ब्राउनसुगर र अन्य लागुऔषधसहित प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ बस्ने ४१ वर्षका वीरेन्द्र तुलाचन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।
पोखरा– ९, पृथ्वीचोक क्षेत्रमा लागुऔषधको बिक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले तुलाचनलाई मंगलबार पृथ्वीचोकस्थित एक होटेलको कोठाबाट पक्राउ गरेको हो।
पक्राउ परेका तुलाचनले झोलाभित्र लुकाएको अवस्थामा ब्राउनसुगर ४.५ ग्राम, डाइजापाम ३१९ एम्पुल, फेनारगन ३५२ एम्पुल र ब्रुफिनुर्फिन तीन सय एम्पुल गरी जम्मा ९७१ एम्पुल लागुऔषध र तीन थान मोबाइल प्रहरीले बरामद गरेको छ।
तुलाचनलाई कास्की जिल्ला अदालतबाट मंगलबार लागुऔषधसम्बन्धी कसुरमा सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।