दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले यस वर्षको ‘भुवनेश्वर प्रविधि पुरस्कार– २०८२’ पाउने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘भुवनेश्वर प्रविधि पुरस्कार– २०८२’ यस वर्ष खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले पाउने भएको हो ।
नाष्टले कृषि विकास, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधता, शिक्षा, सेवा प्रवाह, सुशासन, पारदर्शिता, प्राविधिक सुविधा तथा समग्र विकासका विभिन्न सूचकमा सञ्चालन गरेको मूल्यांकनमा देशका ७५३ वटा स्थानीयमध्ये यो नगरपालिका सबैभन्दा उत्कृष्ट भएको नगरपालिकामा प्राप्त नाष्टको पत्रमा जनाइएको छ । नाष्टका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा यही मंसिर १२ गते बसेको नाष्टको ४९औँ प्राज्ञसभाले यो नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार– २०८२’बाट पुरस्कृत गर्ने निर्णय गरेको नाष्टको पत्रमा उल्लेख छ।
नाष्टका विज्ञको मूल्यांकन प्रतिवेदनमाथि आधारित प्रस्ताव कुलपति एवं प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको नाष्टको प्राज्ञसभाबाट निर्णय भएअनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई राष्ट्रिय नेतृत्व दिने स्थानीय सरकारको रूपमा मान्यता प्रदान गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाइएको छ । नाष्टले नगरपालिकालाई प्रदान गर्ने नगदसहितको ‘भुवनेश्वर प्रविधि पुरस्कार– २०८२’को राशि भने पत्रमा खुलाइएको छैन ।
नाष्टले प्रदान गर्ने यो पुरस्कार नगरवासीको सामूहिक मिहिनेत र प्रतिबद्धताकाे परिणाम भएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।