हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर गरिएको मुद्दा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा पेसी चढेको यस मुद्दामाथि न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।
डिभिजन सडक कार्यालय हेटौँडाको निर्णयविरुद्ध रास्वपा नेतृ तथा पूर्वसांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले १६ मंसिरमा रिट दायर गरेका थिए। सर्वोच्चको दैनिक पेसी सूचीअनुसार मुद्दा ‘ख’ क्रमांकमा सूचीकृत रहेको छ। उक्त रिटमाथि सर्वोच्चले मंसिर १९ गते उत्प्रेषण आदेश जारी गरेको थियो।
आदेशसँगै अदालतले दुवै पक्षलाई उपस्थित भएर छलफलमा सहभागी हुन निर्देशन दिएको थियो । सोहीअनुसार आजको पेसी तोकिएको हो । हेटौँडा बजार क्षेत्रको विवादित सडक विस्तारलाई लिएर स्थानीय र व्यवसायीहरूले उठाएका प्रश्नले यस विषयलाई सार्वजनिक चासोको रूपमा हेरिएको छ ।