प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन भएको भन्दै मन्त्रालयलाई पत्र

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

सिराहाको कल्याणपुर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापा सम्पर्कविहीन हुँदा दैनिक प्रशासनिक कामकाजमा अवरोधपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ। 

जिल्ला प्रशासन कार्यालय सिराहालाई समेत बोधार्थ दिएको पत्रमा मन्त्रालयबाट कामकाज गर्न खटाइएका प्रमुख प्रशासकीय अधिकृत थापा विनाजानकारी १४ मंसिरदेखि सम्पर्कविहीन रहेको उल्लेख छ। ‘विनाजानकारी सम्पर्कविहीन हुँदा नगरपालिकाको कामकाजमा असहज परिस्थिति उत्पन्न भएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ कार्यवाहक नगरप्रमुख रेखाकुमारी यादवद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

प्रमुख प्रशासकीय अधिकृत मौखिक वा लिखित कुनै पनि जानकारी नदिई सम्पर्कबाहिर रहेकाले दैनिक प्रशासनिक र सेवाग्राहीहरूको काममा अवरोध भइरहेको कार्यवाहक नगरप्रमुख यादवले बताइन्। स्थानीय सरकार सञ्चालन ऐन- ०७४ को नियमावलीबमोजिम कार्यालय प्रमुख अनुपस्थित रहने अवधिभरका लागि दैनिक प्रशासनिक कामका लागि निमित्त प्रमुख तोक्नुपर्ने अनिवार्य व्यवस्था छ। ‘तर, प्रमुख प्रशासकीय अधिकृतले कसैलाई निमित्तसमेत नतोकी विनासूचना हिँडिदिँदा समस्या भएको छ,’ उनले भनिन् । प्रमुख प्रशासकीय अधिकृत थापासँग नगरपालिकाले सम्पर्कको प्रयास गरे पनि बिहीबार साँझसम्म मोबाइल बन्द रहेको उल्लेख छ। 

सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले केही दिन पहिले प्रमुख प्रशासकीय अधिकृत थापाले पालिकामा काम गर्ने वातावरण नभएको भन्दै गुनासो गरेकाले त्यही कारणले काठमाडौं गएको हुन सक्ने बताए। ‘पालिकाले कर्मचारीलाई कम्तीमा काम गर्ने वातावरण त बनाइदिनुपर्यो नि,’ उनले भने। 

दरबन्दीअनुसार पहिलो अधिकृत
स्थानीय तह पुनर्संरचनापछि नौ वर्षको अवधिमा पहिलोपटक उपसचिवको दरबन्दीमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका थापा योग्य र क्षमतावान भए पनि काम गर्ने वातावरण नभएको स्वयं कर्मचारीहरू बताउँछन्। गत २३ साउनमा कल्याणपुरको ६ नम्बर वडामा ठेक्कामा निर्माण गरिएको नालाको भुक्तानीमा बिचौलियामार्फत घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख रामपुकार साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेसँगै निलम्बित नगरउपप्रमुखले कार्यवाहक प्रमुख सम्हाल्दै आएकी छिन्। 

‘कार्यवाहक नगरप्रमुखले आफ्नै ढंगले चलाउन खोज्दा क्षमतावान प्रमुख प्रशासकीय अधिकृतलाई असहजता भएको हुन सक्छ,’ स्रोतले भन्यो, ‘कार्यालय प्रमुख काम विशेषले बाहिर जाँदा लिखित निमित्तको जिम्मेवारी नदिए पनि स्थानीय सरकार सञ्चालन ऐनको नियमावलीअनुसार वरिष्ठतम् अधिकृतले दैनिक कामकाजका लागि निमित्त प्रमुखको काम गर्न सक्छन्।’

नगरपालिका गठन भएदेखि शाखा अधिकृतले प्रमुख प्रशासकीय चलाउँदै आएको सन्दर्भमा पहिलोपटक दरबन्दीअनुसार उपसचिव आउँदा पनि काम गर्ने वातावरण नहुनु पालिकाको लागि दुर्भाग्य रहेको स्रोतले जनाएको छ। 
 

सुझावित समाचार