ऐँसेलुखर्कको दुईवटा खानेपानी योजनामा ‘एक्सन फर नेपाल’को आर्थिक सहयोग

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

ऐसेलुखर्क गाउँपालिकाका दुईवटा खानेपानी योजना सञ्चालन गर्नका लागि ‘एक्सन फर नेपाल’ले आर्थिक सहयोग गर्ने भएको छ। वडा नं. २ बाकाचोलको लुबेरा–बादेल खानेपानी योजना र वडा नं. ७ माक्पाको रोलुखोला–नोरुङ खानेपानी योजना सञ्चालन गर्नका लागि एक्सन फर नेपालले रु ९३ लाख ५५ हजार १४५ आर्थिक सहयोग उपलब्ध गराउने भएको हो। 

लुबेरा–बादेल खानेपानी योजना रु एक करोड ३६ लाख ८४ हजार ७ सय ८५ तथा रोलुखोला–नोरुङ खानेपानी योजना रु ४२ लाख ७२ हजार ९५८ लागतमा सञ्चलन हुँदैछ। आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुनेगरी सञ्चालन गर्न लागिएको खानेपानी योजना सञ्चालनका लागि एक्सन फर नेपाल, गाउँपालिका र उपभोक्ता समितिबीच शुक्रबार त्रिपक्षीय सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले जानकारी दिए।   

त्रिपक्षीय सम्झौतापत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रमुख गीरेन्द्रबहादु राई र प्रमुख प्रशाकीय प्रमुख थापा, एक्सन फर नेपालका तर्फबाट कार्यकारी प्रमुख लाक्पाछिरिङ शेर्पा र लेखा संयोजक अजिला लिम्बु तथा उपभोक्ता समितिको तर्फबाट सम्बन्धित वडाका वडाध्यक्षहरुले हस्ताक्षर गरेका छन् । गाउँपालिकाको कार्यालय ऐसेलुखर्क बजारमा भएको त्रिपक्षीय भेलामा तोकिएकै समयमा योजना सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नेसमेत प्रतिवद्धता जनाएका छन् । 

लुबेरा–बादेल खानेपानी योजनाका लागि गाउँपालिका रु ५० लाख ६० हजार १८ तथा उपभोक्ता समितिले रु १३ लाख ६८ हजार ४७८ बराबरको श्रमदान गर्नुपर्ने जनाइएको छ। यस्तै, लुबेरा–बादेल खानेपानी योजनाका लागि गाउँपालिकाले रु १६ लाख ३९ हजार ९८१ तथा उपभोक्ता समितिले रु.पाँच लाख ३४ हजार ११९ बराबरको श्रमदान गर्नुपर्ने त्रिपक्षीय सम्झौतापत्रमा उल्लेख गरिएको छ। 

सुझावित समाचार