नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारविहीनताको विशेष परिस्थितिमा अन्तरिम सरकार गठन भएको बताएका छन्।
पार्टीको एघारौँ महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको अवधारणापत्रमा पोखरेलले देशलाई वैकल्पिक सरकार दिने अन्य अवस्था नहुँदा संविधानलाई कम क्षतिमा जोगाइराख्न आपतकालीन अवस्थामा अन्तरिम सरकार गठन भएको उल्लेख गरेका हुन्।
‘सरकारविहीनताको एउटा विशेष परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो र दबाबको बलमा संसद् विघटन भयो। वर्तमान सरकारलाई फागुन २१ मा निर्वाचन गरेर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने कार्यादेश तोकिएको छ। यो संवैधानिक दृष्टिले बैधता प्राप्त जनअनुमोदित सरकार होइन। देशलाई वैकल्पिक सरकार दिने अन्य अवस्थाहरु विद्यमान नहुँदा संविधानलाई कम क्षतिमा जोगाइराख्ने एउटा आपतकालिन विकल्प थियो,’ अवधारणापत्रमा उल्लेख छ।
अन्तरिम सरकारलाई तोकिएको समयमै चुनाव गर्न लगाएर बिदा गरेर नयाँ जनादेशसहितको संसदबाट संवैधानिक प्रक्रियालाई लिकमा ल्याउनु नै अहिलेको उत्तम उपाय रहेको पोखरेलले प्रष्ट पारेका छन्।