सिद्धार्थ रंगशाला : १४ वर्षमा १६ प्रतिशत काम, लागत ३८ करोडबाट बढेर एक अर्ब पुग्यो

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन सुरु गरेको १४ वर्ष बित्दा पनि १६ प्रतिशत मात्र काम भएको छ।

क्रिकेट मैदान बनाउन १२ करोड खर्च भइसकेको छ। तीन करोड लागतमा हल, खेलाडी बस्ने ठाउँ र शौचालयसहितको तीनतले भिआइपी प्यारापिट निर्माण गरिएको छ। सुरुमा एक करोड १९ लाख रकम खर्च गरेर क्रिकेट संघको कार्यालयसहित एक तलाको पेभेलियन भवन बनाइएको थियो।

त्यसपछि तीन वर्ष लगाएर मैदान सम्माउने काम भयो। अहिलेसम्म पेभेलियन भवनसहित ८९ लाखमा मैदान सम्याउने काम, ४० लाखमा तारजाली, ९० लाखमा ढल व्यवस्थापन, एक करोडमा पिच, पेभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर रुम बनाइएको छ।

०६८ मा भैरहवा र मूलपानीमा अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन सुरु गरिएको थियो। तर, मूलपानी मैदानले गति लिँदा भैरहवाको मैदान स्तरोन्नतिकोे काम भने सुस्त छ। मैदानमा सात हजार दर्शक अट्ने गरी प्यारापिट बनाउने र अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले डिपिआर बनाएको थियो। 

०६८ मा ३८ करोड लागत अनुमान गरी डिपिआर बनेको आयोजनाको लागत एक अर्ब पुगिसकेको छ। रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले पर्याप्त बजेट नहुँदा काम सुस्त गतिमा भइरहेको बताए। चालू आर्थिक वर्षमा संघ सरकारले तीन करोड र लुम्बिनी प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेका छन्।

सुझावित समाचार