एमालेले ११औँ महाधिवेशन उद्घाटन समारोहका लागि भक्तपुरको सल्लाघारीमा अहिलेसम्मकै ठुलो र अत्याधुनिक मञ्च निर्माण गरेको छ । मञ्च व्यवस्थापन समितिका संयोजक तथा पोलिटब्युरो सदस्य विनोद श्रेष्ठको नेतृत्वमा तयार पारिएको मञ्चमा प्रमुख अतिथिसहित ४५० जनासम्म बस्न सक्ने व्यवस्था छ ।
चार भागमा विभाजित मञ्चको दायाँ–बायाँ केन्द्रीय पदाधिकारी, सदस्य तथा सल्लाहकार समिति राखिनेछ भने बिचमा चाँगुनारायण मन्दिरको प्रतिमा स्थापना गरिएको छ । नजिकै पोडियम रहनेछ, त्यसको तल भिभिआइपी र भिआइपी पाहुनाका लागि छुट्टै व्यवस्था मिलाइएको छ । कलाकारहरूको प्रस्तुतिका लागि अर्को सहायक मञ्च पनि तयार गरिएको छ ।
१०८ रोपनी क्षेत्रफलमा फैलिएको चउरमा तीन किलोमिटर टाढासम्म ध्वनि सुनिने गरी १७ वटा ठुला स्पिकरसहित १०७ वटा साउन्ड युनिट जडान गरिएको छ ।
दुईतिरबाट जुलुस, तीन लाख सहभागी हुने दाबी
दसौँ महाधिवेशनजस्तै भक्तपुरमा पनि उद्घाटन सत्रमा ‘मानवसागर’ उतार्ने एमालेको दाबी छ । झन्डै तीन लाख सहभागी हुने एमाले नेताहरूले दाबी गरेका छन् । याेगेश भट्टराईका अनुसार ‘नेपाली जनता प्रतिगमनका पक्षमा छैनन् । मिचिएको संविधान र लोकतन्त्रलाई सही बाटोमा फर्काउन एमाले तयार रहेको सन्देश दिने गरी’ उद्घाटन सभा गरिँदै छ ।
पूर्वतिरबाट आउने गाडीलाई जगातीनजिकै रोकिने गरी पूर्वतर्फको जुलुस त्यहीँबाट सुरु हुनेछ भने पश्चिम तथा उपत्यकातर्फको जुलुस कौशलटार–गठ्ठाघर क्षेत्रबाट अघि बढ्नेछ । दुवै जुलुस तथा स्थलवरिपरि १० हजार स्वयंसेवक परिचालन हुने एमालेले जनाएको छ । तीमध्ये पाँच सयजना विशेष तालिमप्राप्त ड्रेसधारी स्वयंसेवक हुने स्वयंसेवक संयोजक भानुभक्त ढकालले बताए । झाँकीसहित करिब दुई सयभन्दा धेरै वेशभूषा समूहले जुलुसमा प्रस्तुति दिनेछन् ।
पदेनसहित २,२६२ प्रतिनिधि सहभागी
महाधिवेशनमा पदेनसहित २,२६२ जना प्रतिनिधि सहभागी हुनेछन् । संगठन विभागका सदस्य गणेश पहाडीका अनुसार भूगोल, प्रवास र जनसंगठनबाट निर्वाचित १,६७५ जना, केन्द्रीय सदस्य तथा आयोगबाट पदेन ४६१ जना, मनोनीत १०८ जना र एकीकृत समाजवादीबाट आएका १८ जना गरी कुल २,२६२ प्रतिनिधि रहनेछन् ।