चुनाव गराउने वातावरण सरकारले बनाउन सकेको छैन । त्यसैले संसद् पुनर्स्थापना हुनुपर्छ । अदालतले नै पुनर्स्थापना गरोस् । त्यो भएन भने पनि राष्ट्रपतिले विघटन गरेको संसद्लाई राष्ट्रपतिले नै ब्युँताउन सक्नुहुन्छ ।’
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले भने चुनाव नभएको अवस्थामा संसद् पुनर्स्थापनाको विकल्पमा जानु नै उत्तम रहेको विचार राखेका थिए । ‘२१ फागुनमै चुनाव हुनुपर्छ, हामी तयारीमा लागेका छौँ । तर, अझै सरकारले विश्वस्त वातवरण बनाउन सकेको छैन । यदि चुनाव हुन सकेन भने मुलुक शून्य अवस्थामा रहन सक्दैन र दिशाहीन अर्को कोर्सतिर पनि जानुहुँदैन । त्यो अवस्थामा तत्काल संसद् पुनर्स्थापना गरेर मुलुकलाई ट्र्याकमा लानुपर्छ,’ प्रचण्डको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले भने मुलुकलाई नियमित लयमा फर्काउन चुनावबाहेक अरू विकल्प सहज नभएकाले आफूले बनाउने चुनावी वातवरणमा निश्चिन्त हुन र तयारीमा लाग्न ध्यानाकर्षण गरेकी थिइन् । ‘तपाईंहरूलाई सरकारको सीमा, बाध्यता र चुनौती सबै थाहा छ । आजको दिनमा निकासका लागि चुनाव गराउनैपर्छ । चुनाव नभएसम्म देशमा स्थिरता सम्भव छैन र मुलुक नियमित लयमा पनि फर्किंदैन । त्यसैले सरकारले जसरी पनि चुनाव गराउँछ,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो, ‘जेन–जीका माग बुझ्नुभएकै छ । संसद् पुनर्स्थापनातिर जाँदा उनीहरूको पोजिसन स्पष्ट छैन । तर, चुनाव गराइयो भने त उनीहरूलाई पनि जनतामा जाने अवसर हुन्छ । अनि उनीहरूको पनि पोजिसन स्पष्ट हुन्छ । तपाईंहरूले चिन्ता गर्नुपर्दैन, चुनावी वातावरण बनाउँछु, तपाईंहरू तयारीमा लाग्नुस् ।’
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले छलफलबारे विस्तृत जानकारी नभए पनि संवादहीनता तोडिँदा चुनावी वातावरण बन्न सहयोग पुग्ने बताए । ‘के–के कुरा भयो विस्तृत जानकारी छैन । तर, राष्ट्रपतिको उपस्थितिमा सरकार प्रमुखसँग शीर्ष नेताहरूले निर्वाचनप्रतिको आशंका, चिन्ता र चासो राख्न पाउनुभो, सरकारले पनि आफ्नो तयारी बताएर आश्वस्त तुल्याउने प्रयास गर्यो । जे भए पनि शीर्ष नेताहरूसँग प्रधानमन्त्रीले कुरै नगरेको परिस्थितिमा संवाद हुनु राम्रो कुरा हो,’ महतले नयाँ पत्रिकासँग भने ।
नेपाली कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले छलफलमा प्रचण्डले चुनावी माहोल बनाउनुपर्नेमा विशेष जोड दिएको बताए । प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘चुनाव हुनुपर्छ, चुनावको वातावरण बन्नुपर्छ, बनाउनुपर्छ । चुनाव नै हो अहिलेको निकास, ताजा जनादेशमा जानुपर्छ । सबै मिलेर चुनावी माहोल/वातावरण बनाउनुपर्छ । संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षा, विकास र समुन्नतिका लागि पनि निर्वाचन अपरिहार्य छ ।’