निर्धारित समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनदृष्टिका साथ अहोरात्र खटेर तयारी गरेका छाैँ : प्रधानमन्त्री

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम गरेको बताएकी छिन्। ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा यस्तो बताएकी हुन्।

‘गत भदौ २३ र २४ गतेको जेन–जी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको यहाँहरूलाई विदितै छ। हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ। आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौँ,’ उनले भनिन्, ‘निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ। त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु। मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रासामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो।’

उनले शान्ति खलबल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताउँदै खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै महत्त्वपूर्ण हुने बताइन्।
 

सुझावित समाचार