इस्ट बंगाल र एपिएफ क्लबले साफ महिला च्याम्पियनसिपमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेल विनागोल टुंगिएको हो ।
खेलभर दुवै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। एपिएफकी गोलकिपर अञ्जना रानामगरले केही सुन्दर प्रहार बचाइन्। एपिएफकै रश्मीकुमार घिसिङ दुईपटक गोलनजिक पुगे पनि असफल भएकी थिइन्। यद्यपि, खेलमा एपिएफको तुलनामा इस्ट बंगाल बलियो देखियो। एपिएफले कुनै विदेशी खेलाडी अनुबन्ध नगर्दा इस्ट बंगालमा भने पाँच खेलाडी रहेका छन् ।
यो खेलसँगै लिग चरण सकिएको छ । यसअघि अपराजित रहँदै एपिएफ र इस्ट बंगाल शनिबार हुने फाइनलमा स्थान बनाइसकेका छन् ।
चार खेलमा १० अंकसहित भारतको इस्ट बंगाल शीर्ष स्थानमा रह्यो । ८ अंकको एपिएफ दोस्रो स्थान छ । भुटानको ट्रान्सपोर्ट युनाइटेड ३ अंकसहित तेस्रो स्थानमा छ । समान दुई अंक भए पनि पाकिस्तानको कराँची सिटी एफसी चौथो र बंगलादेशको नासरिन स्पोर्टस् एकेडेमी पुछारमा छ । यसअघि नै ट्रान्सपोर्ट, कराँची र नासरिन प्रतियोगिताबाट बाहिरिसकेका थिए । आज नै भएको खेलमा ट्रान्सपोर्ट र नासरिनले १–१ को बराबरी खेले।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा माल्दिभ्स र श्रीलंकाको कुनै पनि टोली सहभागी भएनन्। अन्य पाँच देशका भने लिग च्याम्पियन टिम सहभागी भएका हुन्।