भत्काइएका घरहरूको भग्नावशेषमा व्यापार

पीडितले घेरे प्रशासन कार्यालय, क्षतिग्रस्त घर पुनर्निर्माणको माग

मंगलबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

सडक विस्तारका क्रममा घरटहरा भत्किए पनि हेटौँडा राप्तीरोडका व्यापारीहरूले भग्नावशेषमै व्यापार थालेका छन् । भत्किएका संरचना, इँटा–ढुंगा, काठ र रडका थुप्रा र अस्तव्यस्त परिवेशकै बिच उनीहरूले पुरानै सटरअगाडि कपडा, जुत्ता–चप्पल, फलफूलदेखि घरायसी दैनिक सामग्री फिँजाएर व्यापार सुरु गरेका हुन् ।

शनिबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा बजार क्षेत्रमा सडक डिभिजन कार्यालयले २५ गजभित्रका संरचना हटाएपछि अधिकांश व्यापारीका सटर र पसल भत्काइएका थिए । आकस्मिक रूपमा भएको घटनाले व्यवसाय ठप्प हुने जोखिम बढेपछि उनीहरूले वैकल्पिक उपायस्वरूप खुला आकाशमुनि व्यापार सञ्चालन गर्न थालेका हुन् । सुविधाविहीन स्थानमा राखिएका सामान किन्न ग्राहकहरूको भिड पहिलकै जस्तो छ । भौतिक संरचना गुमे पनि व्यवसाय बचाइराख्न इँटा, ढुंगा, काठकै थुप्रोमाथि बसेर उनीहरूले व्यापार गरिरहेका छन् । भौतिक संरचना गुमाएपछि व्यवसाय गुम्ने हो कि भन्ने चिन्ताले खुला व्यापारलाई निरन्तरता दिएको व्यवसायीहरू बताउँछन् । ‘व्यापार नै गुम्ने हो कि भन्ने चिन्ता थियो, त्यसैले भत्केको ठाउँमै पसल चलाइरहेका छौँ,’ एक व्यापारीले भने । सडक विस्तारका कारण क्षति पुगेका व्यापार पुन: सञ्चालनका लागि राहत, पुनर्स्थापना र वैकल्पिक व्यवस्थापन गरिदिन उनीहरूले सरकारसँग आग्रह गरे ।

राजमार्ग विस्तारका क्रममा पीडित बनेका हेटौँडाका स्थानीयले सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गरेका छन् । पीडितहरूले सडक डिभिजनले सर्वोच्च अदालतको आदेशविपरीत घरहरू भत्काएको भन्दै आक्रोश व्यक्त गरे । स्थानीयले सर्वाेच्चको आदेश पालना गर, डोजर आतंक बन्द गर, सडक विस्तारका क्रममा भत्काइएका घर बनाइयोस्, उचित मुआब्जा दिनुपर्ने, सिडिओले राजीनामा दिनुपर्नेजस्ता नारा लगाएका थिए । 

सडक डिभिजन कार्यालय हेटौँडाले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल र बुद्धचोकदेखि चौकीटोल ओरालोसम्म करिब ५१० वटा घर भत्काएपछि स्थानीय र व्यापारी आन्दोलित बनेका हुन् । शनिबार एकाबिहानै डोजर चलाएर घर भत्काइनु मानव अधिकारको ठाडो उल्लंघन भएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए । मालपोत कार्यालयले मालपोत लिने, स्थानीय सरकारले कर लिने र सडक डिभिजनले घरबारविहीन बनाउने भन्दै लालपुर्जासमेत प्रदर्शन गरेका थिए । 
 

सुझावित समाचार